जोन लेप्चाका हत्यारोपी मोहम्मद जावेद 6 दिनको पुलिस रिमाण्डमा

0
1487
साङ्केतिक तस्वीर।

कालेबुङ, 2 मार्चः कालेबुङ पुलिसले 24 वर्षीय युवक जोन  लेप्चा उर्फ बुद्धका हत्यारोपी मोहम्मद जावेदलाई पक्राउ गरेको छ।

कालेबुङ थानाका आईसी अनिन्दो भट्टाचार्यका अनुसार पक्रा परेका हत्यारोपी मोहम्मद जावेद मूल रूपले बिहार मोतिहारीनिवासी भए तापनि कालेबुङ 11 माइल बस्दै आएका थिए।

आरोपीलाई आज पुलिसले कालेबुङ अदालतमा प्रस्तुत गरेपछि थप अनुसन्धान र केरकारका लागि 6 दिन रिमाण्डमा लिएको छ।

पेशाले पिकभ्यान भ्यान चालक रहेका लोअर समलबुङ सिङ्जीनिवासी जोन लेप्चाको हिजो बिहानै हत्या भएको घटना प्रकाशमा आएपछि कालेबुङ पुलिसले भारतीय दण्ड संहिताको धारा 302 र 201 अन्तर्गत मुद्दा दर्ता गरी हत्याराहरूको खोजीमा जुटेको थियो।

यसैक्रममा पुलिसले हिजो तीनजना युवकलाई केरकारका लागि हिरासतमा लिएको थियो, जसमध्ये मोहम्मद जावेद पनि एक थिए।

केरकारअवधि जावेदले हत्याको अपराधलाई स्वीकारेको पुलिस अधिकारी भट्टाचार्यले बताएका छन्।

उनका अनुसार आरोपीलाई केरकार गरी हत्याको कारण पत्तो लगाउने पुलिसले कोशिश गरिरहेको छ।

जोन लेप्चाको हत्यामा जावेदबाहेक अरू पनि संलग्न छ/छैन भन्ने जान्नका लागि पुलिसले अनुसन्धान र केरकार गरिरहेको छ।

उल्लेखनीय छ, हिजो लोअर बोङबस्ती टारा गाउँस्थित भोटे खोलामा जोन लेप्चालाई मृत अवस्था गाउँलेहरूले भेटेपछि घटनाबारे तत्कालै पुलिसलाई सूचित गरेका थिए।

सूचना पाएपछि घटनास्थलमा पुगेको पुलिसले प्रारम्भिक जाँचमा जोन लेप्चा उर्फ बुद्धको हत्या गरिएको पत्तो लगाएको थियो।

जोनको शिरमा गहिरो चोटको निशान थियो। त्यसपछि धारा 302 र 201 अन्तर्गत मुद्दा दर्ता गरी पुलिसले जाँच कार्य शुरु गरेको थियो।

मृतक जोन लेप्चा लोअर समलबुङनिवासी भए तापनि सानैदेखि लोअर बोङबस्तीस्थित बाजेको घरमा बस्दै आएका थिए।

पारिवारिक सूत्रका अनुसार शनिवार बिहान 10.30 बजे कुनै कामविशेषले घरबाट बाहिर निस्केका थिए भने अचानक जोनको शव भोटे खोलामा बरामद भएको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here