दार्जीलिङ, 24 जनवरीः दार्जीलिङबाट मुख्यमन्त्री ममता ब्यानर्जी, गोजमुमो दोस्रो खेमाका अध्यक्ष विनय तामाङ, जीटीए अध्यक्ष अनित थापाका पोस्टर-ब्यानरसँगै गोजमुमो, तृणमूल कङ्ग्रेसका झण्डाहरू हट्न थालेका छन्, जुन पोस्टर, ब्यानर र झण्डा गत केही दिनअघि राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई स्वागत जनाउन दार्जीलिङ शहर वरिपरि स्वयं विनय तामाङपन्थी गोर्खा जनमुक्ति मोर्चाले लगाएको थियो।
तर, शनिवार मध्यान्ह 12 बजीदेखि विनय तामाङपन्थी गोर्खा जनमुक्ति युवा मोर्चाका कार्यकर्ताहरू आफै सड़कमा ओर्लिएर मुख्यमन्त्री ममता ब्यानर्जी, गोजमुमो अध्यक्ष विनय तामाङ, जीटीए अध्यक्ष अनित थापाहरूको फोटो अङ्कित रहेका पोस्टर, ब्यानर साथै गोजमुमोका झण्डा हटाउन शुरु गरे।
गोर्खा जनमुक्ति युवा मोर्चा केन्द्रिय समिति उपाध्यक्ष उपकार नेचाली राई, युवा मोर्चा दार्जीलिङ टाउन कमिटी सह-सचिव सञ्जीव मोथेको अगुवाइमा यी पोस्टर, ब्यानर आदि हटाउन शुरु गरिएको थियो।
स्थानीय चोकबजारमा टाँगिएको मुख्यमन्त्री ममता ब्यानर्जीको ठूलो ब्यानर हटाइएपछि युवा मोर्चाले यसै नजिक लगाइएका गोजमुमो अध्यक्ष विनय तामाङ र जीटीए अध्यक्ष अनित थापाको फोटो अङ्कित रहेका पोस्टरहरू पनि हटाइए।
यसपछि पालो आयो शहरभरि टाँगिएका गोजमुमोको चेन फ्ल्याग, झण्डा आदि हटाउने काम।
यसबारे युवा मोर्चा उपाध्यक्ष उपकार नेचाली राईसित प्रश्न गर्दा उनले विशेष विनय तामाङपन्थी गोर्खा जनमुक्ति मोर्चाको नयाँ सोच र विचारलाई केन्द्र गरेर नै दार्जीलिङ शहरलाई सफा राख्न आफ्नै पार्टीबाट शहरलाई सफा गर्ने अभियान शुरु गरिएको बताए।
उनले भने, “विनय तामाङपन्थी गोजमुमोले आफूले विभिन्न कार्यक्रमको लागि टाँसेका वा लगाएका पोस्टर, ब्यानर आदि सम्बन्धित कार्यक्रम समाप्त भएपछि हटाउने योजना बनाएको थियो र विगतमा पनि पार्टीले यस प्रकारको कार्यक्रम गरेकै थियो। यसलाई निरन्तरता दिँदै यसपालि फेरि युवा मोर्चाले आफ्नो अभियान शुरु गरेको छ।’’
उनले थप भने, “गोर्खा जनमुक्ति मोर्चाले लगाएका पोस्टर, ब्यानर आदि आफै हटाउनेछ, तर अन्य पार्टीहरूले लगाएका पोस्टरमा युवा मोर्चाले हात लगाउने छैन। यसको साटो सबै पार्टीलाई नै युवा मोर्चाले पत्र पठाएर उनीहरूलाई पनि आफूहरूले लगाएका पोस्टर, ब्यानर, झण्डा आदि हटाइदिने निवेदन गर्नेछौं। किनभने दार्जीलिङ हाम्रो हो र यसलाई सफा, सन्दर राख्ने परम कर्तव्य पनि हाम्रै हो। यसैले दार्जीलिङलाई माया गर्ने प्रत्येक पार्टी नै अघि आएर दार्जीलिङलाई सफा, सुन्दर बनाउने कार्य गर्नुपर्छ।”