प्रकाश अधिकारी
गान्तोक, 6 जनवरीः “आगामी चुनाउ शान्ति र अशान्तिबीचको चुनाउ हो। सिक्किमलाई शान्ति नै राख्ने हो भने हामी छौं। अशान्ति बनाउने हो भने ‘गुण्डा पार्टी’ तयार छ। अब सिक्किमलाई शान्ति राख्ने र अशान्ति राख्ने हो जनताले निर्णय गर्नुपर्छ”-मुख्यमन्त्री पवन चामलिङले आइतवार पश्चिम पाण्डाम समष्टिको टीकालाल निरौला उच्चतर माध्यमिक विद्यालयको कौस्तुभ जयन्ती समारोहलाई सम्बोधन गर्दै भनेका हुन्।
उनले भने, “सिक्किम तथा विश्वकै इतिहासमा मान्छे मारेर सरकारमा जान्छु भनेर एउटा पार्टीले जोरथाङबाट घोषणा गरेको छ। यस्तो पार्टीदेखि सिक्किमलाई बचाउनुपर्छ। अब जनताको हातमा 100 दिन समय छ। 100 दिनपछि चुनाउ हुँदैछ। सिक्किमलाई बचाउने हो भने 24 वर्षदेखि शान्ति र सुरक्षा दिने हामी छौं। सिक्किमको शान्ति र सुरक्षालाई बिगार्ने, गुण्डाराज ल्याउने, बाहिरका मानिसको हातमा सिक्किमको सत्ता दिने हो भने अरू पार्टी तयार छन्। यसैले जनता सचेत हुन जरुरी छ।”
मुख्यमन्त्रीले अझ भने, “आजको दिनमा सिक्किममा चुनाउ भयो भने एसडीएफ पार्टीले एउटा सीट पनि हार्दैन। हामी यसै सिलसिलालाई अघि लानेछौं। सानो राज्य भनेर हामीले साह्रो हेपिँदैछ। 32 मा 32 सीट जितेर एसडीएफ पार्टीले यसचोटि देशलाई सन्देश दिनेछ। हामीलाई हेपेको हामी चुनाउमा जवाब दिनेछौं। पार्टी कार्यकर्ताहरू यसका निम्ति तयार भएर बस्नुपर्छ।”
भारतीय नेपाली र सिक्किमलाई हेर्ने केन्द्र सरकार र दिल्लीको दृष्टिकोणमाथि असन्तुष्टि जाहेर गर्दै मुख्यमन्त्रीले अझ भने, “भारतीय नेपाली होस् अथवा हामी सिक्किमे नेपाली-भोटिया-लेप्चा होऊन्, हामीलाई हेर्ने दृष्टिकोण ठीक छैन। मजस्तो मान्छेलाई नेपालको भनेर दाग लगाउने काम हुन्छ। मलाई पनि हेप्दैछ भने अरू आमनागरिकको अवस्था के होला? अब कसैले हेप्न नसक्ने भएर हामी अघि बढ्नुपर्छ। आज हामी कमजोर छौं, त्यसैले हामीलाई तल हेरिँदैछ, हामीलाई हेपिँदैछ। हामीले संयुक्त रूपमा काम गरेर कसैले हेप्न नसक्ने कसरी हुन सकिन्छ, त्यस दिशामा अघि बढ्ने समय आएको छ। हामी जमिन दिएर, आफ्नो देशै दिएर भारतीय भएका हौं, तर हामीलाई यो देशको भागीदारी होइन, चौकीदारको जस्तो व्यवहार गरिँदैछ। हामीलाई यो देशको मालिक होइन, नोकरजस्तो व्यवहार गरिँदैछ। यस्तो अब सिक्किमे जनता र भारतीय नेपालीहरूले सहन गर्नु हुँदैन।”
आगामी चुनाउमा एसडीएफ पार्टीले छैटौंचोटि सरकार गठन गर्ने दाबी गर्दै मुख्यमन्त्री चामलिङले भने, “हामीले सिक्किमे जनताको बुनियादी आवश्यकता पूरा गरेका छौं। अब छैटौंपल्टको सरकारमा सबैभन्दा ठूलो विकास भनेको मानव संसाधनको विकास हुनेछ। हामी मुख्य रूपमा यसै एजेण्डा लिएर चुनाउमा जानेछौं। मानव संसाधनको विकास भनेको समग्र विकास हो। अब यसै समग्र विकास नै हाम्रो मुख्य एजेण्डा हुनेछ।”
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री चामलिङले अन्य केही महत्त्वपूर्ण घोषणाहरू पनि गरे। 15 जनवरीमा उद्घाटन हुने भनिएको राज्यकै सबैभन्दा ठूलो बहुसुविधासम्पन्न अस्पताल 14 जनवरीकै दिन उद्घाटन गरिने उनले जानकारी दिए। गान्तोकस्थित एसटीएनएम अस्पतालदेखि सोकेथाङसम्म जाने दैनिक बसगाड़ीको सङ्ख्या 6 वटा गरिने पनि उनले अवगत गराए। यो बससेवा निःशुल्क हुने बताइएको छ।
उल्लेखनीय छ, सोकेथाङ अस्पतालसम्म जान चारवटा बस दैनिक रूपमा उपलब्ध गराउने राज्य सरकारले अघिबाटै घोषणा गरिसकेको छ। सोही दिन राज्यको पहिलो सरकारी चिकित्सा महाविद्यालयको पनि शिलान्यास गरिने उनले बताए। दशौं श्रेणीदेखि उँभोका सरकारी विद्यालय, महाविद्यालय र विश्वविद्यालयमा पढ्ने सबै विद्यार्थीलाई आगामी 16 जनवरीदेखि शुरु हुने जनता मेलामा ल्यापटप प्रदान गर्ने पनि उनले जानकारी दिए।
यसरी नै राज्यका निजी महाविद्यालय र विश्वविद्यालयमा पढ्ने सिक्किमे विद्यार्थीहरूलाई पनि ल्यापटप वितरण गरिने भएको छ। स्वयं सहायता समूह (एसएचजी)-हरूलाई पनि ल्यापटप वितरण गरिनेछ। 12 जनवरीमा सम्पन्न हुने सरकारी रोजगार मेलामा 20 हजार सिक्किमे परिवारलाई रोजगार प्रदान गर्ने जानकारी दिँदै उनले कोही परिवार छुटेको खण्डमा सो परिवारका एक सदस्यलाई फरवरीको पहिलो साता नोकरी प्रदान गर्ने बताए। “फरवरीभित्र सिक्किमको एउटा पनि घर सरकारी नोकरीविहीन घर हुनेछैन”-मुख्यमन्त्रीले भने।
क्षेत्र विधायक गोपाल बराइलीले राखेका केही मागमाथि सुनवाइ गर्दै मुख्यमन्त्री चामलिङले भने, “पाण्डाम क्षेत्रमा विज्ञान महाविद्यालय स्थापना गर्नुपर्छ भन्ने माग आएको छ। तर म यहाँ विज्ञान महाविद्यालय हुन्छ कि अथवा अन्य कुनै महाविद्यालय हुन्छ, त्यसको सटीक घोषणा गर्न सक्दिनँ, तर पाण्डाममा आगामी शैक्षिक सत्रदेखि नै कुनै न कुनै एउटा महाविद्यालय शुरु हुनेछ।”
क्षेत्रका 12 जना युवालाई क्षेत्रमै लाइनम्यानका रूपमा नियुक्ति दिने उनले घोषणा गरे। कार्यक्रममा क्षेत्र विधायक बराइलीले पनि सम्बोधन राख्दै क्षेत्रमा एसडीएफ सरकारमा विकासका कार्यहरू तीव्र गतिमा भइरहेको दाबी गरे।