दार्जीलिङ, 17 फरवरीः नेहरू रोडबाट हटिएका लगभग 50 जना फुटपाथ व्यवसायीले 102 दिनपछि आजदेखि दार्जीलिङ मोटर स्ट्यान्डको किनारमा दोकान थाप्ने अवसर पाए।
दार्जीलिङ नगरपालिकाले यी फुटपाथ व्यवसायीहरूलाई मानवताको आधारमा यहाँ साँझ 5 बजेदेखि 7.30 बजेसम्म दोकान थाप्ने अनुमति दिएको छ।
यद्यपि, यी फुटपाथ व्यवसायीहरूले आजदेखि यहाँ दोकान थाप्ने अनुमति पाएको बताउँदै आफूहरूलाई धेरै खुशी लागेको बताएका छन्।
स्मरण रहोस् , विशेष गरी दार्जीलिङको गौरव मानिने चौरस्तानजिक रहेको नेहरू रोडमा विगत केही समयदेखि फुटपाथ व्यवसायीहरूको सङ्ख्या व्यापकरूपले बढ़ेको थियो।
किनभने, केही वर्षअघि मात्र यस सड़क किनारमा रहेका फुटपाथ व्यवसायीहरूलाई मल रोड र होटल सन-फ्लावर रोड परिसरमा सारी नेहरू रोडलाई खुल्ला बनाइएको थियो।
तर, समयको गतिसितै फेरि नेहरू रोड फुटपाथ व्यवसायीहरूले भरिन थालेको थियो, जसलाई ध्यानमा राखेर अनि चौरस्ताको सुन्दरतालाई यथावत राख्ने भनेर दार्जीलिङ नगरपालिकाले करिब 3 महीनाअघि यहाँ साँझपख चाउमिन, मोमो, अण्डा, बन, चिया आदि बेच्ने व्यवसायीहरूलाई हटाएको थियो।
जसको फलस्वरूप यी व्यवसायीहरूले विरोध पनि जनाएका थिए अनि अन्य कुनै स्थानमा दोकान थाप्नको लागि अनुमति दिने माग गरेका थिए।
जसका अनुसार, नगरपालिकाले उनीहरूलाई दोकान थाप्नका लागि स्थान चिह्नित गर्ने अवसर प्रदान गरेको थियो।
यसैअनुसार उनीहरूले साउथ फिल्ड महाविद्यालयमुनिको सड़क मार्ग, दार्जीलिङ नगरपालिकामुनिको सड़क किनार अनि क्लब साइड परिसरमा दोकान थाप्न अनुमति दिने अपील गरेका थिए।
तर, नगरपालिकाले उनीहरूको यो अपीललाई अस्वीकार गरेर मोटर स्ट्यान्डको सड़क किनारमा आजदेखि दोकान थाप्ने अनुमति दिएको छ।
नगरपालिकाले मोटर स्ट्यान्डमा स्थान प्रदान गरेकोमा आफूहरू खुशी नै रहेको दार्जीलिङ हकर्स युनियनका अध्यक्ष कुन्दन देवानले बताए।
“नेहरू रोडमा डरसरि दोकान थाप्न पर्थ्यो, अब यहाँ सरेपछि त्यो डर समाप्त भएको छ। ढुक्कैले दोकान थाप्न सकिने भएको छ“, देवानले भने।
यसका साथै उनले यहाँ दोकान थापिसकेपछि प्रत्येक दोकानेले यो परिसरलाई पूर्णरूपले सफा गर्ने भएको पनि बताए।
यसरी नै दार्जीलिङ नगरपालिकाका सचिव सीपी राईले यी दोकानदारहरूले साँझ 5 बजीदेखि 7.30 बजीसम्म मात्रै दोकान थाप्न पाउने, भाँड़ा यस ठाँउमा धुन नपाउने जस्ता शर्तहरू मानेको पनि बताए।
“यहाँ स्थायीरूपले दोकान थाप्न दिइएको होइन, उनीहरूलाई केवल मानवताको आधारमा मात्रै दोकान थाप्न दिइएको हो”, उनले थपे।