कालेबुङ, 25 फरवरीः मङ्गलवार बिहान बाघपुलबाट टिस्टामा हाम फालेर एक महिलाले आत्महत्या गरेकी छन्।
सेवक थानाका ओसी दालिम अधिकारीले जानकारी गराएअनुसार आज बिहान करिब 10.30 बजे एक महिलाले पुलबाट टिस्टा नदीमा हाम फालेर आत्महत्या गरेकी हुन्।
प्रत्यक्षदर्शीहरूले घटनाबारे सेवक थानामा सूचित गरेपछि तत्कालै पुलिस बल उद्धार टोलीसँग बाघपुल पुगेर खोजीकार्यमा जुटेको थियो। जसको फलस्वरूप पुलबाट केही तल टिस्टा नदीबाट ती महिलाको शव बरामद गरिएको पुलिसले बताएको छ।
सेवक पुलिसका अनुसार महिलाको परिचय पाइएको छैन। शवलाई पोस्टमर्टमका लागि उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पताल पठाइएको छ।
उल्लेखनीय छ, पछिल्लो 27 जनवरीको साँझ डुवर्सको दुम्सीपाड़ास्थित 12 नम्बरनिवासी शिलास राउतियाले टिस्टा पुलबाट हाम फालेर आत्महत्या गरेका थिए, जसको शव करिब दुई सातापछि 11 फरवरीका दिन 27 माइलस्थित बाँधबाट बरामद गरिएको थियो।