सिङ्ताम चियाकमान पनि बन्द, 850 श्रमिक-कर्मचारी बिचल्लीमा

0
1577

दार्जीलिङ, 24 फरवरीः सिङ्ताम चियाकमानका 850 जना श्रमिक-कर्मचारीको भविष्य फेरि अनिश्चित बनेको छ। अहिलेघरी दार्जीलिङ पहाड़मा एकपछि अर्को गरी चियाकमानहरू अचल बन्दै गइरहेका छन्।

सिङ्ताम चियाकमान पनि आजदेखि यस्तै अचलावस्थाको शिकार बनेको छ।

हिजो अपराह्न करिब 3 बजेतिर सिङ्ताम रिसोर्टका इञ्चार्जसँगै अन्य दुई सह-प्रबन्धकले मालिकपक्षले दार्जीलिङका सह-श्रमायुक्तलाई पठाइएको एउटा पत्रको प्रतिलिपि टाँसेर चियाकमान छोड़ेपछि यस चियाकमानका श्रमिक-कर्मचारीहरूको भविष्य अनिश्चित बनेको हो।

प्रबन्धकद्वयले उक्त पत्रको प्रतिलिपि टाँसिराखेर चियाकमान छोड़ेपछि आज चियाकमानमा  न साइरन बज्यो न त श्रमिकहरू नै आ-आफ्नो मेलोमा गए।

उक्त पत्रमा पछिल्लो वर्ष श्रमिकहरूले एकजना प्रबन्धकमाथि अभद्र व्यवहार गरेको बताउँदै चारजना श्रमिकलाई कामबाट बहिष्कार गरिएको उल्लेख गरिएको छ। जसको कारण ती प्रबन्धकले 31 दिसम्बर 2019-का दिन आफ्नो पदबाट राजीनामा दिनपरेको बताइएको छ।

त्यसैगरी नै 17 फरवरी 2020-को दिन फेरि अर्का एक सह-प्रबन्धकले पनि काम छोड़ेको पत्रमा उल्लेख गरिएको छ।

यति मात्रै होइन, गत 19 फरवरीदेखि स्थानीय श्रमिक सङ्गठनहरूले चियाकमानमा अवस्थित रिसोर्ट र कमानका निर्देशकको बङ्लोमा काम गर्ने 8 जना श्रमिक र 3 जना गाड़ी चालकलाई काम गर्न नदिएको पनि आरोप लगाइएको छ।

यी सबै कारणले गर्दा नै चियाकमान मालिक र प्रबन्धनपक्षले आफूहरूलाई चियाकमानबाट अलग गराउन परेको पनि पत्रमा उल्लेख गरिएको छ।

यसबारे विनय तामाङपन्थी गोजमुमोको श्रमिक सङ्गठन दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियन (डीटीडीपीएलयू) सिङ्ताम शाखाका अध्यक्ष अनुक तामाङसित सोध्दा उनले यस चियाबगानमा मालिकपक्षबाट अत्याचार भइरहेको आरोप लगाए।

“यहाँका श्रमिकहरूले अझै पनि पन्ध्र-पन्ध्र दिनमा दिने दुईचोटिको रोजी पाएकै छैनन्। यति मात्र होइन, त्रिपक्षीय सम्झौताअनुसारका रहल 8 प्रतिशत बोनस पनि श्रमिकहरूले पाएका छैनन्। जुन रहल बोनस दिसम्बर महिनाभित्र नै पाउनु पर्नेथियो”, उनले भने।

आज सिङ्ताम चियाकमानका प्रबन्धकहरूले चियाकमान छोड़ेको साथै कमानमा कुनै काम नभएको जानकारी पाउनसाथै डीटीडीपीएलयूका नेताद्वय जेबी तामाङ र भरत ठकुरी सिङ्ताम चियाबगान पुगेका थिए।

उनीहरूले चियाकमानको वर्तमान स्थितिबारे जानकारी लिएको दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियनका सिङ्ताम शाखा समितिका सल्लाहकार विनय राईले जानकारी गराएका छन्।

“भोलि सबै श्रमिक सङ्गठनले चियाकमान सम्पूर्ण श्रमिक-कर्मचारीहरूलाई लिएर एक सभा गर्ने भएका छन्”, राईले भने, “जसमा चियाश्रमिकहरूको इच्छाअनुसार, आगामी पदक्षेप ग्रहण गर्ने युनियनको योजना छ।”

उल्लेखनीय छ, चियाश्रमिकहरूका विविध समस्या विषय लिएर भएको विवादको कारण गत वर्षको अक्टोबर महिनामा चियाश्रमिकहरू आफै चियाबगान जान बन्द गरेका थिए। त्यसबेला चियाश्रमिकहरूले 24 दिन काम नै गरेका थिएनन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here