दार्जीलिङ, 15 जनवरीः सांसद राजु विष्टले दार्जीलिङ संसदीय क्षेत्रका विभिन्न समस्या र मागलाई लिएर बुधवार केन्द्रिय ग्रामीण विकास मन्त्री नरेन्द्रसिंह तोमरलाई भेट गरेका छन्।
विष्ट स्वयंले आज एक प्रेस विज्ञप्ति जारी गरी यसबारे जानकारी गराएका छन्। यी समस्या र मागहरूका समाधानका लागि सांसद विष्टले केन्द्रिय मन्त्रीलाई एक ज्ञापन पनि सुम्पेका छन्।
विज्ञप्तिमार्फत् उनले जानकारी गराएअनुसार मन्त्रीसँग भेटवार्ताअवधि दार्जीलिङ संसदीय क्षेत्रका ग्रामीण पूर्वाधार विकासका विभिन्न परियोजनाबारे छलफल गर्नका साथै पीएमजीएसवाई, खानेपानी योजना, ढल निकासी व्यवस्था, सामुदायिक भवन, पनी बाटो, प्रोटेक्शन वाललगायत अन्य आधारभूत सुविधाहरूका 250 भन्दा बढ़ी माग राखेका छन्।
विष्टका अनुसार यसअवसरमा अधिकांश पीएमजीएसवाईका परियोजनाहरूका पहल शुरु भइसकेको र अन्य आउँदो जिल्ला विकास योजनामा समावेश गर्ने आश्वासन दिएका छन्।
यसका साथै केन्द्रिय मन्त्री तोमरले आफू दार्जीलिङ पहाड़, तराई-डुवर्स क्षेत्रका समस्याबारे अवगत रहेको र यी मागहरूलाई प्राथमिकता दिने आश्वासन दिएको विज्ञप्तिमा राजु विष्टले बताएका छन्।
अर्कोतिर यी आधारभूत समस्याहरूका समाधान गर्न केन्द्र सरकारले समुचित पहल र सम्बोधन गर्ने कुरामा विष्ट आशावादी देखिएका छन्।