दार्जीलिङमा आयुर्वेद कल्याण केन्द्र र अनुसन्धान केन्द्र स्थापना गर्नुपर्ने माग

0
1454

दार्जीलिङ, 5 मार्चः सांसद राजु विष्टले दार्जीलिङमा पारम्परिक औषधि र प्राकृतिक चिकित्साका लागि केन्द्रपोषित आयुर्वेद कल्याण केन्द्र  र अनुसन्धान केन्द्र स्थापना गर्नुपर्ने माग गरेका छन्।

बिहीवार सांसद विष्टले केन्द्रिय आयुर्वेद, योग, प्राकृतिक चिकित्सा एवं होम्योप्याथी (आयुष) मन्त्री श्रीपद नाइकसँग भेट गरी यस्तो माग गरेका हुन्। यस माग सम्बन्धमा उनले केन्द्रिय मन्त्रीलाई एक ज्ञापन पनि चढ़ाएका छन्।

यसैगरी आउँदो 11 अप्रेलका दिन अन्तर्राष्ट्रिय प्राकृतिक सङ्गठन (आईएनओ)-ले सिलगढ़ीमा एक विराट् प्राकृतिक चिकित्सा शिविरको आयोजना गरिएको जानकारी गराउँदै यस प्राकृतिक चिकित्सा शिविरमा प्रमुख अतिथिको रूपमा उपस्थित भइदिने मन्त्रीलाई अनुरोध पनि गरेका छन्।

विष्टका अनुसार केन्द्रिय मन्त्रीसँग आजको भेटवार्तामा वैकल्पिक औषधिहरूका लागि सम्पूर्ण चिकित्सा सुविधा र अनुसन्धान केन्द्र स्थापित गर्नका लागि क्षेत्रको उपयुक्त जलवायु, भौगोलिक अवस्थान र प्राकृतिक वातावरणमाथि जोड़ दिँदै आयुर्वेद र स्वदेशी भारतीय चिकित्सा प्रणाली सम्बन्धमा यस क्षेत्रको वास्तविक सम्भावना र क्षमतालाई अहिलेसम्म पूर्ण रूपले उपयोग नगरेको जानकारी गराए।

यसका साथै यस क्षेत्रलाई आयुर्वेदको हबको रूपमा विकसित गर्नका लागि आजका दिनसम्म कुनै प्रयाससम्म नगरिएको पनि मन्त्रीलाई अवगत गराए।

यसअवसरमा केन्द्रिय मन्त्री नाइकले यस सम्बन्धमा सकारात्मक कदम उठाउने तथा चाँड़ै सम्बन्धित विभागलाई यसबारे जाँच गर्नका लागि निर्देश दिने अवगत गराएको सांसद राजु विष्टले बताएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here