दार्जीलिङ, 2 मार्चः दार्जीलिङको रक गार्डन र गङ्गामाया पार्क घुम्नका लागि अबउसो शुल्क तिर्नपर्नेछ। आजदेखि यी दुवै पर्यटकीय स्थलमा टिकट लाग्न थालेको हो।
उल्लेखनीय छ, जीटीएको बोर्ड अव् एड्मिनिस्ट्रेशनले 2018 देखि रोहिणी टोल प्लाजामा टोल ट्याक्सलगायत पहाड़का पर्यटकीय स्थलहरूमा रहेको शुल्क प्रणाली (टिकट सिस्टम)-लाई हटाएको थियो।
यद्यपि पछिल्लो वर्षदेखि रोहिणी टोल प्लाजामा टोल ट्याक्सलगायत अन्य पर्यटनस्थलमा शुल्क प्रणाली पुनः शुरु गरेको छ। यी स्थलहरूको उचित रखरखाउका लागि फेरि शुल्क प्रणाली शुरु गरेको बताइएको छ।
यसै क्रममा आजदेखि गार्डन र गङ्गामाया पार्क घुम्नका लागि टिकट शुरु गरिएको हो।
स्मरण रहोस्, जीटीएले दार्जीलिङका मुख्य पर्यटनस्थलहरू क्रमैले रक गार्डन, गङ्गामाया पार्क, जमुने र रोहिणी झीललाई गत वर्षको दिसम्बर महिनादेखि नै पूर्णरूपले सञ्चालनमा ल्याउने योजना बनाएको थियो।
तर, यसमा केही ढिलाइ भए तापनि आजदेखि रक गार्डन र गङ्गामाया पार्कमा टिकट प्रणाली शुरु गरिएको छ।
जसका अनुसार, आजदेखि गङ्गामाया पार्कमा प्रवेश गर्नका लागि प्रतिव्यक्ति 20 रुपियाँ र नौकायानका छुट्टै 50 रुपियाँ प्रतिव्यक्ति शुल्क लाग्ने जीटीएको पर्यटन विभागका सह-निर्देशक सुरज शर्माले जानकारी गराएका छन्।
उनले गङ्गामाया पार्कमा चारवटा नौका केही दिनभित्रै ल्याइने भएको जानकारी गराउँदै यहाँ नौकायान शुरु भए पर्यटकहरू अझै धेर आकर्षित बन्ने आशा गरेका छन्।
उल्लेखनीय होस्, सन् 1988-मा दार्जीलिङ गोर्खा पार्वत्य परिषद्को गठन भएपछि दागोपापका तत्कालीन अध्यक्ष सुवास घिसिङको दिशानिर्देशमा नै दार्जीलिङमा रक गार्डन, गङ्गामाया पार्क, जमुने र रोहिणी झीलआदि पर्यटनस्थल निर्माण गरिएको थियो।
यसका साथै यी पर्यटकस्थलहरूले दार्जीलिङ घुम्न आउने देशी-विदेशी पर्यटकहरूलाई आकर्षित गरिरहेका थिए।
यद्यपि वर्ष 2009-मा आएको भीषण आइलाको चपेटमा परी गङ्गामाया पार्क, रक गार्डन आदिको अवस्था बेहाल बनेको थियो।
तर, विगत केही समयदेखि जीटीएले गङ्गामाया पार्कको सुन्दरीकरणको काम शुरु गरेको थियो, जहाँ निर्मित पोखरीमा चारवटा नौका सञ्चालन गर्ने योजना बनाएको विभागका सह-निर्देशक शर्माले जनाएका थिए।
उनले गङ्गामाया पार्कमा पुरानै 31 जना कर्मचारी रहेको बताउँदै उनीहरूले आ-आफ्ना काम शुरु गरिसकेको पनि जानकारी गराए।
यसैगरी रोहिणीको पोखरीमा रहेका प्वालहरू बुच्याउने तथा यसको मरम्मती कार्य लगभग 90 प्रतिशत पूर्ण भइसकेको पनि बताएका छन्।
यसका साथै गिद्दे पहाड़बाट रोहिणीसम्म चल्ने रोपवेको निर्माण कार्य पनि लगभग 80 प्रतिशत नै पूर्ण भएको उनले जनाए।
उनका अनुसार जमुनेको चिल्ड्रेन पार्कको पनि सफाइ शुरु भएको छ भने एन्थोरियम पार्क, मुगल गार्डन आदिको काम पनि शुरु गरिनेछ।
यसरी नै जमुनेको शिव मन्दिर सञ्चालनको भार एउटा ट्रस्टलाई दिइने निर्णय गरिएको पनि शर्माले बताएका छन्।
उनले थप बताएअनुसार रिभर साइडका चारवटा कटेजलाई पनि पूर्णरूपले सञ्चालनमा ल्याउने योजना तयार पारिएको छ। ताकि यी पर्यटन स्थलहरूबाट केही हदसम्म भए पनि जीटीएका लागि राजस्व सङ्ग्रहसँगै दार्जीलिङ घुम्न आउने पर्यटकहरूले नयाँ पर्यटन स्थलको आनन्द पनि लिन सकुन् भन्ने जीटीएको चाहना सुरज शर्माले बताएका छन्।
उनले गङ्गामाया पार्कमा 31 जना र रक गार्डनमा 21 जना कर्मचारी कार्यरत रहेको जानकारी गराउँदै जमुनेलाई पनि पूर्णरूपले सञ्चालनमा ल्याउन कर्मचारी नियुक्ति प्रक्रिया शुरु भएको बताए।
जमुनेलाई केही साताभित्र पूर्णरूपले पर्यटकहरूका लागि खोलिने निर्णय गरिएको र यसो हुनसकेमा यसबाट पनि जीटीएले केही हदसम्म राजस्व प्राप्त गर्नसक्ने जीटीएको पर्यटन विभागका सह-निर्देशक सुरज शर्माले बताएका छन्।