1.85 करोड़मा निर्माणाधीन पुरानो सुपर मार्केट, पानी चुहेर बेहाल

0
1740

दार्जीलिङ, 26 फरवरीः 1 करोड़ 85 लाख रुपियाँको लागतमा भर्खरै मरम्मती गरिएको साथै छाना फेरिएको पुरानो सुपर मार्केटका दोकानहरूमा अझै पानी पस्दैछ।

जसको कारण यस पुरानो सुपर मार्केटका दोकानेहरूले महासङ्कटको सामना गर्न परिरहेको यहाँका एक दोकानदार रिबेर घतानीले बताएका छन्।

टेण्डर स्वीकृत भएको 120 दिनभित्र पुनर्निर्माणकार्य समाप्त भइसक्नु पर्नेथियो, तर यहाँको निर्माणकार्य अझैसम्म पूर्ण भइसकेको छैन। यसैकारण यहाँ पानी पर्दा दोकानदारहरू दोकानभित्रै छाता ओड़ेर बस्नुपर्ने अवस्था छ।

उनले भने, “पुरानो सुपर मार्केटको अवस्था जीर्ण बनेपछि यसको मुख्यरूपले छाना फेर्नुपर्ने अवस्था आएको कारण यस मार्केटका दोकानेहरूले लगातार दार्जीलिङ नगरपालिकामा गुनासो गरेका थिए। जसको फलस्वरूप 20 दिसम्बर 2018-का दिन यो पुरानो सुपर मार्केटको सिमेन्टेड छप्परलाई हटाएर च्यादरको छप्पर लगाउने, वरिपरि मरम्मति गरिने कार्य अझै चलिरहेको छ।’’

तर, छप्पर पुरानो छप्पर हटाएर नयाँ च्यादरको छाना लगाउँदा केही ठाउँ छोड़िएको कारण त्यसै ठाउँबाट पानी छिरेर सुपर मार्केटका दोकानहरू जलथल बनिरहेको उनले बताएका छन्।

घतानीका अनुसार 20 दिसम्बर 2018-का दिन सुपर मार्केटको मरम्मती कार्यको टेण्डर भएको थियो। 14 दिनपछि उक्त टेण्डर स्वीकृत पनि भएको हो।

“टेण्डर लिएको 120 दिनभित्र यहाँको काम पूरा भइसक्नु पर्नेथियो। तर, आज एक वर्षभन्दा पनि अधिक समय बितेर जाँदा पनि यसको मरम्मती कार्य पूरा भएको छैन’’, उनले थपे, “फलस्वरूप धेरैवटा दोकान वा कार्यालय पुनः सुपर मार्केटमा नै फर्किनसकेका छैनन् भने केही सञ्चालनमा रहेका दोकान आदि पनि पानी पर्दा जलथल हुनथालेका छन्।’’

जसको कारण गत वर्षको बर्खामा मात्रै आफ्नो दोकानको करिब 60 हजार मूल्य बराबरको सम्पत्ति नष्ट भएको उनले बताए।

उल्लेखनीय छ,  जीटीए अनि दार्जीलिङ नगरपालिकाले केही वर्षअघि नै यो पुरानो सुपर मार्केटलाई भत्काएर पुनर्निर्माण गर्ने निर्णयलाई फिर्ता लिएको थियो।

केही वर्षअघि तत्कालीन जीटीए प्रशासनले यस भवनलाई पूर्णरूपले भत्काएर नयाँ बनाउने निर्णय लिएको थियो।

तर, जीटीएको उक्त निर्णयलाई यस सुपर मार्केटमा वर्षौंदेखि दोकान चलाएर जीवन धान्ने करिब 400 दोकानेले कठोर विरोध जनाएका थिए। यसपछि जीटीएले यो भवनलाई पूर्णरूपले भत्काउने आफ्नो निर्णयमा परिवर्तन गरेको थियो।

त्यसै समय यस भवनको सिमेन्टको छानालाई हटाएर हल्का टीनको छाना लगाए उचित हुने पनि निर्णय भएको थियो।

दार्जीलिङ नगरपालिकाको पूर्व बोर्डले पनि पुरानो सुपर मार्केटलाई भत्काएर पुनः निर्माण गर्ने कुनै योजना नरहेको बताउँदै यो भवन जोखिमपूर्ण अवस्था नपुगेको बताएको थियो।

यद्यपि, यसको छप्पर मात्रै डरलाग्दो अवस्थामा पुगेको कारण यसको छप्परलाई भत्काएर हल्काप्रकारको छप्पर लगाउने बताएको थियो।

स्मरणरहोस्, 70-को दशकमा निर्माण भएको पुरानो सुपर मार्केटमा 188 वटा कोठा छन्। तर, यस भवनमा करिब 400 वटा दोकान, कार्यालय आदि छन्।

विगतमा यसको भुइँतलामा कार पार्किङको व्यवस्था थियो भने अहिले यो भुइँतला दोकानहरूमा नै परिणत भइसकेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here