भाजपा चित्, दिल्लीमा आपकै सरकार

0
1252

नयाँ दिल्ली, 11 फरवरी: दिल्ली विधानसभा चुनाउमा प्रचण्ड बहुमतका साथ आम आदमी पार्टी (आप) को सरकार र अरविन्द केजरीवाल मुख्यमन्त्री बन्ने स्पष्ट भएको छ। आपलाई 70 आसनमध्ये 63 सीटमा जीत हासिल भएको छ। सरकार बनाउने सपना सजाउने भाजपाले केवल सात सीटमा चित्त बुझाउनु परेको छ। आपका संयोजक तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले यो जीतको श्रेय दिल्लीका जनतालाई दिएका छन्।

दिल्लीमा जीतपछि अरविन्द केजरीवालले भने, “दिल्लीवासीलाई गज्जबको काम गरेका छन्, आई लभ यू। यो दिल्लीका ती हरेक परिवारको जीत हो, जसले आफ्नो छोरा मानेर मलाई समर्थन दिए। दिल्लीले तेस्रोचोटि आफ्नो छोरोमाथि विश्वास गरे। नयाँ राजनीति देशका लागि शुभ सङ्केत हो। दिल्लीले नयाँ राजनीतिको जन्म दिएको छ। यो मेरो होइन दिल्लीवासीको जीत हो। यो दिल्ली मात्र होइन, भारत माताको जीत हो। हनुमानजीले आज दिल्लीमा कृपा बर्साएका छन्। आज के स्पष्ट भएको छ भने भोट उसलाई दिनुपर्छ, जसले काम गर्छ। अघिल्ला पाँच वर्ष दिल्लामा हामी मिलेर काम गर्नेछौं।”

अरविन्द केजरीवालले अझ भने, “आज मङ्गलवार हो र हनुमानजीको दिन हो। हनुमानजीले दिल्लीमा कृपा बर्साएका छन्। म यसका लागि हनुमानजीलाई पनि धन्यवाद दिन्छु। आज मेरी पत्नीको जन्मदिन हो। हामी प्रार्थना गर्छौं, हनुमानजीले हामीलाई सही बाटो देखाउनेछन्, जसले गर्दा आगामी पाँच वर्षका लागि जनताको सेवा गर्न सकौं।” जीतपछि परिवारका साथ केजरीवाल हनुमान मन्दिर पुगेर दर्शन गरे।

मतगणनामा आपका सबै ठूला नेताले चुनाउ जिते। चुनाउ जित्ने नेताहरूमा नयाँ दिल्लीमा अरविन्द केजरीवाल, पटपड़गञ्जबाट मनिष सिसोदिया, शकूरबस्तीबाट सत्येन्द्र जैन, नजफगढ़बाट कैलाश गहलोत, कालकाजीबाट आतिशी, राजेन्द्र नगरबाट राघव चड्ढा, सीमापुरीबाट राजेन्द्र गौतम, बाबरपुरबाट गोपाल राय, तिमारपुरबाट दिलीप पाण्डेय, बल्लीमारानबाट इमरान हुसैन, ओखलाबाट अमानतुल्ला खान र शाहदराबाट रामनिवास गोयल सामेल छन्।

गोपाल रायले नफरतको राजनीतिको अन्तको शुरुआत भएको बताए। “दिल्लीबाट यसको शुरुआत भएको छ। यो जीत केवल दिल्लीमा सीमित रहनेछैन”-उनले भने।

पटपड़गञ्जका विधायक मनिष सिसोदियाले चुनाउ जितेपछि भने, “म पटपड़गञ्ज विधानसभाको विधायक बनेर एकदमै खुशी छु। भाजपाले नफरतको राजनीति गर्ने कोशिश गर्‍यो, तर दिल्लीवासीले काम गर्ने पार्टीलाई सरकारमा पुर्‍याए।” अर्कोतिर, दिल्लीमा कङ्ग्रेसले खाता खोल्न पनि सकेन। पार्टीका 70 उम्मेदवारमध्ये 67 उम्मेदवारको जमानत जफत भएको छ। यसपालिको चुनाउमा कङ्ग्रेसको सबैभन्दा कमजोर प्रदर्शन रहेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here