सिलगढ़ी, 11 फरवरीः गोप्य सूत्रबाट प्राप्त सूचनाको आधारमा एक अभियान चलाएर बाघडुग्रा पुलिसले एउटा 9 एमएमको पिस्तोलसहित पाँचजना बदमाशलाई पक्राउ गरेको छ।
पक्रा परेका बदमाशहरूबाट पुलिसले पाँचवटा बाइकसमेत जफत गरेको छ। पुलिसका अनुसार जफत गरिएका ती आरोपीहरूले चोरी गरेका हुन्।
पुलिसले बताएअनुसार पक्रा पर्ने आरोपीहरूमा अधीर सिंह, कृष्ण मिञ्ज, मनोज राय, प्रदीप राय र सञ्जय राय छन्।
सिलगढ़ीका अतिरिक्त पुलिस अधीक्षक बिदित राज बुन्देशले जानकारी गराएअनुसार गत वर्षको दिसम्बर महिनामा फाँसीदेवा क्षेत्रमा भएका दुईवटा लुटपाटको घटनाको जाँचको क्रममा पुलिसले यी बदमाशहरूलाई पक्राउ गर्न सफल बनेको हो।
उनले बताएअनुसार पक्रा परेका बदमाशहरू सिलगढ़ीमा मात्र होइन, दार्जीलिङ क्षेत्रकै विभिन्न स्थानमा लुटपाट र चोरीजस्ता कार्यहरूमा सक्रिय थिए।
अतिरिक्त पुलिस अधीक्षक बुन्देशका अनुसार 28 जनवरीका दिन पुलिसले आरोपी अधीर सिंहलाई पक्राउ गरेको थियो। सिंहसँग केरकार गरेपछि पुलिसले 9 फरवरीका अर्का आरोपी कृष्ण मिञ्जलाई पक्राउ गर्यो।
दुवैसँग केरकार गरेपछि उनीहरूबाट प्राप्त जानकारीको आधारमा पुलिसले 10 फरवरीका दिन आरोपी मनोज तथा आज सञ्जय राय र प्रदीप रायलाई पक्राउ गरेको हो।
बुन्देशका अनुसार पक्रा परेका पाँचैजना आरोपी विभिन्न क्षेत्रमा भएका लुटपाट, चोरी, पैसा असुल्नेलगायत अन्य आपराधिक कार्यमा सामेल छन्।
यसका साथै पछिल्लो वर्ष तल्लो बाघडुग्रास्थित बन्धन ब्याङ्कमा भएको 36,000 भन्दा अधिक रुपियाँको लुटपाटकाण्डमा पनि यी पाँचैजना बदमाश सामेल रहेको उनले बताएका छन्।
पुलिसले आरोपीहरूसँग केरकार गरी यस मामिलामा थप अनुसन्धान गरिरहेको पनि बताइएको छ।