शेर्पा विकास बोर्डद्वारा पाँचौं स्थापना दिवस पालन, चारजना पर्वतारोही सम्मानित

0
1617

दार्जीलिङ, 22 फरवरीः पश्चिम बङ्गाल शेर्पा विकास बोर्डले आफ्नो पाँच वर्षे कार्यकालअवधि तीन हजार घर निर्माण गर्नका साथै 12 वटा रात्री स्कूल पनि सञ्चालन गरिरहेको बताएको छ।

आज स्थानीय चौरस्तामा बोर्डको पाँचौं स्थापना दिवस समारोहको अवसरमा बोर्ड अध्यक्ष निमा वाङ्दी शेर्पाले यो जानकारी गराएका हुन्।

‘‘पाँच वर्षको अवधिमा शेर्पा विकास बोर्डले तीन हजार गरीब मानिसका घर निर्माण गरिसकेको छ, 12 वटा सार्वजनिक भवन, 12 वटा रात्री स्कूलको स्थापना गरिसकेको छ’’, उनले थपे, ‘‘यति मात्रै होइन, शेर्पा विकास बोर्डले हाल 16 जना विद्यार्थीलाई राइसमा डब्ल्यूबीसीएसको शिक्षा प्रदान गराउने कार्य पनि गरिरहेको छ।’’

यसका साथै पर्वतारोहणको समय विभिन्न दुर्घटनामा परेका 21 जना पर्वतारोहीका परिवारलाई एक-एक लाख रुपियाँको आर्थिक सहयोग पनि प्रदान गरिसकेको अध्यक्ष शेर्पाले बताए।

उनका अनुसार शेर्पा विकास बोर्डले आउँदा दिनहरूमा विकासका कार्यहरूलाई थप तीव्रता दिने योजना छ।

विविध सांस्कृतिक अनि साङ्गीतिक कार्यक्रमबीच सम्पन्न यस स्थापना दिवस समारोहमा नेपालबाट पनि शेर्पा समुदायका धेरै मानिस आएका थिए भने यसै अवसरमा चारजना पर्वतारोहीरलाई पनि सम्मान जनाइयो, जसमध्ये एकजना निमदोर्जी शेर्पा पनि सामेल थिए।

निमदोर्जी शेर्पा एक यस्ता पर्वतारोही हुन्, जसले पर्वतारोहीहरूका लागि माउन्ट एभरेस्टमा बाटो बनाइदिएका थिए। उनी स्वयंले पनि हालसम्म 10 पटक माउन्ट एभरेस्टको सफलतापूर्वक आरोहण गरिसकेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here