पञ्चायतमा फण्ड छैन, गाउँलेहरूद्वारा पैसा उठाएर सड़कको मरम्मती

0
1150

सिलगढ़ी, 4 फरवरीः माथिल्लो बाघडुग्रास्थित प्रधान नगरका गाउँलेहरूले सड़क मरम्मतीका लागि आफै पैसा सङ्ग्रह गर्न शुरु गरेका छन्।

एशियन हाइवे-2 र प्रधान नगर जोड़्ने सड़क मरम्मतीका लागि स्थानीय प्रशासनसँग पटक पटक गुहार लगाउँदा पनि कार्य नबनेपछि नै पैसा उठाएर सड़क मरम्मती गर्न ती स्थानीय मानिसहरू अघि आएका हुन्।

जानकारीका अनुसार गाउँलेहरूले एशियन हाइवे र स्थानीय पञ्चायत दुवैमा सड़क मरम्मतीका लागि गुहार लगाएका थिए, तर दुवै निकायले उनीहरूको मागलाई अत्तोपत्तो दिएनन्।

वास्तवमा एशियन हाइवे अत्यधिक उँचाइमा निर्माण गरिएको कारण गाउँलेहरूले यातायातमा समस्या भोग्दै आइरहेका छन्। उनीहरूले हाइवेबाट प्रधान नगर जाने प्रस्थान विन्दु निर्माणको माग गर्दै आइरहेका थिए।

सड़ककै कारण धेरैपटक वाहन दुर्घटना भइसकेका छन्। संयोगवश अहिलेसम्म ठूलो दुर्घटना भने भएको छैन।

स्थानीय मानिसहरूका अनुसार राजमार्गलाई प्रधान नगरसँग जोड़्ने सड़क पञ्चायतद्वारा धेरै वर्षअघि निर्माण गरिएको हो। त्यसपछि यसको सटीक मरम्मती भएको छैन।

सड़कको दुरवस्थाकै कारण स्थानीय मानिसहरूले यातायातमा बिघ्नै समस्या भोग्दै आइरहेका छन्।

स्थानीय माया छेत्रीका अनुसार सड़कको दुरवस्थाबारे एशियन हाइवेका अधिकारीलगायत ग्राम पञ्चायत प्रधानलाई अवगत गराइ मरम्मतीका लागि धेरै अनुरोध गरे तापनि कुनै पहल गरिएन।

“हामीले ग्राम सभाको बैठकमा पनि बाटोको दुरवस्थाको मुद्दालाई उठाएका थियौं। यसका लागि गाउँलेहरूको तर्फबाट लिखित अर्जी पनि दिएकै हौं। तर, सड़क मरम्मतीका लागि कुनै पहल गरिएन। हाम्रा अर्जी र माग व्यर्थ गयो” छेत्रीले भनिन्, “अन्तमा हामीले यस बाटोको निर्माणका लागि पैसा सङ्ग्रह गर्ने निर्णय गरेका छौं, ताकि भविष्यमा कुनै प्रकारको ठूलो दुर्घटना नहोस्।”

सड़क मरम्मतीका लागि  दुवै प्रशासनले देखाएको निष्क्रियताप्रति उनले आपत्ति जताइन्।

यसैबीच, माथिल्लो बाघडुग्रा ग्राम पञ्चायतका प्रधान कञ्चन कुशवाले पैसाको कमीको कारण नै सड़क मरम्मती गर्न नसकिएको बताइन्।

एक प्रश्नको उत्तरमा उनले भनिन्, “अहिलेघरी पञ्चायतमा पैसाको कमी रहेकै कारण हामीले उक्त सड़कको मरम्मती गर्न नसकेका हौं। तथापि हामीले सड़कको मरम्मती कार्य चाँड़ै शुरु गर्ने योजना बनाइरहेका थियौं।”

अर्कोतिर, समयमै सड़क मरम्मतीको कार्य शुरु गर्न सकेकोमा उनले स्थानीय मानिसहरूसँग माफी पनि मागेकी छन्। साथै स्थानीय मानिसहरूको दुःख कष्टसँग आफू अवगत रहेको बताउँदै आगत दिनमा यस्ता मागहरूलाई तत्काल पूरा गर्ने दाबी गरेकी छन्।

यसैबीच, आजदेखि उक्त सड़कको मरम्मती कार्य शुरु भएको छ। स्थानीय मानिसहरूले माया छेत्री, सञ्जय सिंह र एम बरुवाप्रति आभार प्रकट गरेका छन्। उनीहरूकै पहलमा पैसा सङ्ग्रह गरी सड़क मरम्मतीको कार्य शुरु भएको हो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here