दार्जीलिङका स्कूलहरूमा व्यापक धाँधली? निमुखा जनताको नाममा पोस्टर

0
1925
चोकबजारमा टाँसिएको पोस्टर।

दार्जीलिङ, 22 फरवरी दार्जीलिङको चोकबजारमा आज बिहानै निमुखा जनताको नाममा व्यापक पोस्टरिङ गरियो, जसमा दार्जीलिङका स्कूलहरूले शिक्षालाई व्यवसाय बनाइरहेको आरोप लगाइएको छ।

यसको विरोधमा समग्र जनतालाई सचेत बन्ने आह्वान गर्दै प्रशासनले पनि यसमाथि उचित हस्तक्षेप गर्नुपर्ने पनि माग उठाइएको छ।

‘गोर्खाल्याण्डको नाम फलाक्ने नेताहरू यस्तो विषयमा किन बोल्दैनन्? पोस्टरमा उल्लेख गरिएको छ, ‘जनताको पैसा थुत्ने कार्य बन्द नगरे सारा जनता सड़कमा ओर्लिनेछ। साथै कुनै अप्रिय घटना घटेमा जनता जिम्मेवार छैनन्।’

‘सारा दार्जीलिङे निमुखा जनता’-को नाम गरेर टाँसिएको एउटा पोस्टरमा भनिएको छ, ‘गोर्खाल्याण्डको नाममा पैसा बटुल्ने नेताहरूका नानीहरूको पढ़ाइ भारतका कुनै पनि प्रान्तमा हुनसक्छ वा विदेशमा पनि हुनसक्छ। तर, खटिखाने निमुखा जनताले आफ्ना नानीहरूलाई कसरी शिक्षा दिने?’

पोस्टरमा दार्जीलिङका प्रत्येक स्कूलहरूमा व्यापक धाँधली वा व्यवसाय चलिरहेको आरोप लगाइएको छ। स्कूल ब्यागदेखि जुत्ता, पेन्ट, टाई, पीटी युनिफर्म, मोजा आदि सबै स्कूलमा नै किन्नुपर्ने बाध्यता बनाइरहेको बताइएको छ।

यसैले अब दार्जीलिङका जनता सचेत बनेर अघि आएर यसप्रकारको धाँधलीको विरोध जनाउनुपर्ने पोस्टरमार्फत आह्वान गरिएको छ।

उल्लेखनीय छ, दार्जीलिङ पहाड़मा वर्ष 2020-को शैक्षिक सत्र भर्खरै शुरु भएको छ। यसैले हाल विभिन्न श्रेणीमा विद्यार्थीहरूको नयाँ भर्ना चलिरहेको छ।

यसै भर्नाको क्रममा स्कूलहरूले व्यवसाय गरिरहेको पोस्टरमा आरोप लगाइएको छ, जसमध्ये एउटा पोस्टरमा अभिभावकहरूले खाई नखाई आफ्ना छोरा-छोरीलाई पढ़ाउने गरेको बताउँदै स्कूलहरूले त्यस्ता अभिभावकहरूको पैसा धुत्ने कार्य गरिरहेको पनि आरोप लगाइएको छ।

यसरी नै एउटा अर्को पोस्टरमा पहाड़का जनतालाई गोर्खाल्याण्डको आशा नदेखाउने अपील गर्दै पहाड़का जनतालाई शिक्षा, बाटो, बिजुली-बत्ती, पानी, विश्‍वविद्यालय, ल कलेज, मेडिकल कलेज चाहिएको पनि बताइएको छ।

यस्ता विषयमा पहाड़का नेताहरूले बोल्नुपर्ने अनि नबोलेको खण्डमा भावी सन्तानले यस्ता नेताहरूलाई थुक्नेछन् भन्ने पनि उल्लेख गरिएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here