दार्जीलिङ, 14 फरवरीः ह्याप्पीभेल्ली चियाकमानको भविष्य अनिश्चित बनेको छ। शुक्रवार यस चियकमानमा कुनै काम भएन।
चिया कारखाना बन्द रह्यो, श्रमिकहरू घरैमा बसे अर्थात् न चियाकमानभित्र न कुनै काम भयो, न त चिया कारखाना नै खुल्यो।
यसैबीच, मालिकपक्षले कमानको काम स्थगित गरिएको घोषणा गर्दै एक नोटिस जारी गरेको छ, जसमा काम स्थगित रहेसम्मको कुनै रोजी, वेतन भुक्तान नगर्ने बताइएको छ।
यद्यपि, पानीको सर्वराह, यसमाथि देखरेख आदि भने जारी राखिने पनि नोटिसमा उल्लेख गरिएको छ।
नोटिसमा बताइएअनुसार, चियाकमानका श्रमिकहरूले दिनहुँ नै चियाकमानको काममा बाधा दिने काम गरिरहेका छन्, जसको कारण कम्पनीले आर्थिक नोक्सानी बेहोर्न परिरहेको छ।
यति मात्रै होइन, यस चियाकमानका प्रबन्धकलाई छुट्टीबाट आफ्नो काममा पनि फर्किन दिइएको छैन। यी कारणहरूले गर्दा नै 14 फरवरीदेखि यस चियाकमानको काम स्थगित गरिएको बताइएको छ।
नोटिसका अनुसार यस चियाकमानमा अनुशासित स्थिति सिर्जना नभएसम्म साथै प्रबन्धकलाई आफ्नो काममा फर्किन नदिइएसम्म काम स्थगित नै रहनेछ। किनभने, यस चियाकमानका श्रमिकहरूले जबर्जस्ती टी बुटिकलाई पनि बन्द गरिराखेका छन्।
आज यसप्रकारको नोटिस सार्वजनिक हुनसाथै चियाश्रमिकहरूमा निराशा पनि छाएको छ भने यसबारे विभिन्न श्रमिक सङ्गठनले पनि उचित पदक्षेप चाल्ने गर्ने योजना बनाइरहेका छन्।
उल्लेखनीय छ, ह्याप्पीभेल्ली चियाकमानका श्रमिकहरूले आफ्नो 4 रोजी अनि एक वेतन नपाएको कारण चियाबगानमा सञ्चालित टी बुटिक बन्द राखेका छन्।
यसरी नै यस विषय लिएर चियाकमानमा गत केही समयदेखि अनिश्चितताको माहोल सिर्जना भइरहेको छ।
यसैबीच, दुई दिनअघि मात्र कम्पनीले फ्याक्ट्री इञ्चार्ज महादेव गौतमलाई पनि आफ्नो कामबाट निकालेको थियो।
विशेषगरी, यस चियाकमानका श्रमिकहरूलाई प्रत्येक 15 दिनमा दिइने चारपल्टको रोजी अझैसम्म पनि दिइएको छैन भने कर्मचारीहरूको एक महिनाको वेतन पनि भुक्तान गरिएको छैन।
यसै विषयलाई लिएर यस चियाकमानका श्रमिकहरूले गोरामुमोको श्रमिक सङ्गठन हिमालयन प्लान्टेशन वर्कर्स युनियन (एचपीडब्ल्यूयू) र विनय तामाङपन्थी गोजमुमोको श्रमिक सङ्गठन दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियन (डीटीडीपीएलयू)-को नेतृत्वमा गत केही दिनअघि चियाबगानमा गेटसभा पनि गरेका थिए।
तरै, पनि आजसम्म यसमाथि चियाकमानको मालिकपक्षले कुनै ठोस कार्य नगरेको डीटीडीपीएलयू र एचपीडब्ल्यूयूको आरोप छ।
यति मात्रै होइन, यस चियाकमानका श्रमिकहरूले यस चियाकमानका प्रबन्धक एनपी सिंहलाई पुनः चियाबगान मालिकले फर्काएर यसै चियाबगानमा ल्याउने प्रयास गरिरहेको बताउँदै उनी यहाँ आएर भावी दिनमा कुनै अप्रिय घटना भए, त्यसको जिम्मेवार मालिक स्वयं हुनपर्ने पनि चेताउनी दिएका छन्।
ज्ञात रहोस्, गत 18 जनवरीको दिन ह्याप्पीभेल्ली चियाकमानका श्रमिक-कर्मचारीहरूले बगानका प्रबन्धक एनपी सिंहलाई चियाबगानमा फर्किएर आउन नदिने चेताउनी दिएका थिए।
त्यस समय तीन रोजी अनि एक महिनाको वेतन नदिई चियाबगानका मुख्य प्रबन्धक एनपी सिंह छुट्टीमा गएको बताउँदै श्रमिकहरूले चियाकमानको कारखानाअघि विक्षोभ प्रदर्शन पनि गरेका थिए।
यसबारे विनय तामाङपन्थी गोजमुमोको श्रमिक सङ्गठन दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियन दार्जीलिङ महकुमा समिति अध्यक्ष बालम तामाङसित सोध्दा उनले चियाकमानको मालिकवर्गले नै समस्या सिर्जना गराएको बताए।
“चियाकमानको मालिकवर्गले अचाहिँदो काम गर्न छोड़ेर बिनाशर्त चियाकमान पुनः खोल्नुपर्छ अनि चियाश्रमिकहरूको बाँकी रोजी र वेतन शीघ्र भुक्तान गर्नुपर्छ’’, तामाङले भने।
यसका साथै उनले चियाश्रमिकहरूलाई बगानको सम्पत्तिको सुरक्षा गरेर राख्ने पनि अपील गरेका छन्।