पुरण छेत्री
8 फरवरी 2011 शुक्रवारका दिन सिब्सुमा निरङ्कुश बङ्गाल सरकारको गोलीको शिकार बनेका गोर्खाल्याण्ड आन्दोलनकारी शहीद बिक्की लामा, विमला राई र नीता खवासलाई पुनः सत् सत् नमन। शहीदहरूको बलिदानलाई सम्मान दिन प्रत्येक वर्ष 8 फरवरीका दिन हामीले ‘बलिदान दिवस’ मनाउँदै आइरहेका छौं।
समयानुसार नेता फेरिए, उद्देश्य फेरिए अनि फेरि भाषणहरू पनि। यसैक्रममा गोजमुमो दोस्रो खेमाका अक्ष्यक्ष विनय तामाङले 8 फरवरी 2020 मा सिब्सुको बलिदान पार्कमै आएर दिएको भाषण पछि धेरै प्रश्न मनमा उब्जिएपछि यो प्रतिक्रिया लेख्न कर लाग्यो।
17 जून 2018 –मा गोजमुमो विमल समूहले 2017 –को आन्दोलनअवधि भएका शहीदहरूलाई घर घरमा दीयो जलाएर श्रद्धाञ्जली दिने आह्वानविरुद्ध ‘हाम्रो शहीद दिवस 27 जुलाई हो। र यो श्रद्धाञ्जली कार्यक्रम नगर्नू’भन्ने फरमान जारी विनय तामाङ 8 फरवरी 2020 –मा अचानक सिब्सु आएर ‘शहीदहरूका सपना साकार पार्न म प्राण पनि दिन तयार छु’ भन्दै गज्जबको क्याप्सन दिएर गए।
2017 को आन्दोलनअवधि शहीदहरूको पुग्नै लागेको सपनालाई लात हानेर घप्ल्याक्क घोप्टाइदिने विनय तामाङलाई अचानक ‘बलिदान दिवस’-को कसरी याद आयो? बिचरा सञ्चवीर सुब्बाले 10-15 जना भेला गरी खदा अर्पण गर्ने गरेको बलिदान पार्कमा एक्कासी विनय तामाङलाई किन आउनुपऱ्यो? ‘शहीद भएका होइनन्, बनाइएका हुन्’ भन्ने दलका नेतालाई आज किन शहीदहरूको याद बेस्सरी आयो?
पछिल्लो विधानसभा चुनाउ हारेपछि नै उनले शहीदहरूको महत्त्व बुझेका हुन्ष शहीदहरू माथि गरेको ‘पाप कटनी’-को रूपमा शहीदहरूकै गिदीको होम पोल्दै उनले भने, ‘शहीदहरूको नाममा राजनीति गरेर रोयल्टी खाने काम बन्द हुनुपर्छ।’ त्यसो हो भने उनी किन शहीदहरूको छाला उखेल्न सिब्सु आइपुगे त? भर्खरै मात्र हामीलाई चान खेल्ने ममतालाई भव्य स्वागत गरेको के ती शहीदहरूको आत्माले देखिरहेका छैनन् होला र?
विनय तामाङले शहीदहरूको सपना तुहाए, शहीदहरूले उनको विधायक हुने सपना चकनाचुर बनाइदिए। यही झोंकमा उनले भने, ‘शहीद कसैको पेवा हुँदैन।’ उनले आफ्नो हिस्साको श्रेय लिँदै अझ भने, ‘बिहान दुई-चारजना कालेबुङ र डुवर्सबाट सुटुक्कै आएर शहीदवेदीमा खदा अर्पण गरे।’ तर उनले भन्न सकेनन्, शहीदहरूलाई कतिबेला खदा अर्पण गर्नु हुन्छ, कतिबेला हुँदैन।
बिहान सुटुक्कै आउने विमल खेमा नै हुन् , यसमा दुईमत छैन। यसरी आउनुको कारण उनी स्वयं हुन् भन्ने कुरा उनले भुले यहाँ। उनको समर्थन नगर्नेहरूलाई पुलिस लगाएर हैरान पारेको समयमा पनि खतरा मोलेर शहीदहरूप्रति श्रद्धाञ्जली जनाउन पुग्ने गोर्खा सन्तान आँटी र खाँटी नै हुन्।
शहीदहरूलाई जहाँ, जसरी र जतिबेला पनि सम्झिरहनु पर्छ। दिउँसो आउने सुझाउ भनेको पुलिस लगाइ पक्राउन नै हो भन्ने कुरा सजिलै अड़कल काट्न सकिन्छ। उनले आजसम्म गर्दै आइरहेको मुख्य काम पनि यही त हो।
‘आजपर्यन्त आफ्नो प्राणको आहुति दिए पनि शहीदहरूको सपना साकार भएको छैन’ भन्दै 1986 को जङ्गी आन्दोलनपछि स्व. सुवास घिसिङले जनताले थाहै नपाई दागोपाप थापे अनि 2007 को विमल गुरुङको नेतृत्वमा भएको आन्दोलनमा पनि 6 महिनामा नै शहीदहरू भुलेर जीटीएको भित्र्याएको वक्तव्य दिए तापनि आफूले 2017 को आन्दोलनसम्म भएका सबै शहीदको सपनालाई बङ्गालको खाड़ीमा हालेर आएको कुरा राख्न भने भुसुक्क भुले।
फगत एक कुर्सी र जाबो केही रुपियाँका लागि शहीदका सपनाहरू, सम्पूर्ण गोर्खा समाजको आकांक्षा र जातिकै उन्मुक्तिको सङ्घर्ष दलालीको ट्वाक्रेमा खुत्रुक्क हाल्ने जनतालाई बलिदान दिवस मनाउन सिकाउनु भनेको सत्ताको अहंभन्दा ठूलो केही होइन। 24 मई 2019-देखि उता हेर्छु भन्ने तृणमूलको कठपुतली उनलाई जनताले भोटमा हराएर उल्टै देखाइदिए।
यसअर्थमा विनय तामाङ जनताभन्दा माथी छैनन्। सड़क र गल्लीहरूमा शहीदहरूको रगतको टाटो पनि राम्रो नसुकी खदामाला र साइरन बजाएर पहाड़ छिर्ने उनै विनय तामाङले शहीदको सपना पूरा गर्न प्राण दिन्छु भनेर गोहीको आँसु झार्नुभन्दा आफैले गफ चुटेको यो कुरा सम्झना छ होला? – ‘प्रत्येक शहीदका परिवारमा एकजनालाई नोकरी दिनेछु।’
एक दुईजना मपाईंहरू र एकाध ‘बिकाउ पत्रकार’-हरू हातमा राखेर कलकत्ता पट्टि फर्केर ‘अब गोर्खाल्याण्डको आन्दोलन बौद्धिक हुनेछ’ भने पनि कथित् बौद्धिक आन्दोलन कसरी र कहिलेदेखि हुनेछ भन्ने कुरा बताउन भने विनय तामाङ भुतुक्कै लजाए।
राजनीतिमा चर्चा-परिचर्चा र आलोचनाहरू हुन आवश्यक छ। तर, दलालीको भाँड़ोभित्र शहीदका सपनाहरू हालेर मर्नेगरी उसिन्ने नेता भने विनय तामाङ नै देखिए। अझ उनको बस चले ती सपनाहरूमा फिर्के नै लगाउने स्पष्ट देखियो।
यस्ता सबै बगम्फुसे भाषण छोड़ेर ‘संसदमा गोर्खाल्याण्डको बिल आएमा म तृणमूल कङ्ग्रेसलाई समर्थन गरिदिने नभए पनि विरोध नगरिदिने चाँजो मिलाउँछु भनिदिएका भए जनताले अलिकति सुन्न थिए होलान्। तर, अफसोस उनले गरेनन्।