दिलीष घोषको बयानमा विनयको आपत्ति, बयान फिर्ता नलिए सड़कमा ओर्लेर आन्दोलन गर्ने चेताउनी

0
1405
विनय तामाङ (फाइल फोटो)।

दार्जीलिङ, 15 जनवरीः भाजपाका प्रदेश अध्यक्ष दिलीप घोषले गोर्खाल्याण्ड आन्दोलनकारीहरूका सन्दर्भमा दिएको बयानको गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) दोस्रो खेमाका अध्यक्ष विनय तामाङले तीखो शब्दमा आपत्ति जनाउँदै घोषले आफ्नो बयानलाई यथाशीघ्र फिर्ता लिनुपर्ने बताएका छन्।

यदि दिलीष घोषले आफ्नो बयान फिर्ता नदिएको खण्डमा सड़कमा ओर्लेर आन्दोलन गर्ने चेताउनीसमेत उनले दिएका छन्। यसका साथै विनय तामाङले घोषलाई बयानलाई भाजपाको गोर्खाहरूमाथि रहेको नियतको रूपमा अर्थ्याएका छन्।

 “भाजपा पश्चिम बङ्गालका अध्यक्ष दिलीप घोषले 2017-को आन्दोलनमा वीरगति प्राप्त गर्ने 11 जना गोर्खालाई असामाजिक तत्त्वको संज्ञा दिँदै सरकारी सम्पत्ति नष्ट गरेकोमा पुलिसले गोली ठोकी ठीक काम गरेको छ भन्ने जुन बयान दिएका छन्, त्यसको हामी घोर विरोध गर्छौं। यति मात्र होइन, साङ्केतिक रूपमा गोर्खाहरू बाहिरबाट आएका विदेश भन्दै कुकुरको संज्ञासमेत उनले दिएका छन्”, तामाङले बुधवार एक प्रेस विज्ञप्ति जारी गरी भनेका छन्, “बङ्गाल पुलिसले 11 जना गोर्खालाई ठोकी ठोकेको थियो, जसले आगजनी गरेका थिए। जसले राष्ट्रिय सम्पत्ति नष्ट गर्छन्, उनीहरूलाई यसरी कुकुरलाई जस्तै गोली ठोक्नुपर्छ- एउटा च्यानलमा बोल्दै दिलीप घोषले यसो भनेका छन्। भाजपा प्रदेश अध्यक्षको यस्तो वक्तव्यको हामी घोर प्रतिवाद जनाउँदछौं। र उनलाई आफ्नो वक्तव्य तुरुन्तै फिर्ता लिनुपर्ने चेताउनी पनि दिँदछौं।”

यसका साथै विनयले दिलीप घोषको बयानलाई जोड़ेर गोजमुमो पहिलो खेमाका अध्यक्ष विमल गुरुङमाथि कटाक्ष गरेका छन्।

उनले भनेका छन्, “11 जना गोर्खाले त्यतिबेला वीरगति प्राप्त गरेका हुन्, जतिबेला विमल गुरुङले नेतृत्व गरिरहेको गोजमुमो भाजपाको एक घटक दल थियो। र भाजपाले गोर्खाल्याण्ड दिन्छ भन्ने भरोसामा विमल गुरुङले गोर्खाल्याण्डको नाममा हिंसक आन्दोलन शुरु गरेका थिए। भाजपाकै आशा-भरोसामा विमल गोर्खाहरूले बङ्गाल सरकारविरुद्ध गोर्खाल्याण्ड आन्दोलनमा होमिएका थिए भने 11 जना गोर्खाले भाजपाकै विश्वासमा वीरगति प्राप्त गरेका थिए। तर आज आएर भाजपा अध्यक्षले गोर्खाल्याण्ड आन्दोलनकाकारी अनि 11 जना शहीदलाई राष्ट्रिय सम्पत्ति नष्ट गर्ने असामाजिक तत्त्वको नाम दिँदै उनीहरूलाई कुकुरलाई जस्तै गोली ठोकी हत्या गरिएको भनेर जुन बयान दिएका छन्, त्यो अति नै निन्दनीय र विश्वासघाती छ।”

तामाङका अनुसार घोषको बयानबाटै भाजपाको गोर्खाहरूप्रतिको नियत झल्किन्छ।

“यही नियत बुझेर हामीले भाजपाको विरोध गरेका हौं। गोर्खाहरूलाई उनीहरूले कुकुरसँग तुलना गर्छन्। यसैले असममा हाम्रा दुई लाखजति गोर्खालाई एनआरसीमार्फत् शरणार्थी बनाएर देशबाट निकाला गर्ने ताकमा छन्। एनआरसी र सीएए लगाएर दार्जीलिङ परहाड़लगायत देशका अन्य प्रान्तहरूबाट गोर्खाहरूलाई यसरी नै उच्छेद् गर्न चाहन्छ”,  विनयले थप भनेका छन्, “किनभने दिलीप घोषले जस्तै भाजपाका धेरै नेताले गोर्खाहरूलाई विदेशी सम्झिन्छन्। यसैले हामी भाजपाको विरोधमा छौं। भाजपा गोर्खाहरूका हितैषी होइनन् तर गोर्खाहरूलाई भावनात्मक र राजनीतिक रूपमा लुटेर बर्बाद गर्ने ताकमा छ। गोर्खाहरूले अझै यो कुरा नबुझे भाजपाले गोर्खाहरूलाई घरको न घाटको बनाउनेछ।”

अर्कोतिर, भाजपालाई गोर्खा र गोर्खाल्याण्डको हितैषी बताउँदै चुनाउमा सघाउने नेतृत्वहरूलाई नेतृत्वहरूले पनि आफ्नो जिम्मेवारी बुझेर दिलीप घोषको उक्त वक्तव्यमाथि टिप्पणी गर्नुपर्ने उनले बताएका छन्।

“यदि उनीहरू साँचो रूपमा गोर्खा र गोर्खाल्याण्डप्रेमी हुन् भने दिलीप घोषको उक्त अपमानपूर्ण बयानको विरोध गरून्। भाजपाका शीर्ष नेतृत्वहरूबाट दिलीप घोषलाई कारबाही गर्न लगाऊन्”, विनयले थप भनेका छन्, “अन्यथा गोर्खाहरूका सुरक्षा र स्वाभिमान बचाउने फोस्रो रवाफ नदेखाऊन्। गोर्खाहरूलाई अब बोली होइन व्यावहारिकताको खाँचो रहेको छ।”

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here