भाजपा सांसदहरूद्वारा राष्ट्रपतिसँग भेटवार्ता, राजु विष्टले भने- बङ्गालमा महिलाहरू असुरक्षित

0
1104
राजु विष्ट।

दार्जीलिङ, 4 फरवरीः मङ्गवार बङ्गालका भाजपा सांसदहरूले राज्यको कानून-व्यवस्थालाई लिएर राष्ट्रपति रामनाथ कोविन्दसँग भेट गरे।

यसअवसरमा सांसदहरूसँग भाजपाका राष्ट्रिय महासचिव एवं बङ्गालका प्रभारी कैलाश विजयवर्गीय पनि उपस्थित थिए। दार्जीलिङका सांसद राजु विष्टले  ट्वीट गरी यसबारे जानकारी गराएका छन्।

विष्टका अनुसार आज उनीहरूले राष्ट्रपतिसँग भेट गरी पश्चिम बङ्गालमा कानून-व्यवस्था पूर्ण रूपले भङ्ग भएको  जानकारी गराउनका साथै यसबारे संज्ञान लिने अनुरोध गरेका छन्।

उल्लेखनीय छ, बङ्गालका भाजपा सांसदहरूले लगातार राज्यमा कानून-व्यवस्थाको अवस्था प्रतिदिन बिग्रिँदै गइरहेको  आरोप लगाउँदै आइरहेका छन्। 

ममता ब्यानर्जी नेतृत्व राज्यको तृणमूल सरकारले सबै कानून-व्यवस्थालाई मिचेर तानाशाही शासन चलाइरहेको तथा भाजपा  कार्यकर्ताहरूमाथि चरम अन्याय -अत्याचार गरिरहेको भाजपाको आरोप छ।

स्मरणरहोस्, केही दिनअघि राज्यको गङ्गारामपुरमा तृणमूल कङ्ग्रेसका नेताको अगुवाइमा भीड़ले दुई महिलालाई हात-खुट्टा बाँधेर घिसार्नका साथै कुटपिट गरेको घटनाप्रति प्रतिक्रिया व्यक्त विष्टले एक महिला नै मुख्यमन्त्री रहेको पश्चिम बङ्गालमा महिला नै सुरक्षित नरहेको आरोप लगाएका छन्।

सोमवार आफ्नो आधिकारिक फेसबुक पेजमा दार्जीलिङका सांसदले लेखेका छन्, ‘तृणमूल कङ्ग्रेसका नेता र कार्यकर्ताहरू आफै कानून बनेका छन्। हाम्रो संविधानमा निहित सबै अधिकार र स्वतन्त्रतालाई कुल्चिने कार्य भइरहेको छ।’

यसका साथै विष्टले तृणमूल कङ्ग्रेसको यस्तो अपराध र कानूनहीनतालाई उखेलेर फ्याँक्नका लागि सबै एक हुनुपर्ने आह्वानसमेत गरेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here