आन्दोलनमा छोरो गुमाउनु पीड़ा, क्षतिपूर्तिको सट्टा निराशा मात्र हातमा

0
2077
अनिकेत छेत्री (फाइल फोटो)।

दार्जीलिङ, 21 जनवरीः  गोर्खाल्याण्ड आन्दोलनकालको समय गाड़ीभित्रै जलाइएका 17 वर्षे शहीद अनिकेत छेत्रीका पिता सूर्य छेत्री क्षतिपूर्तिका लागि अझैसम्म यताउता दौड़िनका लागि बाध्य बनेका छन्। तर उनले  क्षतिपूर्ति होइन, निराशा र पीड़ा मात्रै सहिरहेका छन्।

मङ्गलवार राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी दार्जीलिङमा आएको समय केही आशा लिएर सूर्य पनि दार्जीलिङ नै आएका थिए। तर, मुख्यमन्त्रीसँग भेट गर्ने कुनै अवसर नपाएपछि दार्जीलिङबाट पनि निरा बनेर आफ्नो घर टिस्टाभेल्ली चियाकमान फर्किए।

सूर्य छेत्रीका 17 वर्षे छोरा अनिकेतलाई 18 जून 2017-को बिहान करिब 11.30 बजेतिर एउटा गाड़ीभित्रै जलाइएको थियो।

घटनाका अनुसार अनिकेतका भेना किरण छेत्रीले सिलगढ़ी-गान्तोक रूटका गाड़ी चलाउँथे। त्यस समय गोर्खाल्याण्ड आन्दोलनको कारण दार्जीलिङ पहाड़ अचल बनेको थियो, यहाँका स्कूल-कलेजहरू आदि पनि ठप्प नै बनेका थिए।

त्यसै कारण अनिकेत आफ्ना भेनासँग गाड़ी सिक्न र भेनालाई साथ दिनका लागि उनकै गाड़ीमा हिँड्न थाले। तर, 18 जून 2017-को त्यो दिन अनिकेतका लागि भयावह प्रमाणित भयो।

अज्ञात दुष्कर्मीहरूले कालिझोड़ा र बिरिक डाँड़ाबीचमा अनिकेतका भेनाको गाड़ी रोकेर आगो झोसिदिए। जसमा अनिकेत पनि थिए। आफ्ना भेना एवं गाड़ीका चालक किरण छेत्री र अन्य यात्रु गाड़ीबाट निस्केर भाग्न सफल भए तापनि अनिकेत गाड़ीबाट निस्किनै पाएनन्। जसको कारण गाड़ीसँगै अनिकेत पनि जले।

केही समयपछि स्थानीय मानिसहरूले अनिकेतलाई उपचारका लागि सिलगढ़ी लगी उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा भर्ती गरे।

यो खबर पाएपछि राजस्थानमा काम गरिरहेका अनिकेतका पिता सूर्य छेत्री सिलगढ़ी आए। अनि अनिकेतलाई अझै असल उपचारका लागि कलकत्ता पुर्या ए। तर, लगभग 9 दिनपछि अनिकेतको निधन भयो। जसको शव सिलगढ़ीमा नै ल्याएर अन्तिम संस्कार गरिएको थियो।

अनिकेतको अन्तिम संस्कारको समय नै राज्यका मन्त्री गौतम देवले अनिकेतका पिता सूर्यलाई परिवारका एक सदस्यलाई सरकारी नोकरी अनि अढ़ाई लाख रुपियाँ क्षतिपूर्ति दिने वचन दिएका थिए। तर, यसका लागि सूर्यले केवल दुःख मात्रै पाइरहेका छन्।

यसैले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी दार्जीलिङ आएको समय उनीसम्म आफ्नो समस्या पुगोस् भन्ने उद्देश्यले नै उनी आज दार्जीलिङ आएर मिडियामार्फत् आफ्नो समस्या सार्वजनिक गरेका हुन्।

तर, आन्दोलनको कारण आफ्ना छोरा गुमाएका सूर्यले आजसम्म आश्वासन र निराशाबाहेक केही पाउन सकेका छैनन्।

मन्त्री देवले दिएको आश्वासन अनुसार न परिवारका एकजना सदस्यले सरकारी नोकरी पाउन सकिरहेका छन्  न त अढ़ाई लाख क्षतिपूर्ति राशि नै।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here