‘काम र पैसा’-लाई लिएर विनयपन्थी मोर्चामा झगड़ा, कुणाल प्रधान पार्टीको पदबाट निष्कासित

0
2048

दार्जीलिङ, 31 जनवरीः पार्टीभित्रकै कार्यकर्ताहरूबीच ‘काम र पैसा’-का लागि झगड़ा भएपछि विनयपन्थी गोजमुमो केन्द्रिय समितिले राष्ट्रिय राजमार्ग-10 कमिटीलाई विघटन गर्नका साथै कालेबुङका नगरपार्षद् कुणाल प्रधानले पार्टीका सबै पदबाट निष्कासित गरेको छ।

पार्टी अध्यक्ष विनय तामाङले यसबारे जानकारी गराउँदै सम्बन्धित सबैलाई पत्र पनि पठाएका छन्।

जुन झगड़ाको कारण पार्टीको राष्ट्रिय राजमार्ग 10 कमिटी भङ्ग गर्नका साथै कुणाल प्रधानलाई पदबाट निष्कासित गरियो, त्यो झगड़ा विनय तामाङको अघि नै भएको बताइएको छ।

तामाङले पठाएको पत्रमा फरवरी महिनामा आफ्नो उपस्थितिमा एक सभाको आयोजन गरी राजमार्ग कमिटीलाई पुनर्गठन गरिने बताइएको छ। त्यतिञ्जेलसम्मका लागि पार्टीले महेन्द्र प्रधानलाई राष्ट्रिय राजमार्ग 10 कमिटीका मुख्य समन्वयक अनि सतीश पोख्रेललाई समन्वयक मनोनित गरिएको पनि पत्रमा उल्लेख गरिएको छ।

विशेषगरी 29 जनवरीको दिन टिस्टा पुलमा भएको झगड़ालाई लिएर नै पार्टी अध्यक्ष विनय तामाङले यस्तो निर्णय लिएका हुन्।

जसअनुसार, कुणाल प्रधानलाई गोजमुमो कालेबुङ जिल्ला समितिका सम्पूर्ण पदबाट 3 महिनासम्मका लागि निष्कासित गरिएको छ, जसले 30 जनवरी 2020-देखि पार्टीका कुनै पनि कार्यक्रम र गतिविधिमा हस्तक्षेप गर्न नपाउने पनि उल्लेख गरिएको छ।

यसैबीच, पार्टी अध्यक्ष तामाङले कालेबुङ राष्ट्रिय राजमार्ग 10 कमिटी गठन गर्नको लागि आगामी 7 फरवरीभित्र 33 र 39 नम्बर समष्टि नम्बर कमिटीलगायत, मङ्पू लाब्दा, सिटोङ, लाठपञ्चर, तकदा-टिस्टाभेल्ली र पेशोक तकलिङ समष्टिलाई 2-2 जना प्रतिनिधिको नाम पठाउने पनि निर्देश दिएका छन्।

अर्कोतिर, टिस्टा पुलमा आफ्नै कार्यकर्ताहरूबीच भएको झगड़ालाई लिएर तामाङले हिजो एक विज्ञप्ति जारी गरेका छन्। उनले उक्त घटनालाई लिएर आफू दुःखी बनेको बताएका छन्।

‘म त्यो घटनाको प्रत्यक्षदर्शी थिएँ। मेरो जनतासितको भेटघाट कार्यक्रममा त्यहाँ दिउँसै अनि त्यो पनि राष्ट्रिय राजमार्गमा पार्टीका कार्यकर्ताहरू हतियार निकालेर झगड़ा गर्नु भनेको मेरो कार्यक्रमलाई विफल बनाउने षड़यन्त्र हो’, विनयले विज्ञप्तिमा भनेका छन्, ‘घटना भएको 24 घण्टा बितेर जाँदा पनि गोजमुमो, गोजयुमो, गोजनामो, कालेबुङ जिल्ला समिति अनि गोजमुमो, गोजनामो, गोजयुमो केन्द्रिय समितिहरूबाट कुनै प्रतिक्रियाहरू नआउनु अनि यस विषयमा चिन्तित नहुनु अति दुर्भाग्यपूर्ण विषय बनेको छ।’

उनले थप भनेका छन्, ‘पार्टी अध्यक्षअघि यसप्रकारको काम गर्नु अध्यक्ष पद र गरिमालाई इज्जत र सम्मान नदिनु हो, यसैले मैले नै मल्ली र यस वरिपरिका कामहरू आजदेखि रोकिदिएको छु।’

विनयका अनुसार 29 जनवरीको आपसी झगड़ाको मूलकारण नै त्यहाँको काम र पैसाको थियो, तर ती कामहरूसँग सम्बन्धित ठेकादारहरू तथा त्यस कामहरूसित सम्बन्धित पार्टीका नेतृत्वहरूले आफ्नो व्यक्तिगत स्वार्थपूर्तिका लागि उक्त घठनालाई अर्कै रूप दिने काम गरिरहेका छन्।

‘यसको म घोर विरोध गर्छु। पहाड़लाई भयमुक्त बनाउने मेरो सङ्कल्प हो अनि म यस्तो दादागिरी विरोधी हुँ’, तामाङले थप भनेका छन्, ‘तर हाम्रो पार्टीका नेतृत्वहरूले पहाड़लाई वर्ष 2017 अघिको पहाड़ नै बनाउन चाहेको स्पष्ट भइरहेको छ।’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here