सिलगढ़ी, २० फरवरीः सांसद राजु विष्टले भाजपाका वरिष्ठ नेता सुब्रमण्यम स्वामीको ‘गोर्खाल्याण्ड युनियन टेरिटोरी’ सम्बन्धी ट्वीटलाई समर्थन र सम्मान जनाएका छन्।
बिहीवार सिलगढ़ीस्थित पार्टी कार्यालयमा पत्रकारहरूलाई सम्बोधन गर्दै विष्टले भाजपाका वरिष्ठ नेता एवं राज्यसभा सांसद स्वामीको ट्वीटले दार्जीलिङ पहाड़को स्थायी राजनीतिक समाधानका लागि बल पुग्ने बताएका छन्।
यसैबीच उनले भाजपा दार्जीलिङ पहाड़को स्थायी राजनीतिक समाधानका लागि प्रतिबद्ध रहेको र यो पाँच वर्षभित्र समाधान गरेरै छाड़्ने ठोकुवा गरेका छन्।
“दार्जीलिङ पहाड़का लागि स्थायी राजनीतिक समाधानको यो पाँच वर्षभित्र गरेर देखाउने हाम्रो पार्टीले स्पष्ट बताइसकेको छ। हाम्रो पार्टी यसका लागि वचनबद्ध छ। स्थायी राजनीतिक समाधान के हुनेछ, त्यो आउने समयले बताउनेछ”, विष्टले भने।
अर्कोतिर, गोर्खा समुदायका ११ जातगोष्ठीले जनजातिको मान्यता पनि अवश्यै पाउने सांसदको दाबी छ। उनका अनुसार जनजातिको मुद्दामा पनि भाजपा प्रतिबद्ध छ। साथै यसका लागि कार्य पनि भइरहेको छ।
यसैगरी विष्टले आफू दार्जीलिङको मुद्दा विषयमा शीघ्र त्रिपक्षीय वार्ताको पक्षमा रहेको बताए। “मैले स्पष्ट भनिसकेको छु, यस विषयमा अझ ढिल्याइ गरिनु हुँदैन”, उनले थपे, “यदि राज्य सरकार त्रिपक्षीय वार्ता बस्नका लागि तयार छैन भने द्विपक्षीय वार्ता गरिनुपर्ने मैले माग गरेको छु।”
अर्कोतिर विष्टले गोर्खा जनमुक्ति मोर्चा दोस्रो खेमाका अध्यक्ष विनय तामाङमाथि कटाक्ष गरे। साथै विनय तामाङले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको इसारामा राजनीति गरिरहेको बताए।
‘‘पहाड़मा विनय तामाङको कुनै जनाधार नै छैन। 2019 को चुनाउमा उनले आफ्नै पोलिङ बुथ पनि जित्नसकेनन्। ममता ब्यानर्जीले जे भन्छन्, विनय तामाङले त्यै बोल्ने गर्छन्’’, विष्टले थपे, ‘‘यदि तपाईं (विनय तामाङ) साँच्चै गोर्खाल्याण्डका लागि इमानदार हुनुहुन्छ भने ममता ब्यानर्जीलाई भनेर विधानसभा बिल पारित गरी केन्द्र सरकारसमक्ष पठाउन लगाउनुहोस्, बाँकी काम म गर्नेछु।’’
gorkhe xora bhone esto karah hunu porxo 🙏🙏🙏