दार्जीलिङ, 25 फरवरीः गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) जनचेतना सङ्घर्ष समितिले जीटीएअन्तर्गत् क्षेत्रमा प्रधानमन्त्री ग्राम सड़क योजनामा व्यापक भ्रष्टाचार र लापरवाही भइरहेको आरोप लगाएको छ।
साथै पीएमजीएसवाईमा भइरहेको भ्रष्टाचारलाई केन्द्रबाट तर्फबाट जाँच गरिनुपर्ने तथा सड़कको गुणस्तरीय निर्माण नगरेमा केन्द्र सरकारले कोषसमेत रोक्नुपर्ने माग गरेको छ।
समितिका अध्यक्ष मञ्जिला तामाङका अनुसार जनचेतना सङ्घर्ष समितिले यो विषयमा सांसद राजु विष्टलाई लिखित रूपमा अवगत गराइनेछ।
स्थानीय मानिसहरूको अनुरोधमा रिम्बिक-लोधोमा समष्टिअन्तर्गत् सुके मानेभञ्ज्याङदेखि रिम्बिक हुँदै बैशाखेसम्म पीएमजीएसवाईअन्तर्गत निर्माण गरिएको सड़कको निरीक्षण गरेको थियो।
उक्त बाटो अधकल्चो निर्माण गरिएको पाएपछि समितिले जीटीए र सम्बन्धित ठेकादारमाथि प्रश्न उठाउनका साथै सड़क निर्माणमा भएको भ्रष्टाचार र लापरवाहीको केन्द्रिय जाँच हुनुपर्ने माग गरेको हो।
समितिकी अध्यक्ष मञ्जिला तामाङका अनुसार अत्यन्त लापरवाहीपूर्ण बाटोको निर्माण गरिएको छ। सड़क निर्माणमा व्यापक भ्रष्टाचार भएकै कारण तीन महिना नबित्दै यस ठाउँ-ठाउँमा भत्किन शुरु गरेको छ। धेरै ठाउँ अलकत्रा उप्केर खाड़ल बनेको छ।
उनका अनुसार करिब 33 किलोमिटर लामो यो सड़कको लागत खर्च 19 करोड़ 74 लाख 81 हजार हो। दार्जीलिङको दिव्यशक्ति कन्स्ट्रक्शनले यस सड़कको निर्माण गरेको हो।
सड़क निर्माणको गुणवत्तामाथि प्रश्न गर्दै उनले भनिन्, “2018 देखि यस सड़कको निर्माणकार्य शुरु भएको हो। तर काम गुणस्तरीय भएको छ। व्यापक भ्रष्टाचार र लापरवाही भएको छ।”
उनले थपिन्, “जीएसपी 6 इञ्च र मेटल 4 इञ्चको लगाउनुपर्ने थियो। तर, एक इञ्चको पनि लगाएको छैन। स्टिमेटअनुसार कामै भएको छैन। कन्भर्ट पनि 5 वटा मात्र बनिएका छन्।”
यसैबीच, उनले रहल कन्भर्ट र नालाको पैसा कहाँ गयो भन्ने प्रश्न पनि गरेकी छन्। विशेषगरी राम्रोसँग अलकत्रा पेलाइ नगरेको र नाला नबनाएको कारण नै सड़क ठाउँमा खाड़ल परिसकेको छ।
अर्कोतिर, उनले यस सड़क मात्र होइन। तर, जीटीएअन्तर्गत् पीएमजीएसवाईको सड़कमा यस्तै भ्रष्टाचार र लापरवाही भइरहेको पनि आरोप लगाइन्।
उनका अनुसार पीएमजीएसवाईका सड़क निर्माणमा भइरहेका भ्रष्टाचार र लापरवाहीमा जीटीए जवाबदेहिता हुनुपर्छ।
“जीटीएले चौकीमा बस्ने र ठेकादारहरूका लागि मात्र कोष ल्याएर टालटुले काम गरिरहेको छ। विकासका लागि आएको पैसाले गोजी भर्ने काम मात्र गर्नु हुँदैन”, तामाङले थपिन्, “जीटीएका मुख्य सचिवले यस सड़कको निर्माणकार्यको निरीक्षण गर्नुपर्छ। सड़क निर्माणकार्यमा जीटीए जवाबदेहिता हुनुपर्छ।”