हाइवे दुर्घटनाः राई परिवारका तीनै सदस्यको शव बरामद, चालक अझै बेपता

0
1625

कालेबुङ, २५ जनवरीः शुक्रवार बिहान गेलखोलानजिक लिखु भिरमा वाहन दुर्घटनामा परी टिस्टा नदीमा बेपता चारजनामध्ये तीनजनाको शव शनिवार मध्याह्न बरामद भएको छ।

उल्लेखनीय छ, हिजो बिहानै गान्तोकबाट वीरपाड़ातर्फ गइरहेको वाहन करिब १० बजे लिखु भिरबाट सोझै टिस्टामा खसेको थियो, जसमा एकै परिवारका चार सदस्यसहित वाहनका चालक दुर्घटनामा परेका थिए।

हिजै १३ वर्षीय साक्षी राईको शव बरामद भए तापनि चन्दन राई, तुलसी राई, सरगम राई र चालक देवदत्त तामाङ बेपता भएका थिए।

हिजो पुलिस प्रशासन र टिस्टा रङ्गीत राफ्टिङ उद्धार टिमका सदस्यहरूले रात परुञ्जेलसम्म खोजीकार्यमा खटिए तापनि न त वाहनको पत्तो लाग्न सकेको थियो, न त बेपता बनेका मानिसहरूको टुङ्गो लागेको थियो।

यसैले प्रशासनले खोजीकार्य आज एनडीआरएफको सहयोग लिइएको थियो। हिजो राति टिस्टा आइपुगेको एनडीआरएफको टिमले आज बिहान ११:३० बजे एसके ०१ पीए ८२६५ नम्बरको वाहन टिस्टा नदीबाट निकाल्न सम्भव बन्यो।

वाहनभित्रै रहेका चन्दन राई (पति) पत्नी तुलसी राई (पत्नी) र सरगम राई (छोरो)-को शव बरामद भएको छ भने चालक देवदत्त तामाङको भने टुङ्गो लाग्न सकेको थियो। एनडीआरएफको टिमले देवदत्तको पनि खोजीकार्य जारी राखेको बताइएको छ।

पुलिसले राई परिवारका तीनै सदस्यको शव कब्जामा लिएर पोस्टमर्टमका लागि कालेबुङ जिल्ला अस्पतालमा पठाएको बताइएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here