हल्का छायाँ भएकाहरू लोभमा फँस्ने गर्छन्: गोरामुमो

0
1201

दार्जीलिङ, 11 फरवरीः गोरामुमो दार्जीलिङ ब्राञ्च कमिटीका अध्यक्ष अजय एड्वर्डको अध्यक्षतामा पोख्रेबुङ-नागरी समष्टिका प्रतिनिधिहरूलाई लिएर साङ्गठनिक सभा बसियो।

गोरामुमो मिडिया सेलका प्रभारी दिनेश साम्पाङले जानकारी गराएअनुसार पार्टीको केन्द्रिय कार्यालयमा बसिएको उक्त सभामा केही दिनअघि गठित पोख्रेबुङ-नागरी समष्टि कमिटीका अध्यक्ष विमल प्रधानलगायत अन्य प्रतिनिधिसँग पार्टीका साङ्गठनिक गतिविधि र आउँदा कार्यक्रमबारे अजय एड्वर्डले छलफल गरेका थिए।

यसअवसरमा उनले नवनिर्वाचित समष्टि पदाधिकारीवर्गलाई शुभकामना दिँदै आगत दिन अनुशासित र प्रतिबद्ध भएर पार्टीको गतिविधिमा लागिरहने सुझाए।

सभालाई सम्बोधन गर्दै समष्टि सभापति विमल प्रधानले अनुशासित भई समष्टि कमिटीलाई बलियो बनाउने तथा प्रत्येक शाखा-प्रशाखालाई लिएर समष्टिमा पार्टीको साङ्गठनिक गतिविधि तीव्र पार्ने प्रतिबद्धता जाहेर गरे।

“हल्का छायाँ हुने लोभ-लालचमा फँस्ने गर्छन्। लोभ-लालचमा परेर यस्ता हल्का छायाँ भएकाहरूले सुवास घिसिङको सिद्धान्तलाई पनि बिर्सिने गर्छन्” प्रधानले भने।

यसैगरी उनले जस्तै आँधीबेह्री र भुइँचालो आए तापनि आफू हरियो झण्डामा समर्पित रहिरहने दाबी गरे।

अर्कोतिर, प्रधानले स्थायी समाधान नभएसम्म दार्जीलिङ पहाड़, तराई र डुवर्सलाई वर्तमान अवस्थामा बचाउनका लागि छैटौं अनुसूची लागू गरिनुपर्ने बताए।

“छैटौं अनुसूची केवल गोरामुमोको मात्र माग होइन। हामी 9 फरवरीका दिन खरसाङमा पार्टी अध्यक्ष मन घिसिङले दिएको बयानलाई स्वागत गर्दछौं”, पोख्रेबुङ-नागरी समष्टि सभापति विमल प्रधानले थपे।

मिडिया सेल प्रभारी साम्पाङले थप बताएअनुसार आजको साङ्गठनिक सभामा दार्जीलिङ ब्राञ्च कमिटी अध्यक्ष एड्वर्डलगायत साङ्गठनिक सचिव किशोर गुरुङ, वीरेन लामा, एसके लामा, गोरानासं दार्जीलिङ शाखा अध्यक्षा बसुन्धरा प्रधान तथा अन्य उपस्थित थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here