दार्जीलिङ नगरपालिकाको चुनाउ भए हाम्रो जीत निश्चितः विनय

0
1470

दार्जीलिङ, 22 फरवरीः दार्जीलिङ नगरपालिकाको चुनाउ सम्पन्न भए आफ्नो पार्टीको जीत निश्चित रहेको गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) दोस्रो खेमाका अध्यक्ष विनय तामाङले दाबी गरेका छन्।

जलपाइगढ़ी सर्किट बेञ्चले आउँदो 30 अप्रेलसम्म दार्जीलिङ नगरपालिकाको चुनाउ नगराउने दिएको निर्देशबारे सोधिएको एक प्रश्नको उत्तरमा तामाङले यो मुद्दा अदालतमा रहेकोले यसबारे केही भन्न नसकिने बताए।

तरै पनि चुनाउको बाटो खोलिए दार्जीलिङ नगरपालिकाको चुनाउमा आफ्नो पार्टीको जीत निश्चित हुने विषयमा आफू आशावादी रहेको उनले बताए। न्यायालयले यस मुद्दामाथि आगामी सुनवाईका लागि 24 अप्रेलको दिन निर्धारित गरेको छ।

यदि यसदिन अदालतले दार्जीलिङ नगरपालिकाको चुनाउमाथि स्थगनादेश जारी राख्छ राखेकामा आफ्नो भन्नु केही नरहेको बताउँदै चुनाउको बाटो खुल्ला भए पार्टी पूर्णरूपले तयार रहेको उनले बताए।

“हाल दार्जीलिङ पहाड़का जनताले सत्य कुराहरू बुझिरहेका छन्। बिस्तारै उनीहरूले गोजमुमोमा विश्वास देखाउन शुरु गरेका छन्”, विनयले थपे, “यसैले दार्जीलिङ नगरपालिकाको चुनाउ भए हाम्रो जीत निश्चित छ।”

उल्लेखनीय छ, 29 मई 2019-का दिन दार्जीलिङ नगरपालिकाका 17 जना नगरपार्षद्हरूले तत्कालीन नगरपालिका अध्यक्षा प्रतिभा तामाङको विरोधमा अविश्वास प्रस्ताव ल्याउने माग गर्दै एक पत्र दिएका थिए।

अविश्वास प्रस्तावको मागलाई लिएर त्यसदिन दार्जीलिङमा केही क्षण तनाउ सिर्जना भएको थियो भने केही नगरपार्षद्विरुद्ध मुद्दासमेत लागेको थियो।

अविश्वास-प्रस्तावको माग गर्ने ती नगरपार्षद्हरू त्यसै दिनदेखि दार्जीलिङबाट बेपत्ता बनेका थिए भने केही दिनपछि दिल्लीमा भाजपाको झण्डा समातेका थिए।

यद्यपि 17 नगरपार्षदमध्ये अनुपहाङ सुब्बा र गणेश सार्की पुनः विनयपन्थी मोर्चामै फर्केका छन्, जसको कारण अहिले दुवैपक्षमा 15-15 नगरपार्षद् भएका छन्।

अर्कोतिर, भाजपामा सामेल भएका 15 जना नगरपार्षद्ले दार्जीलिङ नगरपालिकाको बोर्ड भङ्ग गरी राज्य सरकारले प्रशासक नियुक्त गरिएको विरोधमा 26 जुलाईका दिन उच्च न्यायालयमा एक रिट याचिका दर्ता गरेका थिए।

यसै याचिकाको सुनवाई गत 20 फरवरीको दिन जलपाइगढ़ी सर्किट बेञ्चमा भएको थियो, जसमा न्यायालयले यस मुद्दामाथि आगामी सुनवाइको मिति 24 अप्रेल निर्धारित गरेको छ भने 30 अप्रेलसम्म दार्जीलिङ नगरपालिकाको चुनाउ नगराउने पनि निर्देश दिएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here