सिलगढ़ी, 12 फरवरीः उत्तरकन्यातर्फ बढ़िरहेका डेमोक्रेटिक युथ फेडरेशन अफ् इण्डिया (डीवाईएफआई)-का कार्यकर्ता र पुलिसकर्मीबीच झड़प हुँदा बुधवार सिलगढ़ीस्थित तीनपत्ती मोड रणक्षेत्रमा परिणत भयो।
विभिन्न मागमा उत्तरकन्या गइरहेका डीवाईएफआई कार्यकर्ताहरूले पुलिसले रोकेपछि झड़प शुरु भएको थियो।
मार्क्सवादी कम्युनिस्ट पार्टी (माकपा)-को युवा सङ्गठन डीवाईएफका कार्यकर्ताहरू आज एक र्याली निकालेर विभिन्न मागमा ज्ञापन दिनका लागि उत्तरकन्यातर्फ बढ़िरहेका थिए।
तर, पुलिसले उनीहरूलाई तीनपत्ती मोडमै रोकेको थियो।
स्थानीय एयरभ्यू मोड (वर्तमान नाम महात्मा गान्धी मोड)-बाट शुरु भएको डीवाईएफआई कार्यकर्ताहरूको र्याली पुलिस प्रशासनको बाधाको कारण उत्तरकन्यासम्म पुग्न सकेन।
तीनपत्ती मोडमा पुलिसले लगाएको ब्यारिकेटलाई यी कार्यकर्ताहरूले तोड़ेर अघि बढ्न खोजेपछि दुई पक्षबीच झड़प भयो।
पुलिसले डीवाईएफआई कार्यकर्ताहरूलाई त्यहाँबाट हटाउनका लागि पानीको फोहोरासमेत प्रयोग गर्नपर्यो।
यसअवधि भएको झड़पमा केही डीवाईएफआई कार्यकर्ता र तीनजना पुलिसकर्मी घाइते भएको बताइएको छ।
बढ़्दो तनाउलाई नियन्त्रणमा ल्याउनका लागि बाक्लो सङ्ख्यामा पुलिस बल तैनाथ गरिएको थियो।
डीवाईएफआई दार्जीलिङ जिल्ला समितिका अध्यक्ष सचिन खातीका अनुसार आज उनीहरूले उत्तर बङ्गालमा रोजगार आधारित उद्योग स्थापना गर्नुपर्ने, बन्द चियाकमान खोल्नुपर्ने, चियाश्रमिकहरूलाई पर्जापट्टा र न्यूनतम रोज दिनुपर्ने, मालदामा रहेको एसएससी क्षेत्रीय केन्द्रलाई पुनः सञ्चालन गर्नुपर्ने, राज्यको बेरोजगार समस्यालाई समाधान गर्नुपर्ने, दार्जीलिङ पहाड़मा गणतन्त्रको पुनर्बहाली हुनुपर्ने साथै स्थायी राजनीतिक समाधान गर्नुपर्ने, जनताद्वारा निर्वाचित सिलगढ़ी नगरनिगममा राज्यको सत्तारूढ़ दलको राजनीतिक हस्तक्षेप बन्द गरिनुपर्नेलगायत अन्य मागमा उत्तरकन्यासम्म र्याली निकालिइएको थियो।
साथै त्यहाँ पुगेर यी मागहरूबारे एक ज्ञापन चढ़ाउने कार्यक्रम थियो।
तर, पुलिस प्रशासनको बाधा रोकावटको कारण डीवाईएफआई कार्यकर्ताहरू न त उत्तरकन्यासम्म पुग्न सके, न त यी मागहरूको सम्बन्धमा ज्ञापन नै दिन सके।
यसैबीच, डीवाईएफआईका कार्यकर्ताहरूले गरेको ढुङ्गामूढ़ामा तीनजना पुलिसकर्मी घाइते भएको सिलगढ़ीका पुलिस आयुक्त त्रिपुराइ अथर्वले बताएका छन्।
आज अपराह्न एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले डीवाईएफआई कार्यकर्ताहरूले अनुमतिबिनै र्याली निकालेको तथा पुलिसले रोक्दा पनि जबरस्ती ब्यारिकेट तोड़ेर अघि बढ़न खोजेको बताए।
यसअवधि डीवाईएफआईका करिब 800 सदस्य रहेको पनि पुलिस आयुक्तले थप बताए।
“डीवाईएफआई कार्यकर्ताहरूले पुलिस बलमाथि ढुङ्गामूढ़ा गर्न शुरु गरेपछि हामीले उनीहरूमाथि पानीको फोहोरा प्रयोग गरेका हौं। डीवाईएफआई कार्यकर्ताहरूले गरेको ढुङ्गामूढ़ामा तीन पुलिसकर्मी घाइते भएका छन्”, पुलिस आयुक्तले भने।
अर्कोतिर, आफूहरूको शान्तिपूर्ण र गणतान्त्रिक र्यालीमाथि पुलिसले बाधा पुर्याउनका साथै पानीको फोहोरा, आँसु ग्यास प्रयोग गरेको तथा लठीचार्जसमेत गरेको आरोप डीवाईएफआई कार्यकर्ताहरूले लगाएका छन्।
पुलिसको लठीचार्जमा आफ्ना धेरै कार्यकर्ता घाइते भएको डीवाईएफआईले बताएको छ।
यसैबीच, सिलगढ़ी नगरनिगमका मेयर एवं माकपाका वरिष्ठ नेता अशोक भट्टाचार्यले पुलिसी कारबाहीको तीखो शब्दमा निन्दा गरेका छन्।
“डीवाईएफआई कार्यकर्ताहरूले निकालेको शान्तिपूर्ण र्यालीमाथि पुलिसले आज जुन कारबाही गर्यो, त्यो न्यायसङ्गत छैन। हाम्रा धेरै युवा कार्यकर्ता पुलिसको कारबाहीमा घाइते भएका छन्”, उनले थपे, “पुलिसको यस्तो कारबाहीको म निन्दा गर्दछु। यस्तो कारबाही गैरकानुनी हो। पुलिस बल पहिलाबाटै यसका लागि तयार थियो।”
अर्कोतिर पुलिस आयुक्त त्रिपुराइ अर्थवका अनुसार यस मामिलामा डीवाईएफआई कार्यकर्ताहरूविरुद्ध कानुनी प्रक्रियाअन्तर्गत मामिला दर्ता गरिएको छ।
उनका अनुसार भिडियो फुटेज हेरेर ढुङ्गामूढ़ा गर्नेहरूलाई चिह्नित गर्ने कोशिश गरिँदैछ।
यसैबीच उनले डीवाईएफआई कार्यकर्ताहरूमाथि पुलिसले लठीचार्ज नगरेको पनि बताएका छन्।