सिलगढ़ी, 27 फरवरीः पुलिसको हिरासतमा एक आरोपीको मृत्यु भएपछि बिहीवार मतिगढ़ामा अबेर साँझसम्म तनाउ सिर्जना भएको थियो।
जानकारीका अनुसार मदिरा बेचेको आरोपमा मतिगढ़ा पुलिसले बुधवार अपराह्न बेचेन राय नामक व्यक्तिलाई पक्रेर थाना लगेको थियो।
साँझपख बेचन राय बिरामी भएको पुलिसमार्फत् परिवारले सूचना पाए। पछि रायलाई मतिगढ़ा ब्लक अस्पताल लगिएको थियो, जहाँ उपचारअवधि उनको मृत्यु भयो।
आज यसैको विरोधमा परिवारलगायत गाउँलेहरू थाना अघि विक्षोप प्रदर्शन गर्नका साथै दोषी पुलिसकर्मीलाई कठोर दण्ड दिने माग गरेका छन्।
यसैबीच मृतकका छोरा राहुल रायले आफ्ना पितालाई हिरासतअवधि पुलिसले निर्ममतापूर्वक कुटपिट गरेकै कारण मृत्यु भएको आरोप लगाएका छन्।
उनले मामिलाको उच्चस्तरीय जाँचसँगै आफ्ना पिताको मृत्युका लागि जिम्मेवार पुलिसकर्मीलाई कठोर सजाय दिनुपर्ने माग गरेका छन्।
अर्कोतिर आज बिहान म्याजिस्ट्रेट जाँचका लागि मतिगढ़ा ब्लक अस्पताल पुगेका थिए।
शवलाई पोस्टमर्टमका लागि उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पताल पठाइएको छ। यद्यपि परिवार, आफन्त र गाउँलेहरूले एम्बुलेन्सलाई रोकेर चर्को विरोध गरेका थिए।
यसैबीच आज साँझपख उनीहरूले यसै घटनाको चर्को विरोध प्रदर्शन गर्दै मतिगढ़ा-झङ्कार मोड चल्ने वाहनहरूलाई केही घण्टा ठप्प बनाएका थिए।
यसअवधि उनीहरूले सड़कबीचमा टायर जलाएर घटनाको विरोध तथा उच्चस्तरीय जाँचको माग गरेका थिए।
यसैबीच, सुरक्षा व्यवस्थालाई ध्यानमा राखेर व्यापक पुलिस-बल खटाइएको थियो।