शान्ति, एकता र अनुशासन नै विकासको बाटोः विनय

0
1358
सभालाई सम्बोधन गर्दै विनय तामाङ।

दार्जीलिङ, 5 मार्चः शान्ति, एकता, अनुशासन र भाइचाराले नै विकासको बाटो प्रशस्त गर्ने गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) दोस्रो खेमाका अध्यक्ष विनय तामाङले बताएका छन्।

उनका अनुसार पोख्रेबुङ-चामोङ र नागरी-धजे समष्टिमा देखिएका शान्ति र एकताले आज यस्तै सन्देश बोकेको छ।

बिहीवार यी दुईवटा समष्टिका गोरामुमो र विमल गुरुङपन्थी गोजमुमो त्यागेर आफ्नो पार्टीमा सामेल भएका समर्थकहरूलाई सम्बोधन क्रममा नै  विनय तामाङले यसो भनेका हुन्।

आज यस क्षेत्रका गोरामुमो र विमलपन्थी मोर्चाका करिब  150 घर समर्थक विनय तामाङपन्थी मोर्चामा सामेल भएको दाबी गरिएको छ। आफ्नो पार्टीमा नवप्रवेशी यी समर्थकहरूलाई नै सम्बोधन गर्दै पछिल्ला दुई चुनाउमा आफूहरूलाई जनताले भोट नदिए तापनि जनताअघि राखेका वचन पूरा गर्ने दिशामा अलिकति पनि नडगमगाइ अघि बढ़िरहेको दाबी गरे।

‘‘हामी सबैले विगतलाई भुलेर-भविष्य सँगाल्नुपर्छ’’, विनय तामाङले थपे, ‘‘एकता नै विकास ल्याउने फराकिलो बाटो हो। यसैले सबै एक भएर गाउँमा शान्ति स्थापना गरे, विकास नआउने कुरै छैन।’’

तामाङका दाबीका अनुसार विगतमा दार्जीलिङ पहाड़ वा जीटीए क्षेत्रमा एउटा बाटोको निर्माण अधिकाधिक 4 करोड़ रुपियाँसम्ममा भएको थियो, तर वर्तमान समयमा एउटै बाटोको निर्माण 30 करोड़ रुपियाँमा हुने भएको छ। जसको लागि आर्थिक राशि आउने भएको छ।

‘‘हामी सम्पूर्ण दार्जीलिङ पहाड़मा विकास होस् भन्ने चाहन्छौं। र, यसै सङ्कल्प बोकेर कार्य गरिरहेका छौं’’, उनले दाबी गरे, ‘‘यसैकारण पनि हाल दार्जीलिङ पहाड़का विभिन्न क्षेत्रका अन्य दलका समर्थकहरू आ-आफ्ना पार्टी त्यागेर हाम्रो पार्टीमा सामेल भइरहेका छन्।’’

पोख्रेबुङ-चामोङ समष्टिका गोरामुमो शाखा अध्यक्ष दिपेन मुक्सुको नेतृत्वमा विनय तामाङपन्थी गोजमुमोमा सामेल भएका अनम थापाले भने, ‘‘हामी विगतमा गोर्खा राष्ट्रिय मुक्ति मोर्चामा थियौं। त्यसपछि विमल गुरुङको नेतृत्वमा रहेको गोजमुमोमा पनि सामेल भएका थियौं। तर, ती पार्टीहरूमा बस्दा हाम्रो गाउँ-ठाउँको कुनै विकास भएन। न बाटो बनियो, न  पानीको समस्या समाधान भयो, न त सार्वजनिक भवनको नै निर्माण हुनसक्यो।’’

यसैगरी वर्तमान समयमा विनय तामाङपन्थी गोजमुमो नेतृत्वावधीन गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशनले पहाड़का विभिन्न स्थानमा गरिरहेको विकास कार्य देखेर नै आज आफूहरू सामेल भएका दाबी गरे।

यसैबीच, पार्टी अध्यक्ष तामाङले आउँदो 21 र 22 मार्चका दिन दार्जीलिङमा राष्ट्रिय नागरिक पञ्जी (एनआरसी), राष्ट्रिय जनसङ्ख्या पञ्जी (एनपीआर) र नागरिक संशोधन अधिनियम (सीएए)-को विषयमाथि एक सङ्गोष्ठीको आयोजन गर्ने तय गरिएको जानकारी गराए।

उनका अनुसार उक्त सङ्गोष्ठीमा असमलगायत अन्य स्थानका संविधान तथा एनआरसी विशेषज्ञहरूले पनि सहभागिता जनाउने छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here