दार्जीलिङ, 8 फरवरीः सिब्सुमा शहीद भएका विमला, बिक्की र निताप्रति गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) पहिलो खेमाका अध्यक्ष विमल गुरुङले श्रद्धाञ्जली अर्पण गरेका छन्।
यसका साथै गुरुङका सिब्सुका यी तीन शहीदलाई सम्झिँदै उनीहरूको देखेको गोर्खाल्याण्डको सपना साकार बनाउनका लागि आफू निरन्तर लागिपरेको तथा गोर्खाल्याण्ड गठन नभएसम्म आफ्नो तर्फबाट प्रयास जारी राख्ने दाबी गरेका छन्।
‘8 फरवरी विमला, बिक्की र निताले गोर्खाल्याण्डका लागि बलिदान दिएको दिन, उनीहरूलाई स्मरण गर्ने दिन। आफ्नो जाति, माटो र चिनारीका लागि उनीहरूले खाउँ-खाउँ, लाउँ-लाउँ भन्ने उमेरमा हाँस्दै-हाँस्दै आफ्नो प्राणको उत्सर्ग गरे। हामी जिउँदा हुनेहरूलाई एउटा ठूलो शिक्षा दिएर गए’, विमलले विज्ञप्तिमा भनेका छन्, ‘साँचो रूपमा भन्नु पर्दा उनीहरू मेरा छोरा-छोरी समान थिए। यसर्थ उनीहरूले दिएका त्याग र बलिदानलाई म कहिल्यै भुल्न सक्दिन।’
गुरुङले थप भनेका छन्, ‘आज ती शहीद नानीहरू सम्पूर्ण गोर्खाको छातीमा अजर-अमर भई बाँचिरहनेछन्। उनीहरूका अघि मेरा शिर सदैव श्रद्धाले झुक्दछ। गोर्खाल्याण्डको इतिहासमा ‘सिब्सुकाण्ड’ सधैँ जिउँदो रहनेछ। आजको दिन सिब्सुमा प्रमाण उत्सर्ग गर्ने विमला, बिक्की, नितासहित गोर्खाहरूका लागि शहीद हुने सम्पूर्ण महान् आत्मालाई शिर झुकाइ नमन गर्दछु। साथै उनीहरूको पवित्र आत्माप्रति श्रद्धासुमन अर्पण गर्दछु।’