स्थायी राजनीतिक समाधान के हो? माग्नेहरू नै अन्योलमा छन् : डा. हर्क

0
1339
हर्कबहादुर छेत्री (फाइल फोटो)।

कालेबुङ, 22 फरवरीः दार्जीलिङ पहाड़को स्थायी राजनीतिक समाधानबारे यहाँका जनता मात्र होइन तर यसको माग गरिरहेका नेतृत्वहरूसमेत अन्योलमा रहेको जनआन्दोलन पार्टी (जाप)-का अध्यक्ष डा. हर्कबहादुर छेत्रीले दाबी गरेका छन्।

उनका अनुसार स्थायी राजनीतिक समाधान के हो भन्नेबारे कसैलाई थाहै छैन।

“स्थायी राजनीतिक समाधान के हो, त्यो स्पष्ट हुनुपर्छ। न दिनेले यो हो भनिरहेको छ। न त माग्नेहरूले नै ‘हामीले स्थायी राजनीतिक समाधानको रूपमा यो कुरा मागेका हौं’ भन्न सकिरहेका छन्”, छेत्रीले जनसंवादसँग टेलिफोनिक कुराकानी भने, “मनमा स्थायी राजनीतिक समाधान गोर्खाल्याण्ड हो भनेर हुँदैन। मुखले स्पष्ट रूपमा भन्न सक्नुपर्छ।”

जाप अध्यक्षले भाजपा र यसका घटक दलहरूले ‘स्थायी राजनीतिक समाधान’ भनेर जनतालाई दिग्भ्रमित पार्ने काम गरिरहेको पनि आरोप लगाए।

डा. हर्कका अनुसार राजु विष्ट गोर्खाल्याण्डको नाममा चुनाउ जितेर सांसद बनेका हुन्। यसैले स्थायी राजनीतिक भनेर जनतालाई छल्ने काम गर्नु हुँदैन।

“सांसद विष्टले संसदमा स्थायी राजनीतिक समाधान गोर्खाल्याण्ड हो भनेर स्पष्टसँग माग राख्न सक्नुपर्छ। किनभने उनले भोट जितेकै गोर्खाल्याण्डको नाममा हो”, जाप प्रमुखले थपे, “हामीले गरेको आन्दोलन हाम्रो परिचय सङ्कटलाई समाधान गर्नका लागि हो। किनभने हामीले देशले दोस्रो दर्जाका नागरिकजस्तै गर्छ। यसैले गोर्खाल्याण्ड मात्र हाम्रो स्थायी राजनीतिक समाधान हो। तर, न दिने गोर्खाल्याण्ड हो भनेको छ, न त माग्नेहरूले हामीलाई गोर्खाल्याण्ड दिनुपर्छ भनेर भन्न सकिरहेका छन्।”

अर्कोतिर, भाजपा नेता सुब्रमण्यम स्वामीले गोर्खाल्याण्ड युनियन टेरिटोरीसम्बन्धमा गरेको ट्वीटलाई  सांसद राजु विष्टले गरेको ‘समर्थन र स्वागत’-माथि पनि डा. हर्कबहादुर छेत्रीले कटाक्ष गरेका छन्।

उनले भने, “राज्यसभा सांसद सुब्रमण्यम स्वामीको ट्वीटलाई सांसद विष्टले समर्थन गर्छु भन्नु हास्यास्पद कुरा हो। दक्षिण भारतमा बस्ने राज्यसभा सांसद सुब्रमण्यम स्वामीले हाम्रो माग थाह पाइसके, तर प्रतिदिन यहाँका गाउँ घर घुम्ने हाम्रै सांसदलाई दार्जीलिङ पहाड़वासीको माग थाह नहुनु हास्यास्पद कुरा हो। सबैभन्दा अचम्मको कुरा त उनले चुनाउ जितेकै यही मुद्दाले हो।”

छेत्रीले भाजपाले पुनः स्थायी राजनीतिक समाधानको नाममा दार्जीलिङ पहाड़वासीलाई धोका दिनलागेको बताए।

“यसभन्दा अघि पनि दीर्घलम्बित माग भन्यो। अहिले स्थायी राजनीतिक समाधान भन्दैछ। त्यसै त दार्जीलिङमा थुप्रै समस्या छन्, भरै ती समस्याहरू देखाएर केही फण्ड बढ़ाएर अहिलेकै व्यवस्थामा भुलाएको खण्डमा के हुनेछ?”, छेत्रीले प्रश्न गरे।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here