स्थायी राजनीतिक समाधान के हो, त्यो भाजपाले 48 घण्टाभित्र स्पष्ट पार्नुपर्छः विनयपन्थी मोर्चा

0
1633
केशवराज पोख्रेल।

दार्जीलिङ, 3 फरवरीः दार्जीलिङका सांसद राजु विष्ट र भारतीय जनता पार्टीले आउँदो 48 घण्टाभित्र स्थायी राजनीतिक समाधान के हो, त्यो स्पष्ट पार्नुपर्ने माग विनय तामाङपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-ले दोहोर्‍याएको छ।

यसका साथै दार्जीलिङका लागि छुट्टै राज्यबाहेक स्थायी राजनीतिक समाधान केही हुन नसक्ने पनि अड़ान राखेको छ। विशेषगरी केही दिनअघि बोड़ोल्याण्डका लागि भएको त्रिपक्षीय सम्झौतालाई केन्द्र गरेर विनय तामाङपन्थी गोजमुमोले आज यस्तो माग उठाएको हो।

किनभने, केन्द्र सरकारले दार्जीलिङका लागि पनि स्थायी राजनीतिक समाधान भनेर वर्तमान व्यवस्थालाई नै केही रकम दिएर बोड़ोल्याण्डमा जस्तै छिनाफाना गर्नसक्ने प्रबल सम्भावना रहेको बताएको छ।

पार्टीका केन्द्रिय समितिका सेक्रटेरी जेनरल केशवराज पोख्रेलले यसै विषयमाथि जोड़ दिँदै भने, “गोर्खा जातिको मूल माग नै छुट्टै राज्य गोर्खाल्याण्ड भएजस्तै बोड़ोल्याण्डको माग पनि बोड़ोहरूको अहम मुद्दा हो। तर, बोड़ोहरूको  उक्त मुद्दालाई केन्द्र सरकारले फूल एण्ड फाइनल सम्झौता गरेर समाप्त गरिदिएको छ।”

उनले थप भनेका छन्, “तर बोड़ोल्याण्डका लागि यस्तो सम्झौता हुँदा पनि गोर्खाल्याण्डकै नाममा भोट मागेर सांसद बन्ने राजु विष्ट र उनलाई गोर्खाल्याण्डकै लागि भोट दिन लगाउने पार्टीहरू एक शब्द पनि बोलेका छैनन्।”

यसका साथै बोड़ोल्याण्डका लागि नयाँ केही नदिएको पोख्रेलको दाबी छ। “केवल 3 वर्षका लागि 1,500 करोड़ रुपियाँ दिइने भएको छ”, उनले भनेका छन्।

सैले दार्जीलिङमा पनि भारतीय जनता पार्टीले यस्तै खेल खेल्नसक्ने आशङ्कालाई ध्यानमा राखेरै विनयपन्थी मोर्चा नेता पोख्रेलले दार्जीलिङका लागि भाजपाले चुनाउको समय भनेको स्थायी राजनीतिक समाधान के हो, त्यो 48 घण्टाभित्र स्पष्ट पार्नुपर्ने माग गरेका हुन्।

“गोर्खाल्याण्ड ल्याउँछु भनेर दार्जीलिङबाट लोकसभा सांसद बनेर गएका राजु विष्टले छैटौं अनुसूचीलाई स्वागत जनाउने कुरा गरेका छन्, तर यसअघि उनले छैटौं अनुसूचीबारे राम्ररी अध्ययन गर्नुपर्छ”, पोख्रेलले थपे, “दार्जीलिङ पहाड़मा छैटौं अनुसूचीको विरोध किन भयो, त्यसको विस्तृत जानकारी प्राप्त गरेको उचित हुनेछ।” उनले थप भनेका छन्, “दार्जीलिङ पहाड़मा छैटौं अनुसूचीको विरोध हुनुको एउटा मूल कारण फूल एण्ड फाइनल सेटलमेण्ट हो। छैटौं अनुसूचीको सम्झौतामा फूल एण्ड फाइनल भन्ने उल्लेख गरिएको कारण नै विरोध भएको हो। किनभने, दार्जीलिङका लागि फूल एण्ड फाइनल सेटलमेण्ट भनेको केवल अलग राज्य हो र हुनपर्छ।”

यसैबीच, उनले वर्तमान भारतीय जनता नेतृत्वावधीन केन्द्र सरकारले गोर्खाल्याण्डको गठन कुनै पनि स्थितिमा नगर्ने स्पष्ट भएको बताउँदै दार्जीलिङ पहाड़का जनतालाई ढाँटेर गत लोकसभा चुनाउमा भाजपाले भोट मागेको पनि आरोप लगाएका छन्।

पोख्रेलले थप भने, “गोर्खा जातिका 11 वटा जातगोष्ठीलाई जनजातिको मर्यादाधरि दिन नचाहने, पहाड़मा केन्द्रिय विश्वविद्यालयसम्म निर्माण गर्न मन नहुने भाजपाले गोर्खाल्याण्ड दिन्छ?”

यसरी नै गोजमुमो नेता पोख्रेलले गोर्खा राष्ट्रिय मुक्ति मोर्चामाथि पनि कटाक्ष प्रहार गर्दै भने, “गोरामुमोका नेताहरूले 2017-को गोर्खाल्याण्ड आन्दोलनलाई समाप्त गर्ने आरोप विनय तामाङपन्थी गोजमुमोमाथि लगाइरहेका छन्। तर, गोजमुमोले दार्जीलिङ पहाड़ अनि यहाँका जनताको रक्षा गर्नका लागि त्यस समय त्यस्तो निर्णय लिएको थियो। तर, त्यो आन्दोलन चलिरहेको समय वार्ता गर्नुपर्छ भनेर राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई पत्र लेख्ने को थियो? त्यो सम्पूर्ण जनतालाई थाह छ।”

यसका साथै विनयपन्थी मोर्चा नेता केशवराज पोख्रेलले आफ्नो पार्टी सत्यको बाटोमा हिँड़ेर राजनीति गरिरहेको दाबी गर्दै हाल हाल एनआरसी, एनपीआर आदिको विषयमा विरोधी पार्टीहरूले पनि विनयपन्थी गोजमुमोकै राग अलाप्न थालेको बताएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here