देशद्रोही बयान दिने दिलीप घोषलाई पक्राउ गरिनुपर्छ: क्रामाकपा

0
1909
गोविन छेत्री (फाइल फोटो)।

दार्जीलिङ, १५ जनवरीः प्रदेश भाजपा अध्यक्ष एवं लोकसभा सांसद दिलीप घोषले गोर्खा र गोर्खाल्याण्ड आन्दोलनकारीहरू सम्बन्धमा दिएको बयानको क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा)-ले तीखो शब्दमा निन्दा गर्नका साथै देशद्रोही बयान दिने घोषलाई तत्काल पुलिसले पक्राउ गर्नुपर्ने मागसमेत गरेको छ।

घोषको बयानको निन्दा गर्दै क्रामाकपा प्रवक्ता गोविन छेत्रीले भने, ‘‘कुकुरलाई जस्तै गोली ठोक्नुपर्छ भन्ने बयान नै देशद्रोही बयान हो। यदि भाजपाले संवैधानिक मूल्य मान्यतालाई मान्छ भने तत्कालै घोषलाई पार्टीबाट निष्कासित गर्नुपर्छ। उनीविरुद्ध ठोस कारबाही गर्नुपर्छ। राज्यको पुलिसले यस्ता देशद्रोही बयान दिने व्यक्तिलाई पक्राउ गर्नुपर्छ।’’

‘‘के दिलीप घोष देशको नियम-कानून र संविधानभन्दा माथिका राजा हुन् र देशका नागरिकलाई यसरी कुकुरलाई जस्तै गोली ठोक्नुपर्छ भन्ने बयान दिएका हुन्’’, छेत्रीले थप भनेका छन्, ‘‘यो बयान घोषको अराजकता र फासिस्ट नियतको ज्वलन्त उदाहरण हो। भाजपासँग अलिकति पनि नैतिकता छ भने उनीविरुद्ध कारबाही गर्नुपर्छ।’’

पछिल्लो गोर्खाल्याण्ड आन्दोलनमा आन्दोलनकारीले आगजनी गरेको र गोर्खा विदेशी रहेको पनि दिलीप घोषले प्रमाणित गर्नुपर्ने छेत्रीले माग गरेका छन्।

‘‘प्रदेश भाजपा अध्यक्ष र सांसदजस्तो गरिमामय पदमा रहेका व्यक्तिले गोर्खा जातिमाथि यस्तो अप्रजातान्त्रिक, संविधानविरुद्ध बयान दिनु अत्यन्त घातक कुरा हो’’, क्रामाकपा प्रवक्ताले थपे भनेका छन्, ‘‘घोष आफै कहाँका हुन्, त्यो प्रमाणित गरून्। गोर्खा र गोर्खाल्याण्ड आन्दोलनमाथि कुनै बयान दिनअघि उनले हाम्रो इतिहास पढ़ून्।’’

यसका साथै दिलीप घोषले आफू गैरजिम्मेवारीपूर्ण र गैरसंवैधानिक बयानका लागि माफी माग्नुपर्ने माग पनि गरेका छन्। साथै गोर्खा जाति र गोर्खाल्याण्ड आन्दोलनविरुद्ध दिइने यस्ता गैरकानुनी, असंवैधानिक र अप्रजातान्त्रिक बयानको क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टीले सधैं निन्दा र विरोध जनाउने पनि गोविन छेत्रीले बताएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here