दार्जीलिङ, 5 मार्चः बन्द अवस्थामा सिङ्ताम र सिङ्ला चियाकमान बिनाशर्त चाँड़ोभन्दा चाँड़ो मालिकपक्षले खोल्नुपर्ने माग जोइन्ट फोरमले गरेको छ।
यी दुई बन्द चियाकमान सम्बन्धमा बोल्दै फोरमका सदस्य समन पाठकले भने, “आर्थिक दुरवस्थालाई देखाएर जसरी यी चियाकमानहरू बन्द गरिएको छ, त्यो न्यायसङ्गत छैन। यसैले बन्द यी दुई चियाकमानलाई बिनाशर्त चाँड़ोभन्दा चाँड़ो मालिकपक्षले खोल्नुपर्छ भन्ने हाम्रो माग छ।”
बन्द चियाकमान खोल्नुपर्ने मात्र होइन, तर दुवै चियाकमानका श्रमिक र कर्मचारीहरूले पाउनुपर्ने रहल वेतन पनि यथाशीघ्र वितरण गर्नुपर्ने फोरमको माग रहेको पाठकले बताएका छन्।
यसका साथै उनले जोइन्ट फोरममा नरहेका अन्य श्रमिक सङ्गठनहरू पनि बन्द चियाकमानहरू खोलाउनका लागि अघि आएर सहयोग गर्नुपर्ने अपील गरेका छन्।
पाठकका अनुसार बन्द चियाकमानलाई लिएर भोलि सहश्रमायुक्तको कार्यालय दार्जीलिङमा त्रिपक्षीय बैठक डाकिएको छ, जुन बैठकमा यी दुवै चियाकमान खोल्ने कुरामा मालिकपक्ष सहमत बन्ने कुरामा उनी विश्वस्त देखिएका छन्।
यसैगरी, फोरम सदस्य पाठकले पछिल्लो 3 मार्चका दिन औद्योगिकस्तरको बैठकमा चियाकमानका स्टाफ-सब स्टाफहरूको ट्राभल्स एलाउन्स (टीए) पदअनुसार क्रमैले 20 हजार, 10 हजार र 5 हजार हुनुपर्ने माग राखेका तर मालिकपक्ष यो मागमा सहमत नभएको बताए।
पाठकका अनुसार यसलाई लिएर फेरि चाँड़ै पुनः अर्को बैठक बसिनेछ।
अर्कोतिर, यसवर्षको पूजा बोनस आउँदो 31 मार्चभित्र तय गरिनुपर्ने माग जोइन्ट फोरमको रहेकोले यसका लागि मालिकपक्षले चाँड़ै पहल शुरु गर्नुपर्ने उनले बताएका छन्।
“पछिल्लो वर्ष बोनसलाई लिएर समस्या सिर्जना हुँदा हामीले अबउसो प्रत्येक वर्ष बोनस 31 मार्चभित्रै छिनोफानो भइसक्नुपर्ने माग गरेका थियौं। त्यस मागमा हामी अडिग छौं”, समन पाठकले थपे, “दशैंको मुखमा बोनस छिनोफानो गर्दा मालिकपक्षले जहिल्यै विभिन्न बहाना देखाएर कम्ती दरमा बोनस दिने कोशिश गरिरहन्छ। प्रत्येक वर्ष यस्तै हुँदै आइरहेको छ। यसैले यसपालिदेखि 31 मार्चभित्रै बोनस छिनोफानो हुनुपर्छ भन्ने हाम्रो माग छ।”
यसैबीच, चाँड़ै जोइन्ट फोरमको बैठक बसेर यी विषयहरूमा थप चर्चा-परिचर्चा गर्ने तथा अघिल्लो रणनीति बनाउने उनले बताएका छन्।