25 फरवरी त्रिपक्षीय बैठक, ह्याप्पीभेल्ली चियाकमान खोलिने आशा

0
913

दार्जीलिङ, 19 फरवरीः दार्जीलिङका सह-श्रमायुक्त प्रदीप नारायण भण्डारीले आउँदो 25 फरवरीका दिन हुने त्रिपक्षीय बैठकपछि ह्याप्पीभेल्ली चियाकमान पुनः खोलिने आशा गरेका छन्।

ह्याप्पीभेल्ली चियाकमानको समस्या समाधान गर्नका लागि 25 फरवरीका दिन सिलगढ़ीस्थित जोइण्ट लेबर कमिश्नर कार्यालयमा त्रिपक्षीय बैठक हुने तय भएको छ, जुन बैठकमा चियाकमान मालिक अनिल बन्सल, सबै श्रमिक सङ्गठन अनि श्रम विभागका अधिकारीवर्ग उपस्थित रहने पनि भण्डारीले बताए।

जोइण्ट फोरमले गत 17 फरवरीका दिन दार्जीलिङका सह-श्रमायुक्तलाई एक पत्र दिएर ह्याप्पीभेल्लीको समस्या समाधान गर्न शीघ्र त्रिपक्षीय बैठक गराउने माग गरेको थियो।

फोरमको मागकै आधारमा आउँदो 25 फरवरीको दिन त्रिपक्षीय बैठक तय भएको हो।

“25 फरवरीका दिन ह्याप्पीभेल्ली चियाकमान विषय लिएर एक सभा गरिने भएको छ, जसमा चियाकमानका प्रबन्ध निर्देशक अनिल बन्सल, चियाकमानका प्रबन्धकवर्ग, श्रमिक सङ्गठनका प्रतिनिधिहरूका साथै श्रम विभागका अधिकारीवर्गको उपस्थिति रहनेछ” उनले थपे, “उक्त बैठकपछि ह्याप्पीभेल्ली चियाकमानको समस्या समाधान हुने आशा गरेका छौं।”

उल्लेखनीय छ, 14 फरवरीदेखि ह्याप्पीभेल्ली चियाकमान अचल अवस्थामा छ। यसदिन चियाकमानको मालिकपक्षले कमानमा काम स्थगित गरिएको घोषणा गर्दै एक नोटिस जारी गरेको थियो, जसमा काम स्थगित रहुञ्जेलसम्मको कुनै रोजी, वेतन भुक्तान नगर्ने बताइएको छ।

यद्यपि, उक्त नोटिसमा पानीको सर्वराह, यसमाथि देखरेख आदि जारी राखिने पनि उल्लेख गरिएको थियो।

चियाकमान अनुशासित स्थितिको सृजना नभएसम्म साथै प्रबन्धकलाई आफ्नो काममा फर्किन नदिइएसम्म काम स्थगित रहने चियाकमान मालिकले घोषणा गरेको छ।

किनभने, यस चियाकमानका श्रमिकहरूले जबर्जस्ती टी बुटिकलाई पनि बन्द गरिराखेको पनि आरोप लगाइएको छ।

विशेष ह्याप्पीभेल्ली चियाकमानका श्रमिकहरूले आफ्नो चार रोजी र एक वेतन नपाएको कारण चियाकमानमा सञ्चालित टी बुटिक बन्द राखेका थिए। पाउनुपर्ने सम्पूर्ण वेतन दिए मात्र टी बुटिक खोल्ने श्रमिकहरूको अड़ान छ।

यसका साथै वेतन नदिने तोकिएको मितिभन्दा केही दिनअघि नै छुट्टीमा जाने प्रबन्धक एनपी सिंहलाई श्रमिकहरूले  बहिष्कार  गरिसकेका छन्।

यी प्रबन्धकलाई कुनै पनि अवस्थामा कमानमा पुनः फर्केर आउन नदिने श्रमिकहरूको अड़ान छ। प्रबन्धक सिंहले आफ्नै नियम थोपेर अन्याय गर्ने कार्य गरिरहेको श्रमिकहरूको आरोप छ।

यसैबीच, गत 12 फरवरीका दिन मात्रै कम्पनीले फ्याक्ट्री इञ्चार्ज गौतमलाई पनि आफ्नो कामबाट हटाएको थियो।

विशेषगरी यस चियाकमानका श्रमिकहरूलाई प्रत्येक 15 दिनमा दिइने 4 पल्टको रोजी अझैसम्म पनि दिइएको छैन भने कर्मचारीहरूको 1 महीनाको वेतन पनि भुक्तान गरिएको छैन।

यसै विषयलाई लिएर यस चियाकमानका श्रमिकहरूले गोरामुमोको श्रमिक सङ्गठन हिमालयन प्लान्टेशन वर्कर्स युनियन (एचपीडब्ल्यूयू) र विनय तामाङपन्थी गोजमुमोको श्रमिक सङ्गठन दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियन (डीटीडीपीएलयू)-को नेतृत्वमा गत केही दिनअघि चियाकमानमा एक गेटसभा पनि गरेका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here