भाजपा नेतृत्वहरूलाई एकपछि अर्को ज्ञापन, कार्यान्वयन कहिले?

0
1239
भाजपाका राष्ट्रिय संयुक्त सचिव शिव प्रकाशलाई ज्ञापन चढ़ाउँदै विमलपन्थी मोर्चा टोली।

दार्जीलिङ, 5 मार्चः आफ्नो वाचा र प्रतिबद्धतालाई पूरा गर्दै यथाशीघ्र गोर्खाहरूको स्थायी राजनीतिक समाधान गर्नका साथै गोर्खा जातिका 11 जातगोष्ठीलाई जनजातिको मान्यता दिनुपर्ने मागमा आज विमल गुरुङपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-को एक टोलीले भाजपाका राष्ट्रिय संयुक्त सचिव एवं बङ्गाल प्रभारी शिव प्रकाशलाई भेटवार्ता गऱ्यो।

उर्मिला रूम्बा, डा. बिनु सुन्दास, अनिल लोप्चन र विनोद खालिङ सम्मिलित रहेको यस टोलीले उल्लिखित दुई माग सम्बन्धमा भाजपाले आफ्नो सङ्कल्प-पत्रमा कबुलेको वाचालाई स्मरण गराउँदै एक ज्ञापन पनि चढ़ाएको छ।

टोलीका सदस्य अनिल लोप्चनले बताएअनुसार भाजपा नेता शिव प्रकाशसँगको भेटवार्ताअवधि टोलीले सङ्कल्प-पत्रमा समावेश गरिएका गोर्खाहरूका यी दुई मुद्दासम्बन्धमा ध्यानकार्षण गराउँदै आफ्नो वाचाअनुसार भाजपाले यथाशीघ्र दुवै मुद्दालाई समाधान गरी गोर्खा जातिलाई न्याय दिनुपर्ने माग गरेको थियो।

यसअवसरमा शिव प्रकाशले दुवै मुद्दामा पार्टीले गृहमन्त्री अमित शाहसँग छलफल गरिरहेको जानकारी गराउनका साथै आउँदा दिनमा यी दुवै मुद्दाको समाधानका लागि सरकारले चाँड़ो पदक्षेप लिने टोलीलाई  अवगत गराएको दाबी गरिएको छ।

उल्लेखनीय छ, यी दुवै मुद्दाको समाधानको मागमा यसै टोलीले पछिल्लो 3 मार्चका दिन भाजपाका राष्ट्रिय महासचिव राम माधवसँग भेटवार्ता गरेको थियो।

विमलपन्थी मोर्चाले भाजपाद्वारा सङ्कल्पित गोर्खाहरूको स्थायी राजनीतिक समाधान र 11 जातगोष्ठीलाई जनजाति मान्यताको मुद्दालाई उठान गर्दै धेरैपटक भाजपाका शीर्षस्थ नेतृत्वहरूलाई ज्ञापन चढ़ाउँदै आइरहेका तापनि आजका दिनसम्म भाजपाले यसबारे कुनै ठोस पहल गरेको छैन।

अर्कोतिर, सांसद निर्चावत भएर संसद छिरेलगत्तै राजु विष्टले पनि संसदभित्र र बाहिर लगातार यी दुवै मुद्दालाई उठाइरहे तापनि अहिलेसम्म कार्यान्वयनमा परिणत भएको छैन। एकप्रकारका आजका दिनमा ज्ञापन दिने र थाप्ने तथा मुद्दा उठाउने र त्यसलाई सुन्ने मात्र कार्य भइरहेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here