दार्जीलिङ, 10 फरवरीः दार्जीलिङका सांसद राजु विष्टले सोमवार गृहराज्य मन्त्री नित्यानन्द रायसँग भेट गरी दार्जीलिङ पहाड़, तराई एवं डुवर्सको स्थायी राजनीतिक समाधानका लागि वार्ता र नागरिकता संशोधन अधिनियम (सीएए) र राष्ट्रिय नागरिक पञ्जी (एनआरसी)-बारे केही राजनीतिक दलहरूको नकारात्मक प्रचार र भारतीय गोर्खाहरूमा सिर्जित भ्रम र भूलबुझाइसम्बन्धमा कुरा उठान गरेका छन्।
यसबारे सांसद विष्टले एक प्रेस विज्ञप्तिमार्फत् जानकारी गराएअनुसार गृह राज्यमन्त्री रायसमक्ष उल्लिखित दुई मुद्दालाई उठाएका थिए भने यससम्बन्धमा एक ज्ञापन पनि दिएका छन्।
विज्ञप्तिका अनुसार गृहराज्यमन्त्रीसँगको भेटवार्तामा विशेषगरी स्थायी राजनीतिक समाधान तथा सीएए र एनआरसीबारे केही राजनीतिक दलहरूद्वारा नकारात्मक प्रचारको वर्तमान स्थितिमाथि चर्चा परिचर्चा गरिएको थियो।
यसअवसरमा सांसद विष्टले गृह राज्यमन्त्री रायलाई ती राजनीतिक दलहरूले सीएए र एनआरसीबारे झूटो, डरपूर्ण र भ्रामक प्रचार प्रसार गरी भारतीय गोर्खाहरूमा अन्योल सिर्जना गरेको जानकारी गराए।
यसका साथै उनले दार्जीलिङ पहाड़, तराई र डुवर्सका चियाकमान र सिन्कोनाबगान बाहुल क्षेत्र रहेको र यी चियाकमान र सिन्कोनाबगानका श्रमिकहरू सीएए र एनआरसीको नकारात्मक प्रचारले चिन्तित रहेको बताउँदै एनआरसी र सीएएबारे भारतीय गोर्खाहरूको सुरक्षाको प्रत्याभूतिसम्बन्धमा गृहमन्त्रालयबाट अधिसूचना जारी गरिनुपर्ने माग गरेका छन्।
विज्ञप्तिका अनुसार गृह राज्य मन्त्री नित्यानन्द रायले यससम्बन्धमा यस क्षेत्रका मानिसहरूको चिन्ताप्रति सबैभन्दा संवेदनशील रहेको सांसद विष्टलाई आश्वास्त गराए।
साथै भारतीय गोर्खा भारतीय भूमिकै सन्तान रहेको र सीएए र एनआरसीबाट डराउनुपर्ने तथा चिन्तित हुनुपर्ने कुनै कुरा नरहेको बताए।
रायले भारतीय गोर्खाहरूलाई सीएए र एनआरसीबाट सुरक्षित रहेको कुरा सुनिश्चित गर्नका लागि सरकारले कदम उठाउने तथा दार्जीलिङ पहाड़, तराई अनि डुवर्सका मानिसहरूलाई यसबारे जागरूक गराइने पनि सांसदलाई बताएको विज्ञप्तिमा दाबी गरिएको छ।
यसैबीच, राज्य र केन्द्रको सम्बन्ध हेर्ने गृह मन्त्रालयका संयुक्त सचिव सुदेश कुमार शाहीले पहाड़को दीर्घम्बित मागको स्थायी समाधान खोज्नका लागि त्रिपक्षीय वार्ताका लागि धेरैपटक स्मरण-पत्र पठाइसकेको तर पश्चिम बङ्गाल सरकारले आजसम्म कुनै जवाब नदिएको गृह राज्य मन्त्री नित्यानन्द रायले सांसद विष्टलाई जानकारी गराए।
यदि पश्चिम बङ्गाल सरकार त्रिपक्षीय वार्तामा सामेल हुन अस्वीकार गरिरहे स्थितिलाई बुझेर केन्द्र सरकारले द्विपक्षीय वार्ता चाँड़ोभन्दा चाँड़ो आयोजन गर्नुपर्ने माग सांसद राजु विष्टले गरेका छन्।
उनको दाबीका अनुसार मुद्दाको संवेदनशीलता हेरेर वार्ता चाँड़ोभन्दा चाँड़ो शुरु गर्नुपर्ने कुरामा आवश्यकतालाई लिएर गृह मन्त्रालय सकारात्मक छ। यस भेटवार्ताअवधि उनीसँग अलिपुरद्वारका सांसद जोन बारला पनि उपस्थित थिए।
यसैबीच, पछिल्लो समयमा कालेबुङको सिञ्जीनजिक आफूमाथि भएको हमलासम्बन्धमा प्रिभिलेज कमिटीले कारबाही शुरु गरेको जनसंवादसँग टेलिफोनिक कुराकानीअवधि विष्टले बताएका छन्।
प्रिलिभेज कमिटी अध्यक्ष सुनिल कुमारले चाँड़ै कालेबुङका पुलिस अधिकारीहरूलाई बोलाएरलाई घटनाबारे केरकार गर्ने सांसद विष्टको भनाइ छ।
यससम्बन्धमा लोकसभा अध्यक्ष ओम बिड़ला पनि प्रिभिलेज कमिटीका अध्यक्षलाई पत्र पठाइसकेको बताइएको छ।