दार्जीलिङ, 9 फरवरीः हेप्पीभेल्ली चियाकमानका श्रमिकहरूले आफ्नो 4 रोजी अनि एक वेतन नपाएसम्म चियाबगानमा सञ्चालित टी बुटिक बन्द नै राख्ने घोषणा गरेका छन्।
विशेष गरी यस चियाकमानका श्रमिकहरूलाई प्रत्येक 15 दिनमा दिइने 4 पल्टको रोजी अझैसम्म पनि दिइएको छैन भने कर्मचारीहरूको एक महिनाको वेतन पनि भुक्तान गरिएको छैन।
यसै विषयलाई लिएर यस चियाकमानका श्रमिकहरूले गोरामुमोको श्रमिक सङ्गठन हिमालयन प्लान्टेशन वर्कर्स युनियन (एचपीडब्ल्यूयू ) र विनय तामाङपन्थी गोजमुमोको श्रमिक सङ्गठन दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियन (डीटीडीपीएलयू)-को नेतृत्वमा गेटसभा गरेका थिए।
गेटसभालाई सम्बोधन गर्दै एचपीडब्ल्यूयू हेप्पीभेल्ली शाखा अध्यक्ष गोविन्द राई र डीटीडीपीएलयूका शाखा सचिव राकेश कार्कीले संयुक्त रूपमा भने, ‘‘चियाश्रमिक-कर्मचारीहरूले ठीक समयमा रोजी-वेतन नपाएको कारण नै यहाँको टी बुटिक बन्द गरिएको हो।’’
उनीहरूका अनुसार अहिले चियाकमानका मालिकले टी बुटिक खोलिदिने माग गर्दै एक 15-को रोजी दिने कुरा गरिरहेका छन्। यसबारे चियाश्रमिकहरूसित सर-सल्लाह गरियो। जसमा सम्पूर्ण श्रमिक-कर्मचारीहरूले जबसम्म 4 पल्टकै रोजी र एक महीनाको वेतन भुक्तान हुनेछैन, तबसम्म यो टी बुटिक नखोल्ने निर्णय लिएका छन्। जसअनुसार, यो बुटिकलाई बन्द नै राखिनेछ।
राई र कार्कीले थप भने ‘‘यहाँका श्रमिक सङ्गठनहरूले चियाकमानका मालिक अनिल बन्सलसित चर्चा गर्न चाहेका छन्। र, चियाकमानका मालिकले यो मौका प्रदान गर्नुपर्छ।’’
यसरी नै उऩीहरूले हेप्पीभेल्लीका चियाश्रमिकहरूमाथि अत्यधिक अन्याय-अत्याचार भइरहेको पनि आरोप लगाउँदै यस्तै शोषणमा राखिरहे एकदिन चियाश्रमिकहरूको आक्रोश विस्फोट हुनसक्ने पनि चेताउनी दिए।
यति मात्रै होइन, यस चियाबगानका श्रमिकहरूले बहिष्कार गरिसकेका यस चियाकमानका प्रबन्धक एनपी सिंहलाई पुनः चियाबगान मालिकले फर्काएर यसै चियाबगान ल्याउने प्रयास गरिरहेको पनि बताउँदै आगामी दिनमा यहाँ कुनै अप्रिय घट्ना भए, त्यसको जिम्मेवार मालिक स्वयं हुनुपर्ने पनि उनीहरूले बताएका छन्।
स्मरण गराइन्छ, गत 18 जनवरीको दिन हेप्पीभेल्ली चियाकमानका श्रमिक-कर्मचारीहरूले बगानका प्रबन्धक एनपी सिंहलाई चियाबगानमा फर्किएर आउन नदिने चेताउनी दिएका थिए।
त्यस समय 3 रोजी अनि एक महीनाको वेतन नदिइ चियाबगानका मुख्य प्रबन्धक एनपी सिंह छुट्टीमा गएको बताउँदै श्रमिकहरूले चियाबगानको कारखानाअघि विक्षोभ प्रदर्शन पनि गरेका थिए।
त्यस विक्षोप प्रदर्शनमा दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियन र हिमालयन प्लान्टेशन वर्कर्स युनियनका कार्यकर्ताहरू पनि सामेल थिए।