दार्जीलिङ, १४ जनवरीः स्थायीकरणसँगै र मृत कर्मचारीहरूका उत्तराधिकारीहरूलाई नोकरी दिइनुपर्ने मागमा स्थानीय व्यवस्थामाथि चाप सृष्टि गर्नका लागि एकीकृत कर्मचारी सङ्गठनले आउँदो १८ जनवरीको दिन सुकनामा जनसभा गर्ने निर्णय गरेको छ।
एकीकृत कर्मचारी सङ्गठन विनयपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-सँग सम्बद्ध बे-ब्याण्ड कर्मचारीहरूको सङ्गठन हो।
सङ्गठनले लिएको निर्णयका अनुसार त्यसदिन गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए)-का अध्यक्ष अनित थापालगायत अन्य शीर्ष पदाधिकारीहरूलाई सुकनाको जनसभामा निम्ताएर आफ्ना समस्या र मागबारे बुझाउनेछ।
किनभने उनीहरूको समस्या नबुझिदिने क्षेत्रीय प्रशासन अर्थात् जीटीएनै हो भन्ने एकीकृत कर्मचारी सङ्गठनको भनाइ छ।
यसैले जीटीएका शीर्ष अधिकारीहरूलाई आफूहरूको समस्या बुझाउनका लागि आउँदो 18 जनवरीका दिन सङ्गठनले सुकनामा एक जनसभाको आयोजना गरी उनीहरूलाई निम्तो गर्ने निर्णय लिएको सङ्गठनका मूलसचिव डीपी खवासले आज बताए।
जीटीएका विभिन्न विभागमा कार्यरत् पे-ब्याण्ड कर्मचारीहरूका स्थायीकरण र मृत कर्मचारीहरूका उत्तराधिकारीहरूलाई नोकरी नदिइएको विषय लिएर आज एकीकृत कर्मचारी सङ्गठनले एक सभा गरेको थियो। जुन सभामा उल्लिखित निर्णयबारे छलफल गरिएको थियो।
सभापछि पत्रकारहरूसित कुराकानी गर्दै सङ्गठनका मूलसचिव खवासले भने, “जीटीएमा कार्यरत् कर्मचारीहरूका मूल समस्या नै स्थायीकरणको हो। यसबाहेक मृत कर्मचारीहरूका उत्तराधिकारीहरूलाई अझैसम्म पनि नोकरी प्रदान नगर्नु अर्को दोस्रो मुख्य विषय हो। आज यसै विषय लिएर व्यापक चर्चा-परिचर्चा गरियो। र यसबारे आगामी १८ जनवरीको दिन सुकनामा एक जनसभाको आयोजना गर्ने हामी तय गरेका छौं।’’
उनले भने, “राज्य सरकारले वर्ष २००९ –मा नै तत्कालीन दार्जीलिङ गोर्खा पार्वत्य परिषद् र हाल जीटीएमा कार्यरत् कर्मचारीहरूलाई स्थायी गराउने अनुमोदन प्रदान गरेको थियो। तर, यहाँको क्षेत्रीय व्यवस्था वा सरकारले नै हामीलाई स्थायी गराएन।’’
उनका अनुसार यी कारणहरूले गर्दा नै आजका दिनसम्म पनि जीटीएमा कार्यरत् कर्मचारीहरूका अवस्था बेहाल नै बनेको छ।
“कर्मचारीहरूले अवकाश ग्रहण गर्दा हाल तीन लाख रुपियाँ आर्थिक राशि प्राप्त गर्छन्। तर, यति राशिले अहिलेको जमानामा केही हुँदैन’’, खवासले थपे, “यसैकारण नै हामीले स्थायीकरणमाथि नै विशेष जोड़ दिइरहेका छौं।’’
क्षेत्रीय व्यवस्था वा जीटीएका शीर्ष अधिकारीहरूले यी कर्मचारीहरूका समस्या बुझिदिनु पर्ने भएकोले सङ्गठनले अधिकारीहरूलाई जनसभामा निम्ताउने निर्णय गरेको हो।
सङ्गठनका सचिव खवासका अनुसार जनससभामा जीटीए अध्यक्ष अनित थापा, उत्तर बङ्गाल विकास विभाग प्रभारी अमरसिंह राई, जीटीएका कानुनी सल्लाहकार डीके प्रधान, मोर्चा दोस्रो खेमाका अध्यक्ष विनय तामाङ, जीटीए स्कूल बोर्ड सदस्य छिरिङ दाहाललाई निम्तो गरिएको छ।
यसका साथै राज्यका एक मन्त्रीलाई पनि यस जनसभामा बोलाउने सङ्गठनले निधो गरेको पनि उनले थप बताएका छन्।