नगरपालिकाका सफाइकर्मीहरूलाई फर्काउन लगाइयो पैसा, कर्मचारी सङ्गठनले उठायो प्रश्न

0
1216

दार्जीलिङ, 2 मार्चः डेङ्गु उन्मूलन कार्यक्रमअन्तर्गत् पाएको 7,776 रुपियाँ दार्जीलिङ नगरपालिकाका सफाइकर्मीहरूलाई फर्काउन लगाइएको आरोप अघि आएको छ।

जसको विरोध गर्दै यो पैसा किन अनि कसले फर्काउन लगायो भन्ने प्रश्न दार्जीलिङ नगरपालिका कर्मचारी सङ्गठनले गरेको छ।

सङ्गठनको भनाइका अनुसार दार्जीलिङ नगरपालिकाका 200 जना सफाईकर्मीको ब्याङ्क अकाउण्टमा डेङ्गु उन्मूलन कार्यक्रमको प्रतिव्यक्ति 7,776 रुपियाँ पैसा जमा भएको थियो। तर त्यो राशि नगरपालिकाका सुपरभाइजर अर्थात् मुन्सीहरूले फर्काउन लगाएपछि धेरैले यो राशि फर्काएका छन्।

यद्यपि यो राशि कसले अनि किन फर्काउन लगायो, त्यो स्पष्ट हुनपर्ने सङ्गठनको माग छ।

सङ्गठनकी सचिव दीपिका गुरुङले जानकारी गराएअनुसार दार्जीलिङ शहरको मैला उठाउने यी सफाइकर्मीहरूले डेङ्गु उन्मूलन कार्यक्रममा पनि काम गरेको कारण नै उनीहरूको अकाउण्टमा यो आर्थिक सहयोग जमा भएको हो, तर आज सफाइकर्मीहरूका सुपरभाइजर वा मुन्सीहरूले उक्त राशि आ-आफ्ना अकाउण्टबाट निकालेर फर्काउन लगाइरहेका छन्।

“आखिर यो पैसा किन फर्काउनु? यो सफाइकर्मीहरूले गरेको दुःखको फल हो। यसैले यो पैसा जति मुन्सीहरूले फर्काउन लगाएका छन्, त्यो राशि पुनः सफाइकर्मीहरूलाई नै फर्काइदिनुपर्छ”, गुरुङले थपिन्, “यदि यसो नभए आगामी दिनमा सङ्गठनले अझ कठोर पदक्षेप ग्रहण गर्न बाध्य हुनेछ।”

उनले थप भनिन्, “यो पैसाको कुरा हो, यसैले यसबारे हामीले नगरपालिकाका वित्तीय अधिकारीसँग पनि कुरा गरेका थियौं, तर उनले यसप्रकारको अर्डर वा अधिसूचना अहिलेसम्म जारी नभएको बताएका छन्।”

यदि वित्तीय अधिकारीलाई नै यो पैसा सफाइकर्मीहरूले फर्काउनुपर्नेबारे थाह छैन भने यो कसरी हुँदैछ र भयो भन्ने उनको प्रश्न छ।

यसैगरी दार्जीलिङ नगरपालिका कर्मचारी सङ्गठनका उपाध्यक्ष प्रणय शर्माले पनि यसप्रकारको कार्यमाथि सन्देह गरेका छन्।

“यो कार्य केवल मुन्सीको मात्र हो जस्तो लाग्दैन”, उनले शङ्का  व्यक्त गरे,  “मुन्सीले यति ठूलो आँट गर्न सक्तैन। यस्तो कार्य गर्न लगाउने अन्य कोही हुनपर्छ। यसैले यसमाथि पनि सङ्गठनले उचित ध्यान दिनेछ।”

यसैबीच, कुल 7,776 रुपियाँबाट 7,000 रुपियाँ मुन्सीको हातमा फर्काउने सफाइकर्मी रामकुमार ठकुरीले भने, “सुपरभाइजरले यो पैसा फर्काउनु भनेको कारण मैले 7 हजार रुपियाँ ब्याङ्कबाट निकालेर सुपरभाइजरको हातमा दिएँ।”

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here