दार्जीलिङ, 12 फरवरीः गोर्खा जातिका 11 जातगोष्ठीलाई जनजातिको मान्यता प्रदान नगरेको विषयलाई लिएर गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-दोस्रो खेमाका अध्यक्ष विनय तामाङले पुनः केन्द्रको सत्तारूढ़ दल भाजपाको आलोचना गरेको छ।
उनले गोर्खालाई केन्द्र सरकारले सधैँ सानी आमाको व्यवहार गरेको आरोप लगाउनका साथै दार्जीलिङका भाजपा सांसद राजु विष्ट पहाड़प्रति जवाबदेहिता हुनुपर्ने बताएका छन्।
बुधवार एक प्रेस विज्ञप्ति जारी गरी विनयले भनेका छन्, ‘बजेट सत्रको अन्ततिर लोकसभामा जनजाति विषयक दोस्रो विधेयक (संशोधित) 2019-लाई अझ संशोधन गरी कर्नाटकका अन्य पालिवारा, परिभाषा अनि सिद्दी समुदायलाई पनि समावेश गरिने प्रस्ताव पारित गरियो।’
उनका अनुसार मङ्गलवार लोकसभामा उक्त संशोधन बील पारित गरिएको हो। पारित बीलमार्फत् पारिभारा र तलवारा समुदायलाई जनजातिमा समावेश गरी उनीहरूलाई सरकारद्वारा प्रधान गरिने आरक्षणलगायत अन्य सुविधाहरू उपलब्ध गराउनु रहेको छ।
यसबाहेक उत्तर कन्नडा जिल्लामा बसोबासो गर्ने अन्य समुदायहरूसँगै वेलागाभी र धरवाड़ क्षेत्रका सिद्दी समुदायलाई पनि जनजातिभित्र समावेश गरिने तामाङले बताएका छन्।
यी समुदायहरूलाई जनजाति मान्यता दिनका लागि बिल पारित गरिँदा गोर्खा समुदायका 11 जातगोष्ठीलाई किन सामेल गरिएन भन्ने विनयको प्रश्न छ।
यस विषयमा उनले भाजपा, विमल गुरुङपन्थी गोजमुमो र गोरामुमोलाई प्रश्न गरेका छन्, ‘किन गोर्खा समुदायका 11 वटा जातगोष्ठीलाई जनजातिको मान्यता प्रदान गर्ने प्रस्ताव यसपल्ट पनि लोकसभामा पारित गरिएन? किन यसपल्ट पनि जनजातिको मुद्दा हावा मिठाई साबित गरियो?’
विनयले विज्ञप्तिमा थप भनेका छन्, ‘गोजमुमो विमल खेमाका प्रवक्ता बीपी बजगाइँले गत चुनाउको समयमा केन्द्रिय जनजाति मन्त्री जुएल उराँवसँग भिडियो जारी गरी जनजातिको बिल लोकसभामा कुनै पनि समय प्रस्तुत गर्न सकिने बताएका थिए।’
यसका साथै कर्नाटकका दुई समुदायलाई जनजातिमा समावेश गर्दा यसपल्ट पनि गोर्खा जातिका 11 जातगोष्ठीलाई हावा मिठाई खुवाएर गोर्खाहरूमाथि विश्वासघात गरिएको मोर्चा दोस्रो खेमाका अध्यक्ष विनय तामाङले बताएका छन्।