ह्याप्पीभेल्ली चियाकमानको समस्या गहिरिँदै, सादा कागजमा हस्ताक्षर गराएर खोसियो काम

0
996

दार्जीलिङ, 12 फरवरीः 6 वटा सादा कागजमा हस्ताक्षर गर्न लगाएर ह्याप्पीभेल्ली चियाकमानका फ्याक्ट्री इञ्चार्ज महादेव गौतमको काम खोसिएको छ। यद्यपि चियाकमान छोड़ेर जानअघि गौतमले चियाश्रमिकहरूलाई आक्रोशमा आएर कमानका सम्पत्तिहरू ध्वंश नगर्ने पनि अपील गरिराखेका छन्।

उनले बुधवार चियाश्रमिकहरूअघि आफूलाई कम्पनीले कामबाट हटाएको जानकारी गराउँदै भने, “मलाई ह्याप्पीभेल्ली चियाकमान कम्पनीले कामबाट हटाएको कुरा हिजो मात्रै थाह पाएँ।”

फ्याक्ट्री इञ्चार्ज गौतमले थप भने, “मलाई कम्पनीको मुख्यालयले सिलगढ़ीबाट केही सामान किन्नका लागि पर्चेज अर्डर ल्याएर आउने निर्देश दिएको थियो, त्यसै निर्देशलाई पालन गरी म सिलगढ़ी गएको थिएँ, जहाँ पुगेपछि मलाई पुनः सिलगढ़ी कार्यालयमा गएर मुख्य प्रबन्धकसित भेट गर्ने निर्देश दिइएको थियो। जसअनुसार म सिलगढ़ी कार्यालय पुगेर मुख्य प्रबन्धकसित भेट गरें अनि मुख्य प्रबन्धकले मलाई 6 वटा सादा कागजमा हस्ताक्षर गर्न लगाए। सादा कागजमा हस्ताक्षर गरिसकेपछि मलाई कम्पनी मेरो कामसित खुशी नभएको कारण मलाई कामबाट हटाइएको जानकारी गराइयो।”

उनले चियाश्रमिकहरूअघि भावुक बन्दै अझै अघि भने, “चियाकमानमा प्रबन्धकहरू आउँछन्-जान्छन्। तर, यो चियाकमान तपाईंहरूकै सम्पत्ति हो, आक्रोशमा आएर यसमाथि क्षति पुर्‍याउने काम गर्नु उचित होइन।”

यसका साथै उनले  श्रमिकहरूलाई आ-आफ्नो काममा निरन्तर गइरहन तथा आफ्नो धैर्यलाई बचाइराख्नका लागि सुझाएका छन्।

उल्लेखनीय छ, ह्याप्पीभेल्ली चियाकमान श्रमिकहरूले आफ्नो 4 रोजी अनि एक वेतन नपाएको कारण चियाकमानमा सञ्चालित टी बुटिक बन्द राखेका छन्। यसैगरी वेतनकै कारण यस चियाकमानमा पछिल्ला केही समययता अनिश्चितता सिर्जना भएको छ।

यसबारे आफूले केही जानकारी नगराएको कम्पनीको आरोप रहेको उनले मिडियाअघि सार्वजनिक गरेका छन्। यसैकारण  कम्पनीले कामबाट निकालेको उनको भनाइ छ।

यस चियाकमानका श्रमिकहरूलाई प्रत्येक 15 दिनमा दिइने 4 पल्टको रोजी अझैसम्म पनि दिइएको छैन भने कर्मचारीहरूको 1 महिनाको वेतन पनि भुक्तान गरिएको छैन।

यसै विषयलाई लिएर यस चियाबगानका श्रमिकहरूले गोरामुमोको श्रमिक सङ्गठन हिमालयन प्लान्टेशन वर्कर्स युनियन (एचपीडब्ल्यूयू) र विनय तामाङपन्थी गोजमुमोको श्रमिक सङ्गठन दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियन (डीटीडीपीएलयू)-को नेतृत्वमा गत केही दिनअघि चियाकमान गेटसभा पनि गरेका थिए।

तरै पनि आजसम्म यसमाथि चियाकमानको मालिकपक्षले कुनै ठोस कार्य नगरेको डीटीडीपीएलयू र एचपीडब्ल्यूयूको आरोप छ। यति मात्रै होइन, यस चियाकमानका श्रमिकहरूले यस चियाकमानका प्रबन्धक एनपी सिंहलाई मालिकले फर्काएर यसै चियाकमान ल्याउने प्रयास गरिरहेको बताउँदै उनी यहाँ आएर भावी दिनमा कुनै अप्रिय घट्ना भए, त्यसको जिम्मेवार मालिक स्वयं हुनपर्ने पनि चेताउनी दिएका छन्।

स्मरण गराइन्छ, गत 18 जनवरीको दिन ह्याप्पीभेल्ली चियाकमानका श्रमिक-कर्मचारीहरूले कमानका प्रबन्धक एनपी सिंहलाई चियाकमानमा फर्किएर आउन नदिने चेताउनी दिएका थिए।

त्यस समय 3 रोजी अनि एक महिनाको वेतन नदिई मुख्य प्रबन्धक एनपी सिंह छुट्टीमा गएकोले श्रमिकहरूले चियाबगानको कारखानाअघि विक्षोभ प्रदर्शन पनि गरेका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here