दार्जीलिङ, 18 फरवरीः दार्जीलिङ पहाड़मा बर्सेनि माध्यमिक परीक्षा दिनेहरूको सङ्ख्या व्यापक मात्रामा घट्दै गइरहेको छ।
जसको कारण यसपाली दार्जीलिङ र कालेबुङ जिल्लाबाट केवल 8,861 विद्यार्थीले माध्यमिक परीक्षा लेखिरहेका छन्।
आज अर्थात् मङ्गलवारदेखि माध्यमिक परीक्षा शुरु भएको छ।
आखिर बर्सेनि माध्यमिक परीक्षा दिने विद्यार्थीको सङ्ख्या घट्नुको मूल कारण के हो भन्नेबारे प्रश्न गर्दा दार्जीलिङ माध्यमिक परीक्षाका जिल्ला संयोजक अनिल शर्माले यसको मूल कारण जन्म दरमा ह्रास रहेको बताएका छन्।
“हाल प्रायः मानिसहरूले नै एकजना मात्रै सन्तान बनाउन चाहन्छन्। अनि, बनाइरहेका छन् पनि। एकजना सन्तानलाई अधिकांश अभिभावकले नै सरकारी स्कूलको सट्टा अङ्ग्रेजी माध्यमका स्कूलहरूमा नै भर्ना गराउन चाहन्छन्’’, शर्माले थपे, ‘‘यसैकारण नै बर्सेनि दार्जीलिङ पहाड़मा माध्यमिक परीक्षा दिने विद्यार्थीको सङ्ख्या घटिरहेको छ।’’
उनका अनुसार गत वर्ष दार्जीलिङ जिल्लाबाट 6 हजारभन्दा अधिक र 2018-मा 6,500 भन्दा अधिक विद्यार्थीले माध्यमिक परीक्षा दिएका थिए।
यति मात्रै होइन, केही वर्षअघि दार्जीलिङ पहाड़बाट 12 हजार, 15 हजार जति विद्यार्थीले माध्यमिक परीक्षा दिएका थिए।
‘‘तर, केही वर्षयता माध्यमिक परीक्षा दिनेहरूको सङ्ख्या घट्दै गइरहेको छ’’, उनले थपे, ‘‘यो एउटा चिन्ताको विषय पनि हो।’’
आजदेखि शुरु भएको माध्यमिक परीक्षा दिने विद्यार्थीको सङ्ख्या दार्जीलिङ जिल्लाअन्तर्गत् पर्ने दार्जीलिङ, खरसाङ, मिरिकबाट 5,271 र कालेबुङ जिल्लाबाट 3,589 छन्।
पहिलो दिनको परीक्षा शान्तिपूर्ण सम्पन्न भएको जानकारी पाइएको छ भने यसपाली दार्जीलिङ जिल्लामा दुईवटा नयाँ परीक्षा केन्द्रमा पनि परीक्षार्थीहरूले परीक्षा लेखिरहेको जिल्ला परीक्षा संयोजक अनिल शर्माले बताएका छन्।
उनले दिएको जानकारीका अनुसार, यसपालीदेखि रिम्बिक र सिटोङमा दुईवटा नयाँ परीक्षा केन्द्र शुरु भएको छ।
जसको कारण यी क्षेत्रका माध्यमिक परीक्षार्थीहरूले आफ्नो ठाउँमा परीक्षा दिइरहेका छन्।
पछिल्लो वर्षसम्म सिटोङ र रिम्बिकका विद्यार्थीहरूले क्रमैले खरसाङ र दार्जीलिङ आएर परीक्षा दिन पर्थ्यो।
तर, यस वर्षदेखि यी सुदूरवर्ती क्षेत्रका विद्यार्थीहरूले आफ्नै घर नजिक परीक्षा दिने अवसर पाउन थालेका छन्।
जसको कारण यस वर्षदेखि दार्जीलिङ जिल्लामा 33 वटा र कालेबुङ जिल्लामा 16 वटा परीक्षा केन्द्र स्थापित भएका छन्।