तारखोलास्थित 10 माइलमा घर जलेर खरानी

0
2265

कालेबुङ, 27 फरवरीः रम्फू थानाअन्तर्गत पर्ने तारखोलाको 10 माइलनिवासी अरुण सुब्बाको घर जलेर पूर्ण रूपले खरानी भएको छ।  जानकारीका अनुसार आज बिहान करिब 11.30 बजे सुब्बाको घरमा आगो लागेको हो।

घटनाको समय परिवारका एकैजना सदस्य पनि घरमा नभएका कारण घरका एउटै पनि सामान निकाल्न नपाएको बताइएको छ। काठ र चित्राको घर भएकोले आगो तीव्र रूपले फैलिएको थियो।

जानकारीका अनुसार पीड़ित अरुण सुब्बा पेशाले चालक हुन्। उनी गाड़ीको कामले सिलगढ़ी गएका थिए। उनकी पत्नी मुन्ना सुब्बा गाउँकै विवाहमा काम सघाउन गएकी थिइन् भने दुई नानी स्कूल गएका थिए।

घटनाबारे थाह पाएपछि छिमेकीहरूले आगो निभाउन सक्दो कोशिश गरे तापनि उनीहरू सफल भएनन्। त्यस्तै आगो निभाउनका लागि दमकल घटनास्थलमा आइपुग्दासम्म घर पूर्ण रूपले जलेर खरानी भइसकेको थियो।

यो घटनापछि सुब्बा परिवार बेघर बनेका छन्। घरमा रहेका अत्यावश्यक कागज-पत्र, सरसामान, नगद रुपियाँ र गरगहना सबै खरानी भएको ठूलो क्षति बेहोरेका छन्।

आगो के कारण लाग्यो भन्नेबारे निश्चित टुङ्गो नलागे तापनि 10 माइलमा क्षेत्रमा बाँदरले अत्यधिक उपद्रो गर्ने गरेकोले देवता थानमा बालेको दीयोलाई लड़ाइदिएको कारण नै आगो सल्केको हुनसक्ने अनुमान लगाइएको छ।

किनभने सुब्बा परिवारले दैनिक पूजास्वरूप देवता थानमा दीयो बाल्ने गर्थे। यसैले बाँदर घरभित्र पसेर दीयो लड़ाएकै कारण आगो लागेको अनुमान गरिएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here