रामपुरे बस्तीका मानिसहरूद्वारा श्रमदानमार्फत् बाटो निर्माण

0
2306

दार्जीलिङ, १५ फरवरीः सम्बन्धित निकाय र नेतृत्वपक्षलाई पटक पटक बिन्ती बिसाउँदा पनि कुनै पहल नभएपछि रामपुरे बस्तीका मानिसहरूले आफै बाटो निर्माण गरिरहेका छन्।

अहिलेघरी तपाईंहरू पुबुङ ग्राम पञ्चायतअधीनस्थ रामपुरे बस्ती पुग्नु भएमा त्यहाँ स्थानीय मानिसहरूले आफै बाटो बनाइरहेको देख्नु हुनेछ।

गाउँसम्म बाटो पुऱ्याउने सपना रोप्नका लागि उनीहरूले दैनिक पसिना बगाइरहेका छन्। छातीमा खून जमाइरहेका छन्। हातमा ठेला उठाइरहेका छन्। कठोर श्रमले गलेका गाउँले अनुहारहरू तर बाटो गाउँसम्म पुग्ने कुराले उज्यालो बनिरहेका छन्।

हालमा रामपुरे बस्तीका मानिसहरू प्रतिदिन बाटो निर्माणका लागि जुट्छन्। श्रमदानमार्फत् पछिल्लो वर्षदेखि शुरु गरेको बाटो गाउँसम्म पुगिसकेको छ, तर बीचमै रामपुरे खोला परेकोले आधा बाटोसम्म गाड़ी आइपुग्न सकेको छ।

बिरामीलाई स्ट्रेचरमा बोकेर लैजादै गाउँलेहरू।

गाउँलेहरू अहिले त्यसै खोलामा पुल बनाउने काममा जुटेका छन्। प्रतिदिन बाक्लो सङ्ख्यामा उनीहरू पुलकै निर्माणमा खटिएका छन्। पुलको निर्माणकार्य पूरा भएपछि कच्ची बाटो भएर गाड़ी गाउँसम्म मात्र पुग्नेछैन तर, रामपुरे बस्तीवासीले वर्षौंदेखि भोगिरहेको यातायातको समस्या पनि धेरै हदसम्म समाधान हुनेछ।

“हामीले धेरै ठाउँमा बाटो निर्माणका लागि अर्जी चढ़ाएका हौं। सम्बन्धित विभाग र नेतृत्वपक्षलाई हाम्रो समस्या सुनाएका हौं। समस्या समाधानका लागि बिन्ती बिसाएका हौं”, स्थानीयनिवासी सोनिया राईले थपिन्, “तर हाम्रा समस्या र मागप्रति उनीहरूले कुनै पहल गरिदिएनन्। वर्षौंदेखि हाम्रो मागलाई बेवास्ता गरिँदै आएपछि गत वर्षदेखि हामी आफैले श्रमदानमार्फत् बाटो निर्माणकार्य शुरु गरेका हौं।”

राईका अनुसार सबैभन्दा पहिला बाटो निर्माणका लागि रामपुरे बस्तीस्थित दुमी गाउँका मानिसहरू अघि आएका हुन्। १२ घर रहेको दुमी गाउँका मानिसहरूले प्रतिघर १६ हजार रुपियाँ गरी उठाएको उनी बताउँछन्।

पुल निर्माण गर्दै गाउँलेहरू।

अहिले यो श्रमदानमा रामपुरे बस्तीका सम्पूर्ण गाउँ जुटेका छन्। भ्याउने र सक्ने जति बाटो निर्माणमा खटिन्छन्, नसक्ने र नभ्याउनेहरूले अन्य कुरामा सहयोग गर्छन्।

“गाड़ी पुग्ने बाटो नभएकै कारण हामीले धेरै समस्या भोगिरहेका छौं। विशेषगरी बिरामी, ससाना विद्यार्थी, वृद्ध-वृद्धाहरूले यातायातमा भोग्ने गरेको कठिनाइ धेरै छ”, सोनिया थप्छिन्, “किनभने करिब तीन किलोमिटर ठाड़ो उकालो हिँड़ेपछि मात्र गाड़ीको बाटो भेटिन्छन्। बल भएका र हिँड़्न सक्नेहरू त रामपुरे फाटकसम्म हिँड़्न सक्छन्। उनीहरूका लागि ठाड़ो उकालो केही नलाग्दा तर बिरामी, ससाना नानी र वृद्ध-वृद्धाहरूका लागि तीन किलोमिटर उकालो हिँड़्नु सजिलो कुरा होइन।”

गाड़ी गुड़्ने बाटो नभएकै कारण अहिले पनि यो गाउँका बिरामीहरूलाई स्टेचरमा बोक्नुपर्ने बाध्यता छ, जसले जीटीएको विकासे दाबी कतिसम्म खोक्रो छ भन्ने कुराको पोल आफै खोलिदिन्छ।

गाउँहरूले श्रमदानमार्फत् निर्माण गरिरहेको यो बाटोले रामपुरे परबेन फरेस्टदेखि रामपुरे बस्ती हुँदै पुबुङलाई जोड़्नेछ। करिब चार किलोमिटर लामो यो बाटोको निर्माणकार्य पूरा भएपछि खालिङ गाउँ, आले गाउँ, भुजेल गाउँ , दुमी गाउँ, पारबेन र पुबुङ आदिका मानिसहरू लाभान्वित बन्नेछन्।

आधा बाटोसम्म आइपुगेको गाड़ी।

सबैभन्दा ठूलो विडम्बना के हो भने रामपुरे बस्तीलाई रङ्ली खण्डअन्तर्गतकै सबैभन्दा पछौटे बस्ती भनेर सरकारले घोषित गरे तापनि यसको विकासका लागि आजका दिनसम्म कुनै ठोस कार्य भने नगरेकै देखिन्छ। नभए सरकारले क्षेत्रको सबैभन्दा ठूलो बाटोको समस्यालाई पहिला नै समाधान गर्नेथियो।

बाटो निर्माणका लागि प्रतिदिन रामपुरे बस्तीवासीले चुह्याइरहेको पसिनाले सरकारको मात्र होइन, तर विकासकै लागि भनेर थापिएको गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनलाई पनि गिज्याइरहेको छ।

किनभने २०१३ मै यस गाउँका लागि बाटो सर्भे भएको जानकारी पाइएको छ। तर, सर्भे भएको करिब सात वर्ष बितिसक्दा बाटो निर्माणका लागि आजका दिनसम्म कुनै पहल भएको छैन। जसप्रति जीटीएको सम्बन्धित विभाग र व्यक्तिले समयमै ध्यान दिन अत्यावश्यक देखिएको छ।

गाउँलेहरूले श्रमदानद्वारा खनिएको बाटो।

सड़कको निर्माण मानिसहरूले पाउनुपर्ने आधारभूतको विकासको सुविधामध्ये पहिलो शर्त हो। सड़क निर्माणपछि नै अन्य सुविधाहरू गाउँसम्म पुग्नेगर्छन्। यदि करिब चार किलोमिटरको बाटो निर्माणमा सम्बन्धित निकाय र पक्षले आँखीओझेल गरेमा त्यस गाउँको समस्या कतिसम्म बाक्लिँदै होला, जोकोहीले हेक्का राख्नसक्छन्।

यसैले जीटीएले यसप्रति ध्यान पुऱ्याउनु आजको आवश्यकता हो। नभए जति नै विकासको दाबी गरे तापनि त्यो दाबी खोक्रो र अपुरो नै हुन्छ। आखिर स्थानीय मानिसहरूले आशालु नजरले हेर्ने पनि जीटीएतर्फै हो।

“हामी गाउँलेहरू बनाएको बाटो अवश्यै पक्की हुनेछैन। हाम्रो पहल भनेको तत्कालिक समस्या समाधान गर्नु  र गाड़ी जसरी पनि गाउँसम्म पुऱ्याउनु हो। किनभने हामीले बनाएको बाटो कच्ची र बिनाअभियान्त्रिकीको हुनेछ”, दुमी गाउँनिवासी सोनिया राई भन्छिन्, “हाम्रो समस्याको स्थायी समाधान भनेको व्यवस्थित र पक्की सड़क नै हो, जुन सम्बन्धित निकायमार्फत् नै सम्भव छ। यदि  पक्की बाटोको निर्माण भएमा हामीले वर्षौंदेखि भोग्दै आएको समस्या समाधान मात्र हुनेछैन। तर, कृषिमाथि निर्भर हाम्रो गाउँ आर्थिक सबलतातर्फ पनि अघि बढ़्ने निश्चित छ।”

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here