भाजपाको चुनावी स्टन्ट पहाड़वासीले बुझिसकेका छन् : क्रामाकपा

0
1248
क्रामाकपा प्रवक्ता गोविन छेत्री (फाइल फोटो)।

दार्जीलिङ, 6 जनवरी : भाजपाले दार्जीलिङ पहाड़वासीलाई पटक पटक विश्वासघात गरेकोले अब यसले चुनाउको समयले देखाउने ‘ललिपप’-सँग पहाड़का जनता नफकिने क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा)-ले बताएको छ।

आइतवार जनसंवादसँग विशेष कुराकानी गर्दै क्रामाकपा प्रवक्ता गोविन छेत्रीले भने, “भाजपाको चुनावी स्टन्ट पहाड़वासीले बुझिसकेका छन्। अब चुनावी ‘ललिपप’ देखाएर पहाड़वासीलाई भाजपाले नफकाउँदा हुन्छ।”

छेत्रीका अनुसार भाजपा गोर्खाहरूप्रति इमानदार छैन। सहजै दिनसक्ने कुरा पनि नदिएकोले नै पहाड़वासीको मनबाट भाजपामाथिको विश्वास उठिसकेको छ। “हाम्रा लागि भाजपाले केही गरेन। न त गोर्खाल्याण्ड राज्य गठनका लागि पहल गर्‍यो, न त गोर्खा समुदायका 11 जातगोष्ठीलाई नै जनजातिको मान्यता दियो। यसको विपरीत आपतको बेला भाजपाले राजनीतिक स्वार्थ हेरेर रमिता हेर्ने काम गर्‍यो। यस्तो काम गरेर पुनः दार्जीलिङबाट भोट जित्छु भन्ने सोच्नु भाजपाको दिवास्वप्न मात्र हो।”

क्रामाकपा प्रवक्ताले दार्जीलिङको समस्यालाई न्यायोचित र प्रभावकारी ढङ्गमा संसदमा सम्बोधन गर्नसक्ने इमानदार व्यक्तिको खाँचो रहेको बताए। छेत्रीका अनुसार यसका लागि भूमिपुत्र उम्मेद्वार भएर मात्र हुँदैन, तर राजनीतिक रूपले परिपक्व, दिल्लीमा ‘लबी’ सिर्जना गर्ने तथा गोर्खाल्याण्डका लागि इमानदार मानिस हुनुपर्छ। उनले भने, “लोकसभा चुनाउ ग्राम पञ्चायत चुनाउजस्तो होइन। न त लोकसभा गाउँले सभाजस्तो हो। हाम्रो समस्यालाई बोकेर जाने उम्मेद्वार भूमिपुत्र मात्र भएर हुँदैन, योग्य र इमानदार पनि हुनुपर्छ। नभए बाहिरबाट आएका र भूमिपुत्रबीच कुनै फरक रहनेछैन।”

उल्लेखनीय छ, छेत्रीले यस्तो प्रतिक्रिया केन्द्रको जनजाति मामिला मन्त्रालयले गोर्खा समुदायका 11 जातगोष्ठीलाई जनजातिको मान्यता दिनेबारे अध्ययन गर्नका लागि नयाँ कमिटी सिक्किम-दार्जीलिङमा पठाउने निर्णयको सन्दर्भमा दिएका हुन्। मिना रञ्जन छिरिङको अध्यक्षतामा रहेको तीन सदस्यीय यो टोली भोलि अर्थात् 7 जनवरीको दिन सिक्किम आउनेछ।

एक प्रश्नको उत्तरमा अखिल भारतीय गोर्खा लीग (अभागोली)-ले यसै महिनाभित्र गर्ने भनिएको सर्वदलीय बैठकमा क्रामाकपा नजाने बताए। गोर्खा लीगले आफ्नो उम्मेद्वार तय गरिसकेको छ। त्यसैले उक्त सर्वदलीय बैठकमा जाने महत्त्व नै रहेन”, छेत्रीले थपे, “सर्वदलीय बैठक त साझा उम्मेद्वार चयन गर्नका लागि हुनुपर्ने थियो। साझा उम्मेद्वारको चयनका लागि छलफल हुनुपर्ने थियो। सबै सहमतिमा आउनपर्ने थियो,  गोर्खा लीगले आफ्नो उम्मेद्वार बताइसकेको छ। गोर्खा लीगले तय गरेको उम्मेद्वारलाई समर्थन अथवा विरोध छ भन्नका लागि क्रामाकपा जानेछैन।”

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here