दार्जीलिङ, 1 फरवरीः शनिवार बिहानै धोत्रे चियाकमानको तुङसुङ फ्याक्ट्री जलेर खरानी बनेपछि त्यहाँका श्रमिकहरू आक्रोशित बनेका छन्।
साथै यस घटनाको चाँड़ोभन्दा चाँड़ो न्यायिक जाँच हुनुपर्ने माग उनीहरूले गरेका छन्। यसबारे त्यहाँका श्रमिकद्वारा गठित जोइन्ट एक्शन कमिटीले एक विज्ञप्ति जारी गरेको छ।
कमिटीका अनुसार केही महिनाअघि यस कमानको कार्यालयमा रहेको कम्प्युटर चोरी हुँदा कमानका सम्पत्तिहरूको सुरक्षाका लागि सम्पूर्ण मजदुरले प्रशासनसमक्ष गुहार लगाएका थिए, तर प्रशासनले यसबारे खासै ध्यान दिएन।
‘आज घटेको यस आगलागीमा फ्याक्ट्री पूर्ण रूपले क्षतिग्रस्त भएको छ। फ्याक्ट्रीको सामान्य समान पनि जोगिएको छैन। विशेष गरी फ्याक्ट्रीका प्रमुख सबै दस्तावेजहरू (कागज-पत्र) जलेर खरानी भएका छन्’, जोइन्ट एक्शन कमिटीले विज्ञप्तिमा भनेका छन्, ‘श्रमिकहरूले हरसम्भव कमानको सुरक्षाका लागि पहल गरिरहेका थिए। यसअघि बगानको कम्प्युटर चोरी हुँदा पनि सम्पूर्ण श्रमिकले प्रशासनसमक्ष सुरक्षाको माग गरेका थिए। तर, सम्बन्धित निकायबाट कमानको सम्पत्ति सुरक्षाका लागि खासै पहल भएन।’
उल्लेखनीय छ, धोत्रे चियाकमान 2017 सालदेखि बन्द अवस्थामा छ। सरकारले यस कमानलाई अघिबाटै परित्यक्त घोषणा गरेको हुनाले अब नयाँ फ्याक्ट्रीको निर्माण गरी यस चियाकमानका सुरक्षा, संरक्षण र सञ्चालनको दायित्व सरकारले नै लिनुपर्ने श्रमिकहरूको माग छ।
यसका साथै यो आगलागी कसले र कसरी गर्यो भन्ने पत्तो लाग्न नसकेको बताउँदै मजदुरहरूले यस्ता असामाजिककाण्डको पुलिस प्रशासनले यथाशीघ्र न्यायिक जाँच गर्नुपर्ने माग पनि गरेका छन्।
जोइन्ट एक्शन कमिटीका अनुसार आगलागी आज बिहान करिब 5:30 बजे आगो लागेको त्यहाँका श्रमिकहरूले थाहा पाएका थिए। आगलागीको घटना थाहा पाएलगत्तै उनीहरू आगो निभाउन जुटेका थिए। तर त्यसबेलासम्म आगोले उग्र रूप लिइसकेको थियो।