दार्जीलिङ, 5 फरवरीः दार्जीलिङ प्रेस गिल्डको वार्षिक सभासँगै आम चुनाउ आउँदो 8 फरवरीको दिन मिरिकमा सम्पन्न हुने तय भएको छ। यस विषय लिएर गिल्डको एक सभा सम्पन्न भएको छ।
गिल्डको आम चुनाउमा विशेष गरी अध्यक्ष, सचिव र कोषाध्यक्ष पदका लागि चुनाउ हुनेछ।
वार्षिकरूपमा हुने चुनाउमा यसपालि अध्यक्ष पदका लागि विवेक छेत्री र रवीन राई, सचिव पदका लागि विनय शङ्कर र प्रणव छेत्री तथा कोषाध्यक्ष पदका लागि मोहन लामा र दीप गजमेरले नामाङ्कन पेश गरेका छन्।
जुन चुनाउका लागि सम्पूर्ण तयारी भइसकेको छ भने चुनाउका लागि ब्यालेट पेपर, ब्यालेट बक्स आदि पनि बनाइसकिएको छ।
हाल दार्जीलिङ प्रेस गिल्डमा 47 जना सदस्य छन् भने यो गिल्डले गत वर्ष सिटोङमा आफ्नो वार्षिक सभासँगै आम चुनाउ सम्पन्न गरेको थियो।
यसै विषय लिएर गिल्डका वर्तमान सचिव प्रणव छेत्रीले भने, “गत वर्ष दार्जीलिङ प्रेस गिल्डको वार्षिक सभा अनि चुनाउ खरसाङ महकुमाअन्तर्गत पर्ने सिटोङमा गरिएको थियो भने यस वर्ष मिरिकलाई यसका लागि चयन गरिएको छ।”
छेत्रीका अनुसार पत्रकार साथीहरू वर्षभरि लगनशील भएर आफ्नो काममा व्यस्त रहने गरेकोले वर्षमा एक वा दुई दिन दार्जीलिङबाट केही टाढ़ा गएर आफ्नो सभा वा चुनाउलाई मनोरञ्जनात्मक ढङ्गमा पालन गर्नका लागि नै दार्जीलिङ प्रेस गिल्डले पहाड़का विभिन्न स्थानमा यसप्रकारको कार्यक्रम गर्दै आइरहेको छ।
ताकि त्यस समय सम्बन्धित क्षेत्रका पत्रकार साथीहरूसित पनि भेट हुनसकोस् भन्ने पनि गिल्डको सोच अनि योजना दार्जीलिङ प्रेसगिल्डको रहेको उनले बताएका छन्।