दार्जीलिङ, 9 फरवरीः बोडो सम्झौतालाई स्वागत जनाउँदै गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)-ले बोडोहरूलाई जस्तै सुरक्षा गोर्खा जातिका लागि गरिनुपर्ने माग केन्द्रसमक्ष राखेको छ।
आज खरसाङको गोर्खा दुःख निवारक सम्मेलन (जीडीएनएस) भवनमा आयोजित सभालाई सम्बोधन गर्दै गोरामुमो अध्यक्ष मन घिसिङले यस्तो माग गरेका हुन्।
दार्जीलिङ पहाड़लाई सुरक्षा गर्न र बाहिरी अनुप्रवेशको कारण गोर्खाहरूलाई अल्पसङ्ख्यक बन्नबाट जोगाउनका लागि केन्द्र सरकारले झट्टभन्दा झट्ट छैटौं अनुसूची लागू गर्नुपर्ने उनको माग छ।
“बोड़ो सम्झौताअनुसार, अब त्यहाँ बाहिरबाट अनुप्रवेशकारीहरू आउने छैनन्। यसो भए उनीहरू सुरक्षित रहनेछन्”, मन घिसिङले थपे, “यसैले गोर्खा जातिको सुरक्षालाई ध्यानमा राखेर दार्जीलिङका लागि पनि संशोधित अनि सशक्त छैटौं अनुसूची लागू गर्नुपर्छ।”
आज गोरामुमोले छैटौं अनुसूचीको पक्षमा नै खरसाङमा एक र्यालीको आयोजन गरेको थियो भने र्याली पनि गोर्खा दुःख निवारक सम्मेलन भवन पुगेर सभामा परिणत भएको थियो।
यसै सभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष घिसिङले भने, “केन्द्र सरकारले पूर्वोत्तरका लागि संविधानको छैटौं अनुसूचीमा अझै संशोधन ल्याउने योजना बनाएको छ। केन्द्र सरकारले छैटौं अनुसूचीलाई अझै शक्तिशाली बनाउने भएको छ। यसैले दार्जीलिङका लागि पनि एक सशक्त छैटौं अनुसूची लागू भएको उचित हुनेछ।”
उनले थपे, “देशका गृहमन्त्री अमित शाहले अघिबाटै सीएए (नागरिकता संशोधन कानून) छैटौं अनुसूची लागू भएको स्थानमा लाग्ने छैन भनिसकेका छन्। यसैले गोर्खाको सुरक्षाका लागि दार्जीलिङमा पनि छैटौं अनुसूची लागू गर्नुपर्छ।”
यसका साथै उनले 2007 मा आप्पा (सुवास घिसिङ)-ले पहाड़मा एकजनाको घरमा ढुङ्गा नहानी, कसैलाई सड़कमा नउतारी छैटौं अनुसूचीको विधेयक राज्यको विधानसभामा पारित गराएको बताए।
“तर पहाड़का जनताले बुझेनन्। अनि जनतालाई विपक्षी नेताहरूले उल्टा बुझाइदिएका थिए। आप्पाले यो जाति र पहाड़लाई साँचो माया गरेका थिए”, मनले थपे, “के आप्पाले दार्जीलिङ र पहाड़का जनताका लागि के काम गरे, त्यो लेखेर बताउनुपर्ने? सम्पूर्ण जनतालाई थाह छ, आप्पाले जातिका लागि के गरेका थिए।”
अर्कोतिर , 2007 मा छैटौं अनुसूचीको अनावश्यक विरोध भएकै कारण अहिले दार्जीलिङ पहाड़वासी दुःख कष्ट पाइरहेको ठोकुवा गरे।
साथै अबउसो आफ्नो पार्टीले छैटौं अनुसूचीको मागलाई तीव्र बनाउनका लागि दार्जीलिङ पहाड़भरि कार्यक्रम गर्ने पनि बताए। साथै अहिले पनि कतिजना छैटौं अनुसूचीको विरोध गर्न शुरु गरेकोले जाति र माटोको हितमा यस्तो विरोध गर्नका सट्टा गोलबद्ध हुनुपर्ने सुझाए।
आफ्नो भाषणको बीच बीचमा उनले घुमौरो पारामा विनय तामाङपन्थी मोर्चाको कटाक्ष गरेका थिए।
“चौकीमा बस्नेहरूले छैटौं अनुसूचीको विरोध नगरून्। उनीहरूले सरकारले दिएको आफ्नो काम गरून्”, उनले भने।
यसैगरी मन घिसिङले दार्जीलिङका सांसद राजु विष्टले सही काम गरिरहेको बताउँदै उनले संसदमा गोर्खा जातिका लागि धेरैपल्ट आवाज उठाइसकेको बताए।
“सांसद राजु विष्टले धेरै राम्रो काम गर्दैछन्। उनीलाई हाम्रोबाट धन्यवाद छ”, मन घिसिङले थपे।
यसैबीच, उनले हाल गोरामुमोका समर्थकहरू विनय तामाङपन्थी गोर्खा जनमुक्ति मोर्चामा सामेल भइरहेको विषयबारे भने, “अहिले हामीसित केही छैन, किनभने हामीले जाति र माटोको लागि काम गरिरहेका छौं। यो कुरा विनय तामाङपन्थी गोजमुमोमा सामेल हुनेहरूलाई राम्ररी थाह छ, यसैले चुनाउको समय उनीहरूले भोट हाम्रो पक्षमा नै हाल्छन्।”
यसअघि आज बिहान गोर्खा जातिलाई नागरिकता संशोधन अधिनियम (सीएए) र राष्ट्रिय जनसङ्ख्या पञ्जीकरण (एनपीआर)-बाट सुरक्षित बनाउनका लागि छैटौं अनुसूची लागू गर्ने आवाजसँगै गोरामुमोले खरसाङको बस स्ट्याण्डबाट एक र्याली निकालेको थियो।
बाक्लो सङ्ख्यामा र्यालीमा सहभागी गोरामुमो कार्यकर्ताहरूले छैटौं अनुसूचीको पक्षमा नाराबाजी गरेका थिए, जुन र्याली गोर्खा दुःख निवारक सम्मेलनको भवनमा पुगेर सभामा परिणत भएको थियो।