परिक्रमाका लिड गिटारिस्ट सोनाम शेर्पा, जसले हामीलाई धेरै कुरा दिएर गए

0
1938
सोनाम शेर्पा।

दार्जीलिङ, १५ फरवरीः  चर्चित इन्डियन रक ब्यान्ड ‘परिक्रमा’-का संस्थापक एवं लिड गिटारिस्ट सोनाम शेर्पाको शुक्रवार निधन भएको छ।

हिजो अपराह्न १.२० बजे खरसाङस्थित एक होटलमा उनको निधन भएको हो।

उनी बसेको होटलको रूममा बेहोश अवस्थामा पाइएपछि तत्कालै खरसाङ अस्पताल लगिएको थियो, जहाँ चिकित्सकहरूले उनलाई मृत घोषित गरे।

हृदयाघातको कारण यी चर्चित लिड गिटारिस्टको निधन भएको बताइए तापनि पोस्टमर्टम रिपोर्टपछि मृत्युको साँचो कारण अघि आउने खरसाङ पुलिसको भनाइ छ।

शेर्पाको शवलाई शनिवार सिलगढ़ीस्थित उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पताल पोस्टमर्टम गर्नका लागि पठाइएको छ।

दिल्ली बस्दै आएका सोनाम शेर्पा १० फरवरीका दिन खरसाङ आएका थिए भने हिजै दिल्ली फर्कने तर्खरमा थिए।

अहिले खरसाङमा ‘ब्रोकन विङ्स’ नामक फिल्मको सुटिङ भइरहेको छ।

शेन्पेन खास्मारद्वारा निर्देशित यसै ब्रोकन विङ्सका सङ्गीत निर्देशक थिए, सोनाम शेर्पा।

सङ्गीतकै काम लिएर उनी खरसाङ आएका थिए। काम सकेपछि १२ फरवरीकै दिन उनी दिल्ली फर्किने कार्यक्रम थियो। तर, खरसाङमा अझै बस्न मन लागेपछि उनी हिजोसम्मका लागि अड़िएका थिए। र  हिजो दिल्ली फर्किन लागेका थिए।

तर, दिल्ली फर्कनका लागि होटलबाट निस्कनअघि नै उनलाई हृदयाघात भएको बताइएको छ।

होटलको कोठामा शेर्पा एकलै थिए। फिल्मको टिम सुटिङका लागि निस्किसकेको थियो। जानकारीका अनुसार फिल्मका निर्देशक खाम्सारले करिब उनलाई अँगालो हालेर सुटिङका लागि निस्केका थिए। त्यसबेलासम्म शेर्पा स्वस्थै थिए।

लिड गिटारिस्टको रूपमा भारतभरि चिनिएका सोनाम शेर्पा ८ अक्टोबर १९७१-मा कालेबुङमा जन्मेका हुन्।

सानै गिटारप्रति उनको लगाव गजबको थियो। ९ वर्षदेखि गिटार बजाएर रमाइरहने सोनाम शेर्पा पछि अध्ययन र कामका लागि दिल्ली गए।

१७ जून १९९१ –मा दिल्लीमा शेर्पाले सुबिर सलिक, निति मलिक, प्रशान्त बहादुर, चिन्तन कारा र राहुल मल्होत्रासँग मिलेर परिक्रमा ब्यान्ड स्थापना गरेका थिए।

त्यस्तै उनले दिल्लीमा परिक्रमा सङ्गीत स्कूल पनि सञ्चालन गर्दै आएका थिए।

भारतको रक सङ्गीतमा परिक्रमा चर्चित ब्यान्ड हो।

मञ्जुनाथ फिल्ममा समेत सङ्गीत दिइसकेका सोनाम शेर्पाको निधनले भारतको सङ्गीत जगत् नै शोकमा डुबेको छ।

उनको निधनमा शोक ब्यक्त गर्दै बलिउडका म्युजिक कम्पोजर विशाल ददलानीले ट्विट गरेका छन्, ‘सोनाम शेर्पा गिटार प्लेयरभन्दा धेरै केही थिए। उनी अग्रगामी थिए, शिक्षक थिए। धेरैलाई प्रेरणा दिए। उनी एक असल मित्र थिए। आफ्नो प्रतिभा र लोकप्रियताबावजुद उनी सधैं नम्र थिए।’

परिक्रमाले धेरै लोकप्रिय गीत दिएको छ। बट इज रेन्ड, टियर्स अफ दि विजार्ड र आइ एम ड्रिमिङजस्ता हिट गीतको कम्पोजर सोनाम शेर्पा ४८ वर्ष पुगेका थिए।

परिक्रमा भारतकै सबैभन्दा पुरानो ब्यान्डमध्ये एक हो। हजारभन्दा अधिक लाइभ परफर्मेन्श गर्ने शेर्पालाई रोलिङ स्टोन्स पत्रिकाले भारतका शीर्ष १० गिटारिस्टमा स्थान दिएका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here